दक्षिणपन्थको उभारबीच म्याक्रोंको अनुमोदन- विश्व - कान्तिपुर समाचार

दक्षिणपन्थको उभारबीच म्याक्रोंको अनुमोदन

पहिलो कार्यकालमा सन्तोषजनक काम गरेकैले दोस्रो पटक पनि अनुमोदित तर पाँच वर्षअघि दाबी गरेझैं दक्षिणपन्थीको हौसला भने कमजोर भएन
उपेन्द्रराज पाण्डेय

काठमाडौँ — ‘अब अतिचरमपन्थी समूहलाई मत दिनुपर्ने अवस्था आउने छैन,’ सन् २०१७ मा पहिलो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएपछि इम्मानुएल म्याक्रोंले भनेका थिए । आफूले त्यतिबेला गरेका वाचा पूरा हुनासाथ दक्षिणपन्थी समूहको लोकप्रियता घट्ने उनको आकलन थियो । पहिलो कार्यकालमा सन्तोषजनक काम गरेकैले उनी दोस्रो पटक पनि अनुमोदित भए । तर उनले पाँच वर्षअघि दाबी गरेझैं दक्षिणपन्थीको हौसला भने कमजोर भएन ।

दोस्रो कार्यकालका लागि ला रिपब्लिका एन मार्च पार्टीका म्याक्रों ५८.५ प्रतिशत मत ल्याएर निर्वाचित हुँदा दक्षिणपन्थी नेसनल र्‍यालीकी मरिन ल पेनले ४१.५ प्रतिशत मत प्राप्त गरिन् । सन् २०१२ मा पहिलो पटक उम्मेदवार बन्दा उनले मात्र १७.९ प्रतिशत र २०१७ मा मत ३३.९ प्रतिशत मत पाएकी थिइन् ।

विश्वभर दक्षिणपन्थी राजनीतिमा उभार आइरहेका बेला फ्रान्समा पनि त्यसको प्रभाव देखियो । यसले पेनले हारे पनि दक्षिणपन्थी एजेन्डाप्रति फ्रान्सेली नागरिकको झुकाव झन्–झन् बढेको देखाउँछ । सन् २०१७ का चुनावी वाचा पूरा नभए पनि विश्व राजनीतिका बहुपक्षीय आयामले म्याक्रोंको जित सम्भव भयो । कोरोना महामारी नियन्त्रणमा संवेदनशीलता, युक्रेनमाथि रुसी आक्रमणमा सुझबुझपूर्ण कदमले पनि उनीप्रतिको विश्वास कायम राखेको हो । त्यस्तै, इतिहासमै बेरोजगारी दर घट्नु उनको अर्को सफलता हो ।

त्यसो त पेनले आफ्नो घोषणापत्रमै आप्रवासी आगमन रोक्न संविधान संशोधनको मुद्दा उठाएकी थिइन् । चुनावी प्रचारप्रसारका क्रममा आप्रवासीहरूबाट फ्रान्सेली अस्तित्वमै खतरा पुगेको उनले उल्लेख गरेकी थिइन् । तर युरोपमा देखिएको भूराजनीतिक द्वन्द्वबीच म्याक्रोंको जित अर्थपूर्ण भएको अमेरिकी पत्रकार तथा राजनीतिक टिप्पणीकार डेभिड ए एन्डलम्यानको बुझाइ छ । म्याक्रोंको ‘इन्द्रेणी फ्रान्स’ का अगाडि पेनको ‘एकत्ववाद’ हाबी हुन नसकेको उनी टिप्पणी गर्छन् । युरोपेली युनियन, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) र स्वतन्त्र विश्वका पक्षपाती रहेका कारण म्याक्रोंलाई फ्रान्सेली मतदाताले पत्याएको उनको विश्लेषण छ ।

यस पटकको निर्वाचनमा ५० वर्षयता सबैभन्दा कम मत खसेको थियो । सन् १९६९ पछि सबैभन्दा बढी २८.०१ प्रतिशत मतदानमा अनुपस्थित रहे । सन् १९६९ मा उक्त संख्या ३१.५ प्रतिशत रहेको थियो । फ्रान्सेली पत्रिका ला मोन्डेका अनुसार आइतबार भएको दोस्रो चरणको राष्ट्रपति चुनावमा करिब १ करोड ३६ लाख मतदाता अनुपस्थित रहेका थिए । फ्रान्सको पछिल्लो राजनीतिक अवस्थामा चित्त नबुझाएर ‘ब्ल्यांक भोटिङ’ गर्नेको संख्या ६.३५ प्रतिशत छ ।

निर्वाचनलाई ‘प्रजातन्त्रको स्तम्भ’ मानिन्छ, आवधिक निर्वाचनले प्रजातन्त्रलाई थप मजबुत पार्नुका साथै राजनीतिक उदारीकरणलाई पनि बढावा दिन्छ । पेन भने क्रेमलिननिकट नेता मानिन्छन् । उनले रुस र राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नरम दृष्टिकोण राख्दै आएकी छन् । तर एक सशक्त युरोपेली युनियनका पक्षपाती म्याक्रोंले युक्रेनमाथि रुसी आक्रमणको निरन्तर कडा आलोचना गर्दै आएका छन् । रुसी आक्रमणको भर्त्सना गर्दै उनले भनेका छन्, ‘युक्रेनका दृश्य असह्य छ । अन्तर्राष्ट्रिय न्याय जाग्नुपर्छ । यी अपराधमा संलग्नहरू यसमा जवाफदेही हुनुपर्छ ।’

मध्यमार्गी धारका म्याक्रोंको लोकप्रियताले फ्रान्सका प्रतिपक्षी राजनीतिक दलहरू अतिदक्षिणपन्थी र अतिवामपन्थी धारमा पुगेका छन् । म्याक्रोंको ऐतिहासिक जितका बाबजुद पनि फ्रान्स ध्रुवीकृत भएको टिप्पणी गर्छन् बीबीसीका पेरिस संवाददाता ह्युज स्कोफिल्ड ।

पछिल्लो समय भारतदेखि हंगेरी र अमेरिकासम्म दक्षिणपन्थी राजनीतिक उभार देखिन्छ । अमेरिकामा पनि डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकामा दक्षिणपन्थी समूह निकै सक्रिय भएको थियो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमाथि ट्रम्प समर्थकले गरेको आक्रमणले पनि अमेरिकामा दक्षिणपन्थी समूहको मनोबल उच्च छ भन्ने झल्किन्छ ।

अमेरिकामै तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोना महामारीको नियन्त्रण तथा रोकथाममा बेवास्ता गर्दार्गर्दै पनि डेमोक्रेट जो बाइडेनलाई ठूलै चुनौती पेस गरे । राष्ट्रवाद, धार्मिक अतिवाद र परम्परावादी मूल्य मान्यताका भरमै भारतमा नरेन्द्र मोदीदेखि ब्राजिलमा जायर बोल्सोनारोसम्म शासनमा छन् ।

म्याक्रोंको अगाडिको यात्रा भने सहज छैन । आगामी जुनमा हुने ‘नेसनल एसेम्ब्ली’ चुनावमा फेरि उनको परीक्षा हुनेछ । ५७७ सिटको संसद्मा उनको पार्टीले ल्याउने सिट संख्याले नीति, नियम तथा कानुन निर्माणमा राष्ट्रपतिको सुविधा निर्धारण गर्नेछ । त्यसो त उनीपछि उनको पार्टीबाट दक्षिणपन्थी समूहसँग कसले प्रतिस्पर्धा गर्छ भन्ने पनि चासोको विषय छ । फ्रान्सको संविधानमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने कानुनी प्रावधान छ ।

रुस–युक्रेन द्वन्द्वका कारण जर्मनी आंशिक रूपमा कमजोर भइरहेका बेला म्याक्रों युरोपेली युनियनका ‘डी फ्याक्टो लिडर’ बनेका छन् । पहिलो कार्यकालमै म्याक्रोंले युरोपेली युनियनको बजेट बढाएर सशक्त क्षेत्रीय संगठन बनाउन चाहेका थिए । तर उनको प्रस्ताव तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केलले बेवास्ता गरिन् ।

तर पछिल्लो समय युरोपेली युनियनमा जर्मन चान्सलर ओलाफ सोल्जभन्दा म्याक्रों नै हाबी हुने अवस्था छ । किनकि रुस–युक्रेन द्वन्द्वले इन्धनमाथि पूर्ण रूपमा रुसमाथि निर्भर जर्मनीको अर्थतन्त्रमा धक्का पुगेको छ । युरोपेली युनियनबाट बाहिरिने बेलायतको निर्णयमाथि पनि प्रश्न उठाएका म्याक्रों खुला समाजका समर्थक हुन् । आफ्नो संस्मरण ‘रिभोलुसन : द भिजनरी मेम्वायर अफ अ राइजिङ ग्लोबल लिडर’ मा म्याक्रों लेख्छन्, ‘ब्रेक्जिट बेलायती मात्र होइन, युरोपेली संकट पनि हो । यो विश्वव्यापीकरणका नकारात्मक असरबारे आँखा चिम्लिने सदस्य राष्ट्रका लागि खतराको घण्टी हो ।’

हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्न भन्दै अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको विशेष सुरक्षा सम्झौता पनि फ्रान्सका लागि टाउको दुखाइको विषय बनेको छ । ‘ओकस’ नाम दिइएको उक्त सम्झौता आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयमा केन्द्रित भएको दाबी गरिए पनि मूलतः यो सम्झौता चीनको प्रभाव रोक्नका लागि गरिएको हो भन्ने कुरा कसैसामु लुकेको छैन । यसले चीनलाई मात्र होइन, फ्रान्सलाई समेत चिढ्याएको छ ।

यही सम्झौतापछि अस्ट्रेलियाले फ्रान्सेली डिजाइनका पनडुब्बी खरिद गर्ने सम्झौता पनि रद्द गरेको छ । अस्ट्रेलियाले जलसेनाका लागि सन् २०१६ मा १२ वटा पनडुब्बी निर्माणका लागि फ्रान्ससँग सम्झौता गरेको थियो । उक्त सम्झौता करिब ५० अर्ब अस्ट्रेलियन डलर बराबरको थियो । फ्रान्सको विदेश मन्त्रालयले भने सम्झौता खारेज गर्ने अस्ट्रेलियाको निर्णय ‘दुर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिएको थियो । अस्ट्रेलियाले अब भने अमेरिकासँग आधुनिक क्षमतासहितको परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी किन्ने सम्झौता गरेको छ । यसरी घरेलु दक्षिणपन्थी राजनीतिक समूहलाई रोकेका म्याक्रोंका लागि अन्तर्राष्ट्रिय रणनीति र शक्ति सन्तुलन भने चुनौतीपूर्ण नै छन् ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : वैशाख १५, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

जेलेन्स्कीको जय पराजय !

हास्य टेलिशृंखलामा राष्ट्रपतिको भूमिकामा भोलोदिमिर जेलेन्स्की लोकप्रिय हुँदा युक्रेनी जनता मात्र दर्शक थिए, आज वास्तविक राष्ट्रपतिका रुपमा उनको रणनीति हठ हो कि बहादुरी, समीक्षा गर्न विश्व नै साक्षी बन्दै छ 
उपेन्द्रराज पाण्डेय

काठमाडौँ — ‘मैले जीवनमा युक्रेनीहरूलाई सक्दो हँसाउन खोजेको छु । मलाई लाग्छ यो एउटा काम मात्रै होइन, मिसन नै हो । आउँदो ५ वर्ष म युक्रेनीहरू रुन नपरोस् भनेर सबैथोक गर्नेछु,’ तीन वर्षअघि राष्ट्रपतिको शपथग्रहण समारोहमा भोलोदिमिर जेलेन्स्कीले भनेका थिए ।

हास्यकलाकारका रूपमा सफल जेलेन्स्की राजनीतिमा आएको धेरै भएको छैन । तर, टेलिशृंखला ‘सर्भेन्ट अफ पिपल’ अर्थात् ‘जनताको सेवक’ मा राष्ट्रपति (भासिली पेट्रोभिच) को भूमिकामा उनले राजनीतिक अभ्यास गरेका थिए । यो शृंखलामा उनले शपथ समारोहमा कस्तो भाषण गर्नेदेखि विदेशी समकक्षीसँग कसरी प्रस्तुत हुनेसम्मको अभ्यास गरेका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केलसम्मलाई भेट्दा कसरी प्रस्तुत हुने भन्ने अभिनय पनि उनले गरिसकेका थिए । टेलिशृंखला लोकप्रिय भएपछि यही नामबाट ‘सर्भेन्ट अफ पिपल’ नामको दलसमेत स्थापना गरियो, दल पनि लोकप्रिय हुँदा जेलेन्स्की तीन वर्षअघि राष्ट्रपति भएका हुन् ।

सन् २०१५ देखि २०१८ सम्म प्रसारण भएको टेलिशृंखलामा भासिली पेट्रोभिच (जेलेन्स्की) इतिहासका शिक्षकबाट अचानक राष्ट्रपतिमा निर्वाचित हुन्छन् । मुलुकमा संस्थापन भनिएको पक्षबाट भएको बेथिति र भ्रष्टाचारविरुद्ध आफ्नै एक सहकमीसँगको आक्रोशपूर्ण बहसले नै उनलाई राष्ट्रपतिमा निर्वाचित गराउँछ । कथाअनुसार सहकर्मीसँगको त्यो बहसको भिडियो एक जना विद्यार्थीले सामाजिक सञ्जालमा राखिदिन्छन् र भाइरल हुन्छ । यहाँसम्म कि उम्मेदवार बन्न चाहिने धरौटी पनि चन्दा उठाएर जम्मा पारिन्छ । पेट्रोभिचलाई राष्ट्रपतिमा निर्वाचित भएको थाहासमेत हुँदैन । सर्टमा आइरन लगाइदिन आमा र भतिजीलाई आग्रह गरिरहेका बेला अधिकारीहरूको टोली आएर उनी राष्ट्रपतिमा निर्वाचित भएको सुनाउँछन् ।

यता, वास्तविक कथा पनि कम रोमाञ्चक छैन । युक्रेनको राष्ट्रपतिमा उम्मेदवारी दिन करिब २५ लाख युक्रेनी हरिभ्नी (करिब ९० हजार अमेरिकी डलर) चाहिन्छ । सन् २०१९ को चुनावमा ४७ जनाले धरौटी बुझाउन नसकेकै कारण उम्मेदवारी दर्ता भएको थिएन । तैपनि ३९ जना उम्मेदवार थिए । कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा जेलेन्स्कीले तत्कालीन राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई हराएका थिए । जेलेन्स्कीले ७३ प्रतिशतभन्दा बढी मत ल्याएका थिए । टेलिशृंखलामा राष्ट्रपतिको भूमिकामा मन पराइएका जेलेन्स्की राजनीतिमा पनि उही भूमिकामा अनुमोदित भए । संस्थापन र भ्रष्टाचारविरोधी मुद्दालाई उनले चुनावी प्रचारप्रसारमा प्राथमिकता दिएका थिए ।

सर्भेन्ट अफ पिपलमा राष्ट्रपतिको भूमिकामा जेलेन्स्की । तस्बिर : क्वार्टल ९५ स्टुडियो

पर्दामा एक सरल राष्ट्रपतिका रूपमा देखिएका थिए उनी । मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गर्ने पेट्रोभिच कहिल्यै रवाफिलो देखिएनन् । सार्वजनिक बस र ट्याक्सी चढेर कार्यालय जाने, सुरक्षा टोलीबिनै एक्लै यात्रा गर्ने शैलीलाई दर्शकले मन पराइदिए । भीभीआईपी सवारीका नाममा हुने घण्टौं जामले दिक्क युक्रेनी नागरिक वास्तविक जीवनमा जेलेन्स्की त्यसैगरी उत्रन्छन् भन्ने पत्याइदिए ।

त्यसो त उनको टेलिशृंखला एक चुनावी ‘प्रपोगान्डा’ थियो भनेर पनि आरोप लाग्ने गरेको छ । विपक्षी दलले जेलेन्स्की निश्चित व्यापारिक घरानाबाट परिचालित भएसम्मका आरोप लगाउने गरेका छन् । संयोग मात्र हुन सक्छ– अर्बपति कोलोमोइस्कीको टेलिभिजन च्यानल ‘वान प्लस वान’ बाट नै ‘सर्भेन्ट अफ पिपल’ प्रसारण भएको थियो । चुनावी अभियानमा पनि च्यानलले जेलेन्स्कीलाई समर्थन गरेको थियो ।

जेलेन्स्कीको आफ्नै लगानी पनि विदेशस्थित कम्पनीहरूमा रहेको खुलासा गत वर्ष भएको थियो । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल (आईसीआईजे) ले विश्वका नेता, राजनीतिज्ञ र अर्बपतिका गोप्य धन र लेनदेनको खुलासा गर्दै प्रस्तुत गरेको ‘प्यान्डोरा पेपर्स’ मा जेलेन्स्कीका व्यापारिक साझेदारहरूको सम्पत्ति लन्डनलगायत ठाउँमा रहेको र त्यसलाई वैध बनाउन उनले भूमिका खेलेको दाबी गरिएको छ । यो विषयमा उनको आलोचना भएको थियो ।

छवि बनाउन र सुशासन कायम गर्न उनले सार्वजनिक अभिव्यक्तिमा भने ध्यान दिएका थिए । राष्ट्रपति भएर बदनाम भइन्छ कि भन्ने चिन्ता उनले कार्यभार सम्हाल्ने बेलामै देखाएका थिए । सरकारी कार्यालयमा आफ्नो तस्बिर नराख्न अनुरोध गरेका थिए । ‘कार्यालयमा मेरो तस्बिर नराख्नुस् । राष्ट्रपति कुनै आइकन होइन । बरु आफ्ना छोराछोरीको तस्बिर राख्नुस् । हरेक निर्णय लिने बेलामा उनीहरूको आँखामा हेरेर लिनुस्,’ उद्घाटन समारोहमा उनले भनेका थिए ।

अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगन (जो कलाकार पनि थिए) को भनाइ उद्धृत गर्दै उनले भनेका थिए, ‘सरकार समस्याको समाधान होइन, सरकार नै हो समस्या ।’ सार्वजनिक कार्यक्रममा उनको भनाइ थियो, ‘राष्ट्रपतिले कर तिरेनन्, राष्ट्रपतिले पैसा खाए । राष्ट्रपति मातेर रेडलाइट क्रस गरे भनेर समाचारका हेडलाइन बन्ने छैनन् ।’ पूर्ववर्ती सरकारले जनताका समस्या समाधान गर्न ध्यान नदिएको उनको भनाइ थियो । सरकारी संयन्त्रको सुधार गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

तर, सुशासनका बल वा कमजोरीको अब त्यति ठूलो अर्थ छैन । समीक्षाको मुख्य विषय युद्ध नै भएको छ । रुसजस्तो महाशक्तिसँग देशलाई झुक्न दिन्नँ भनेर उनले लिएको अडानको भने प्रशंसा हुने गरेको छ । रुसी आक्रमण सुरु हुनासाथ जेलेन्स्कीले देश छाडेर भाग्नेछन् भन्ने अनुमान पनि गरिएको थियो । तर, युक्रेनको सार्वभौमिकता र सर्वसाधारणमाथि गोली र बम बर्सिरहँदा जेलेन्स्की सडकमा आएर हौसला बढाइरहेका छन् । रुसी आक्रमणविरुद्ध एकजुट हुन आह्वान गरिरहेका छन्, कुनै पनि मूल्यमा आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याइरहेका छन् ।

‘सर्भेन्ट अफ पिपल’ मा पेट्रोभिच भन्थे, ‘म चाहन्छु प्रत्येक राष्ट्रपति शिक्षकजस्तै जीवन बाँचून् ।’ अहिले जेलेन्स्की भन्छन्, ‘रुसविरुद्धको लडाइँमा सिंगो युक्रेन फ्रन्टलाइनर हो ।’ साथसाथै उनले दीर्घकालीन राजनीतिक समाधानका लागि रुससँग वार्ताकोआह्वान पनि गरेका छन् । यो बीचमा वार्ता नभएको पनि होइन । युक्रेन र बेलारुसको सिमानामा प्रतिनिधिमण्डस्तरीय तथा टर्कीमा विदेशमन्त्रीस्तरीय वार्ता भए पनि निष्कर्षमा पुग्न सकेनन् । पछिल्लो समय जेलेन्स्कीले इजरायलमा नयाँ वार्ता गर्न प्रस्ताव राखेका छन् । ‘इतिहासले न्याय गर्दैन भनिन्छ, त्यो सत्य हो । युद्ध हामीले सुरु गरेका हौइनौं तर अन्त्य गर्न चाहन्छौं,’ उनले दोहोर्‍याइरहेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिधा वार्तामा बस्न अनुरोध पनि गर्दै आएका छन् । पुटिनलाई सम्बोधन गर्दै जेलेन्स्की भन्छन्, ‘मानिसहरूको मृत्यु रोक्न सिधा वार्तामा बसौं ।’

रुससँग वार्ता गरी राजनीतिक समाधान निकाल्न सके जेलेन्स्कीको ठूलो सफलता हुनेछ । यसले दुई देशबीच मात्रै होइन, विश्व शान्ति स्थापनाका लागि नै महत्त्वपूर्ण योगदान पुग्नेछ । विश्लेषकहरू भन्छन्, त्यतिबेला जेलेन्स्कीको राजनीतिक अनुभव खोजिराख्नु पर्दैन । अनुभवी भनिएका महाशक्ति राष्ट्रका प्रमुखहरूलाई पनि पछि पार्नेछन् । तर उनले हारे भने देशले पनि हार्नेछ । किनकि जसको हार हुनेछ, उसले युद्ध किन गरेको थियो, युद्ध टार्न के पहल गरेको थियो भनेर पक्कै सोधखोज हुनेछ ।

अहिलेको युद्धको जरो दोनेस्क र लुहान्स्कमा छ । त्यहाँ चलेको पृथकतावादी आन्दोलन पनि शान्तिवार्तामार्फत नै हल गर्ने उनको प्रतिबद्धता थियो । ‘हामी डोन्बासमा मरेका छौं । प्रत्येक दिन हामीले एक जनालाई गुमाइरहेका छौं । आन्तरिक रूपमा हामी विस्थापित भएका छौं । त्यसैले जसको बस्ने घर छैन, खाने कुरा छैन तिनलाई सहयोग गरौं । हामी सबै युक्रेनी नागरिक हौं । चाहे सही युक्रेनी हुन् चाहे गलत हामी सबै युक्रेनी हौं,’ उनको भनाइ थियो ।

युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको २३ दिन पूरा भइसकेको छ । राजधानी किभलगायतका विभिन्न सहरमा अहिले पनि आक्रमण जारी छ, जनधनको ठूलो क्षति भएको छ । हास्य कलाकारका रूपमा लोकप्रिय रहेका जेलेन्स्की राष्ट्रपति बन्दा अन्तर्राष्ट्रिय मिडियाले शंकाको दृष्टिले हेरेका थिए । ‘के एउटा कमेडियनले युक्रेनजस्तो भूराजनीतिक अवस्थिति र शक्तिराष्ट्रको खिचातानीमा रहेको मुलुक हाँक्न सक्छन् ?’ प्रश्न गरिएको थियो । यतिबेला जेलेन्स्की ‘युक्रेनी सार्वभौमिकता र अखण्डता’ टुक्रिन नदिन अग्रपंक्तिमा देखिएका छन् । मुलुक छाड्न चाहे सघाउने भनेर अमेरिकाले प्रस्ताव राख्दा पनि उनले अस्वीकार गरेका छन् ।

रुसविरोधी ध्रुवीकरणको नेतृत्व गरिरहेका पश्चिमा मुलुकबाट उनले अपेक्षित सहयोग पाएका छैनन् । स्वाभाविक हो, अमेरिका, बेलायतलगायत मुलुक रुससँग सोझो टकराव चाहँदैनन् । त्यसैले त रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य सामग्री सहयोग गर्नेबाहेक थप कदम उनीहरूले चालेका छैनन् । युक्रेनी आकाशलाई ‘नो फ्लाई जोन’ घोषित गर्न जेलेन्स्कीले पश्चिमा देशसँग दिनहुँ आग्रह गरिरहेका छन् ।

अमेरिका, क्यानडा, बेलायत र युरोपियन युनियनको संसद्मा सम्बोधन गर्दा पनि उनले यही अनुरोध दोहोर्‍याएका छन् । युक्रेनी आकाशलाई ‘नो फ्लाई जोन’ घोषित गर्नुको अर्थ अमेरिका वा उसका सहयोगी देशले युक्रेनी आकाशमा उड्ने रुसी जहाजलाई निसाना बनाएर खसाउनुपर्नेछ । त्यसपछि त्यो युद्ध रुस र युक्रेनबीच रहनेछैन । युक्रेनलाई ठूलो परिणाममा सैन्य सहयोग उपलब्ध गराउँदै आए पनि अमेरिकाले रुससँग सिधा टकराव नगर्ने स्पष्ट पारिसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुससँग लड्नु भनेको तेस्रो विश्वयुद्ध सुरु गर्नु हो भनिसकेका छन् । त्यसलाई रोक्न सबैले प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

अवस्था बुझेर जेलेन्स्कीले भन्न थालेका छन्, ‘हिजोजस्तै हामी एक्लैले हाम्रो भूमि रक्षा गर्दै छौं । विश्वका ठूला शक्तिहरूले टाढा बसेर मात्र हेरिरहेका छन् । तर, खासमा यो युरोपविरुद्धको युद्धको सुरुवात हो, युरोपेली एकताविरुद्धको युद्ध हो, युरोपमा आधारभूत मानवअधिकारविरुद्धको युद्ध हो । मिसाइलले युक्रेनमा मारिने सबै मान्छे युरोपेली हुन् ।’

यसरी अमेरिका, क्यानडा र बेलायतसहित नेटो गठबन्धनको साथ नपाए जेलेन्स्की कतिन्जेल टिक्लान् भन्ने प्रश्न अहिले पनि उत्तिकै बलियो छ । बदलिँदो शक्ति सन्तुलन र भूराजनीतिक अवस्था बुझ्न राष्ट्रपति जेलेन्स्की चुकेका हुन् कि भन्ने विश्लेषण पनि भइरहेको छ । हुन त युक्रेन र रुसबीच तनाव भर्खरै उत्पन्न भएको होइन ।

युक्रेनको लुभिभस्थित सैन्य विमान मर्मत केन्द्रमा शुक्रबार रुसले मिसाइल प्रहार गरेपछि निस्किएको धूवाँको मुस्लो। तस्बिर : एपी

सन् २०१३ मा रुसले क्रिमियालाई अधीनस्थ बनाएपछि तथा २०१४ मा तत्कालीन राष्ट्रपतिलाई आन्दोलनले अपदस्थ गरेपछि युक्रेनको आन्तरिक राजनीति र रुससँगको सम्बन्धमा संकटमा परेको हो । जेलेन्स्कीले राष्ट्रपति भएलगत्तै शान्तिवार्ताका लागि पहल गर्ने बताए पनि सफल भएनन् । यसअघि सन् २०१९ को डिसेम्बरमा जेलेन्स्की र पुटिनबीच पेरिसमा ‘फेस टु फेस’ वार्ता भएको थियो । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र जर्मनीकी तत्कालीन चान्सलर एन्जेला मर्केलसहितको उपस्थितिमा भएको भेटवार्ता राजनीतिक हिसाबले सफल भने भएन । मुख्यतः पूर्वी युक्रेनमा भने देखिएको अशान्ति समाधानमा वार्ता केन्द्रित हुन सकेन ।

बरु उनले युरोपेली युनियन र नेटोमा आबद्ध हुने प्रक्रिया अघि बढाए । अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा युक्रेन सामेल भएमा नेटो सेना आफ्नै दैलोमा आउने भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो संयन्त्रलाई युद्धका लागि तयार पारेका हुन् ।

कुनै पनि अर्को मुलुकले आफ्नो झुकाव कता छ भनेर निर्णय गर्ने अन्तिम अधिकार आफैंसँग सुरक्षित राखेको हुन्छ । त्यसैले पुटिनले सुरु गरेको युद्धलाई धेरैले विरोध गरेका छन् । तर, सैन्य गठबन्धनको सदस्य नभई नहुने के हो भनेर युक्रेनमा भविष्यमा पनि बहस हुनेछ । किनकि अहिले पनि यो विषयमा युक्रेनमा मतैक्य थिएन । यही बहानामा भएको युद्धबाट ठूलो जनधनको क्षति भएको छ । यो युद्ध रुसले जित्छ कि जित्दैन भन्ने निश्चित छैन । तर, रुसले जिते पनि हारे पनि युक्रेनले धनजनको अपूरणीय क्षति भने भोगिसकेको छ । अब यो क्षति बढ्न नदिन जेलेन्स्कीले कस्तो रणनीति लिन्छन् भन्नेमा विश्वको ध्यान छ ।

प्रकाशित : चैत्र ५, २०७८ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×