युक्रेनसँग वार्ता अगाडि बढाउन रुस सहमत

रासस, सिन्ह्वा

मस्को — रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् ।

युक्रेनसँग वार्ता अगाडि बढाउन रुस सहमत

रुसको भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिएका हुन् ।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताए ।

युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे । उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दाबी गरे ।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पनि पटक पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन् । तर पछिल्लो समयमा वार्ता नै अवरुद्ध भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा हुँदासम्म पनि युद्ध अन्त्यका लागि ठोस संकट नदेखिएपछि राष्ट्रसंघीय महासचिव रुस आएका हुन् । उनले यसपछि युक्रेनको भ्रमण गर्ने तालिका छ ।

युक्रेन प्रस्थान गर्नुअघि रुसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'म शान्ति प्रक्रियालाई अगाडि बढाउन मस्कोमा आएको हुँ, चाँडै नै शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास गरेको छु ।'

रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता अत्यन्त सकारात्मक र उपलब्धीमूलक भएको पनि उले जानकारी दिए ।

प्रकाशित : वैशाख १४, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?