रुसी आक्रमणपछि युक्रेनमा मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

एजेन्सी

काठमाडौँ — युक्रेनमा रुसी आक्रमणको क्रममा हालसम्म ३ हजारभन्दा धेरै नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

रुसी आक्रमणपछि युक्रेनमा मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

संयुक्त राष्ट्र मानवअधिकारको कार्यालय (ओएचसीएचआर)ले सोमबार यसबारे जानकारी दिएको हो । युक्रेनमा गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता मृत्यु हुनेको संख्या ३ हजार १ सय ५३ पुगेको ओएचसीएचआरले जनाएको हो ।

यद्यपि कतिपय मृत्युका घटना पुष्टि गर्न कठिनाइ भएकाले मृत्यु हुनेको वास्तविक संख्या अझै धेरै हुनसक्ने आकलन गरिएको छ । यसरी मृत्यु हुनेमा धेरैजसो क्षेप्यास्त्र आक्रमण र हवाई हमलालगायत विस्फोटक हतियारहरूबाट मारिएको बताइएको छ ।

रुसले भने युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनका लागि आफूले 'विशेष अपरेशन' गरेको दाबी गरेको छ । साथै यो युक्रेन र पश्चिमाहरूको निराधार आरोप भएको जिकिर गरेको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार रुसी आक्रमणपछि युक्रेनबाट दसौं लाख मानिस सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् । साथै २ सयभन्दा धेरै संख्यामा बालबालिकाहरू पनि मारिएको बताइएको छ ।

बेलायत, अमेरिकासहित देशहरूले भने युक्रेनलाई मानवीय सहायताका लागि आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । यसबीचमा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले विभिन्न देशका प्रमुखहरूसँग भेट गरिसकेका छन् । यही साताको सुरुमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग जेलेन्सकीले टेलिफोन वार्ता गरेका थिए ।

प्रकाशित : वैशाख १९, २०७९ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?