दक्षिणपन्थी उभार रोक्न फ्रान्समा म्याक्रोंको पुनरागमन

डिजिटलाइजेसनमा जोड, आप्रवासीप्रति नरम नीति, रोजगार सिर्जना र दक्षिणपन्थी राजनीतिको खरो आलोचक हुनु नै म्याक्रों विजयका प्रमुख आधार बनेका छन् ।
ददि सापकोटा

पेरिस — इम्मानुएल म्याक्रों अति दक्षिणपन्थी भनेर चर्चा गरिने प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए ।  ५ वर्षे कार्यकालका लोकप्रिय कार्यक्रमका कारण मात्रै भने उनको जित सुनिश्चित भएको होइन । अति दक्षिणपन्थी राजनीतिक समूहको उभार रोक्नका लागि पनि फ्रान्सेली मतदाताले म्याक्रोंलाई विजयी बनाएका हुन् । 

दक्षिणपन्थी उभार रोक्न फ्रान्समा म्याक्रोंको पुनरागमन

सन् २०१७ को तुलनामा मारिन ल पेनले आफ्नो मतप्रतिशत बढाएसँगै म्याक्रोंले स्वीकारोक्ति थियो, 'धेरै फ्रान्सेली जनताले मलाई देशको शासन अति दक्षिणपन्थीको हातमा जानबाट रोक्नका लागि मतदान गरेका हुन् । मेरो कार्यक्रमको समर्थन गरेर होइन ।'

सन् २०१७ को तुलनामा ल पेनको मतप्रतिशत बढिरहेका बेला म्याक्रोंको भने घटेको छ । सन् २०१७ मा म्यांक्रोले ६६ प्रतिशत मत ल्याएर पेनलाई हराएका थिए । म्याक्रों लगभग ५८ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा पुन: निर्वाचित भएका हुन् । फ्रान्सको राष्ट्रपतिको निर्वाचनमा गत २० वर्षे इतिहासमा म्याक्रों पहिलो पटक दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

'हामी र मेरा साथीहरू सबै उदार र सम्मानजनक हुनुपर्छ । किनभने हाम्रो देश धेरै शंका र धेरै विभाजनमा डुबेको छु,' म्याक्रोनले आफ्नो विजयी भाषणमा भनेका छन् । उनको लोकप्रियता सन् २०१७ को तुलनाना खस्किनुका विविध कारणहरु छन् । फ्रान्सेली जनता लिबिया, अफगानिस्तान, इराक लगायतका मुलुकमा भएका युद्धबाट आजित छन् ।

फ्रान्सको 'पाँचौँ गणतन्त्र'का राष्ट्रपति शार्ल डु गोलपछि अनावश्यक युद्धमा संलग्न भएको, फ्रान्सेली जनताभन्दा बाहिरी मुलुकमा ध्यान गएको र देशलाई अशान्ति बनाएको भन्ने भावना आम फ्रान्सेलीमा बढ्दो छ । बाहिरी मुलुकका युद्धहरूमा सक्रियता बढाउँदै जाँदा आफ्नो देशमा आतंककारी हमला बढ्न लागेको भन्दै चिन्तित हुने फ्रान्सेली धेरै छन् । तर फ्रान्सलाई 'अतिवादी धारमा पुर्‍याउने ' मारिन ल पेनको तुलनामा मतदाताहरुले अर्को विकल्प नभएर म्याक्रोंलाई समर्थन गरेका हुन् ।

विश्वका ३ हजार ८ सय आर्थिक नीति र योजनामा अब्बल व्यक्तिसम्मिलित 'रोथस्चाइल्ड' का पूर्वबैंकर म्याक्रोंले यो निर्वाचनमा सबै नियन्त्रित प्रेसको समर्थन पाएका थिए ।

फ्रान्सेलीहरु पूर्व समाजवादी पार्टीका तर्फबाट राष्ट्रपति बनेका फ्रांस्वा ओलांदको कार्यकालबाट वाक्कदिक्क थिए । पछिल्लो समयमा ओलांदको लोकप्रियता जम्मा ६ प्रतिशतमा झरेको थियो । फ्रान्सले राष्ट्रिय राजनितिमा विकल्प खोजिरहेको थियो ।

अमेरिकी खेमातिर बढी ढल्केको र आर्थिक भ्रष्टाचारमा मुछिएकाले पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई पनि फ्रान्सेलीले मन पराएनन् । यही कारणले दक्षिणपन्थी पार्टी द रिपब्लिकन र समाजवादी पार्टी दुवैको लोकप्रियता खस्कियो । जुन म्याक्रोंका लागि अवसर बनिदियो ।

तस्बिर : एपी/रासस

फ्रान्सले एक नयाँ राजनीतिक विकल्प खोजिरहेको अवस्थाबाट म्याक्रोंले फाइदा उठाए । विगतका दशकहरूमा फ्रान्समा विभिन्न नाममा देखिएका असन्तुष्टि र खस्कँदो आर्थिक अवस्थालाई एकदमै नयाँ तरिकाले पुन: प्याकेजिङ गरिदिए म्याक्रोंले । प्रेस र कुलीन वर्गले उनलाई ठूलो प्रचार गरिदियो ।

रुस-युक्रेन युद्धपछि म्याक्रोंले युरोपेली युनियन र रुससितको सम्बन्धमा खेलेको भूमिकाले पनि केही काम गर्यो । अमेरिका, बेलायत र ईयूका अन्य प्रमुख नेताहरुले भ्लादिमिर पुटिनसितको सम्पर्कविच्छेद गरी वार्ता नै रोक्दा पनि म्याक्रोंले संवाद जारी राखेका थिए । उनको भनाइ थियो 'जस्तोसुकै कठिन अवस्थामा पनि, पूर्ण रूपमा समस्या समाधान नभए पनि वार्ता जारी राख्नुपर्छ र त्यसले थप वैमनस्यताभन्दा समस्या समाधानमा नैतिक दबाब सिर्जना गर्छ ।' म्याक्रोंको यो अडानले अन्तत: उनको चुनावी अभियानमा सहयोगी भूमिका खेलिदियो ।

एक नयाँ व्यक्ति, जवान र आर्थिक घोटालाहरूमा नमुछिएका पात्र हुन् म्याक्रों । म्याक्रों असाध्यै धेरै काम गर्छन् । म्याक्रोंले देश विकासमै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने भन्दै आफूभन्दा धेरै पाकी महिला ब्रिजिटसित विवाह गरेका थिए । म्याक्रोंले आफूलाई रेखदेख गर्ने र आफ्नो अभियानमा साथ दिने महिला रोजेको बताउँदै आएका छन् । यसले पनि उनलाई धेरै सहयोग पुग्यो । धेरै मानिसहरूको उत्साह भरिदिन सक्ने क्षमताका उनी परम्परागत राजनीति र सबैसँग लड्ने उत्साहले भरिएका व्यक्तिका रूपमा पनि परिचित छन् ।

पहिलो पटक राष्ट्रपति भएदेखि नै उनले एक डिजिटल आन्दोलन सुरु गरे । उनको आन्दोलन आधुनिक थियो । र फ्रान्सेली राजनीतिमा नदेखिने खालको थियो। डिजिटल उपकरणहरू यति छिटो विकास गरिदिए कि उनले फ्रान्स मात्रै होइन युरोपेली युनियनमै डिजिटल कृषिलगायतका क्षेत्रमा छिटो विकास गरिदिए ।

म्याक्रों सन् २००८ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको अभियानबाट धेरै प्रेरित थिए । ओबामाकै प्रभावबाट उनले यस्तो अनलाइन प्लेटफर्म विकास गरे कि आफ्नो अभियानका सदस्यहरूले स्थानीय निकायहरूसँग सम्पर्कमा रहन सक्षम भए । त्यसले पनि टाउन हल वा अन्य प्रकारका स्थानीय निकायमार्फत अन्य स्थानीय विद्रोही, आन्दोलनकारीहरूसित सम्पर्कमा रहन, संवादका लागि सहज वातावरण बनाइदियो ।

म्याक्रों फ्रान्सले राजनीतिक परिदृश्यमै नयाँ व्यक्तित्व हुन् । विशेष गरी फ्रान्सजस्तो राष्ट्रपति केन्द्रित प्रणालीमा पार्टीको नेतृत्व लिने बलियो नेता हुँदा पार्टी शक्तिशाली हुन्छ । एक युवा नेताका रूपमा वैचारिक हिसाबले पनि म्यांक्रोले धेरै मतदाताको मन जित्न सफल भए । जसमा उनको विद्वता स्पष्टै देखिन्थ्यो ।

वर्षौंदेखि फ्रान्सको नेतृत्व गरिरहेका समाजवादी पार्टी फ्रान्स र यूएमपीलाई म्याक्रोंले पूरै रक्षात्मक अवस्थामा पुर्‍याइदिए । यो त्यस्तो समय थियो जनता फ्रान्समा परम्परागत राजनीतिबाट थकित देखिइसकेका थिए । उनले मूलधारका दलहरूको कमजोरीबाट फाइदा उठाए ।

तस्बिर : सिन्ह्वा/रासस

म्याक्रों लोकप्रिय भए पनि पहिलो चरणमा मात्र २४ प्रतिशत मत प्राप्त गरेका थिए । १२ जना उम्मेदवारबीच यो राम्रो प्रतिशत त हो तर असाधारण भने थिएन । तर म्याक्रोंले दोस्रो चरणको मतदानका लागि अति दक्षिणपन्थी, ग्रीन पार्टी र वामपन्थी पार्टीका असल मुद्दा सफलतापूर्वक ग्रहण गरे ।

पहिलो चरणमा तेस्रो बनेको वामपन्थी दल ला रिपब्लिक अँ माशका नेता जेन लुक मेलन्सोंले मारिन ल पेनलाई खुलेरै मतदान नगर्न आह्वान गरे । जुन म्याक्रोंलाई अवसर बनिदियो । मेलन्सोंले आफ्ना मतदातालाई बरु आफ्नो मत पत्र खाली छोडिदिन आग्रह गरेका थिए । मेलन्सोंको दलका २० प्रतिशत मतदाताले मात्रै अति दक्षिणपन्थी मानिएकी मरिन ल पेनलाई मत दिने र बाँकीले म्याक्रोंलाई मतदान गर्ने अध्ययनहरूले देखाएका थिए ।

त्यसो त, मारिन ल पेन दोस्रो चरणको प्रतिस्पर्धामा आउनु नै म्याक्रोंका लागि जितको अवसर बनिदियो । ल पेनले आफूले जितेमा फ्रान्स युरोपेली युनियनबाट बाहिरिने मुद्दा उठाएकी थिइन् । म्याक्रों ईयूलाई अझै बलियो बनाउने पक्षमा छन् । केही वर्षको अन्तरालमा नयाँ देश ईयूको सदस्य बन्ने र ईयूको मापदण्डमा पुर्याअउन ठूलो धनराशि खर्च गरिने हुनाले पनि फ्रान्स ईयुबाट बाहिरिनुपर्ने तर्क ल पेनको थियो । ईयूबाट बाहिरिनुपर्ने पक्षमा ठूलै जनमत भए पनि बहुमत फ्रान्सेली म्याक्रोंको पक्षमा देखिए ।

मरिन ल पेनलाई धक्का पुग्ने उनको आप्रवासीविरोधी एजेन्डा पनि थियो । उनले अब फ्रान्सले आप्रवासीहरूलाई स्वागत गर्न नहुने, फ्रान्सेली नागरिकबाहेक अन्यलाई बेरोजगार भत्ता दिन नहुनेलगायतका नारा बोकेकी थिइन् । आप्रवासीविरोधी मरिनको यस योजनाका कडा आलोचक हुन् म्याक्रों । फ्रान्समा करिब ३५ प्रतिशत जनसंख्या आप्रवासी मूलका छन् । त्यसैले पनि अधिकांश आप्रवासी मूलका नागरिकको मत म्याक्रोंका पक्षमा गयो ।

सन् २०१७ को राष्ट्रपतीय निर्वाचनका क्रममा मरिन ल पेनले रुसी बैंकबाट ९४ लाख युरो ऋण लिएको खुलासा गरिनु म्याक्रोंका लागि दह्रो चुनावी एजेन्डा बन्यो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली युनियनमा प्रभाव पार्न र ल पेनलाई विजयी गराउन भन्दै ऋण दिएको खुलासा गरियो । ल पेनले विभिन्न बहसका क्रममा युक्रेनमाथि रुसको हमलाका बारेमा पनि आफूलाई नरम देखाउँदै आएकी थिइन् । उनले 'रुसको ग्यास र तेलमाथि प्रतिबन्ध लगाउन नहुने भनाई राख्दै आएकी थिइन् । यसले गर्दा आम मतदातामा ल पेनले रुसी सहयोग लिएको प्रचार हुन गयो । म्याक्रोंले ल पेनको यो रुसी ऋणलाई चुनावी अभियानमा प्रयोग गरे ।

ठूलो आर्थिक मन्दीबाट पार पाउन नसक्नु फ्रान्सेली जनताका लागि लामो समयदेखि चिन्ताको विषय हो । म्याक्रोंअघिका राष्ट्रपति ओलांदका पालामा बेरोजगारीदर बढेर १७ प्रतिशत पुगेको थियो । म्याक्रोंले बेरोजगारीदर घटाएर ७ प्रतिशतमा झारे । म्याक्रोंका लागि यो ठूलो चुनावी मुद्दा बन्यो । खास गरेर युवा वर्ग उनको अभियानमा बढी आकर्षित बने ।

प्रभावकारी टेलिभिजन बहस

अप्रिल २० का दिन भएको ल पेनसँग भएको टेलिभिजन बहस पनि म्याक्रोंका लागि फाइदाजनक सावित भयो । फ्रान्स सरकारको सरकारी स्वामित्वमा रहेको टीएफ १ टीभीमा राष्ट्रपतिका उम्मेदवारहरूबीच तिनका एजेन्डाबारे प्रत्यक्ष बहस गराइन्छ । पहिलो चरणमा छानिएकाहरूबीच निर्वाचनको केही दिनअघि फेरि बहस हुन्छ । उक्त बहस लाखौं फ्रान्सेली नागरिकले हेर्ने गर्छन् ।

टेलिभिजन बहसका क्रममा म्याक्रों र पेन । तस्बिर : रोयटर्स

प्रत्यक्ष बहसमा जुन उम्मेदवार बढी प्रभावशाली हुनसक्यो उसैको पक्षमा स्वतन्त्र मतदाता बढी प्रभावित हुन्छन् । अप्रिल २० को साँझ आयोजित उक्त टिभी बहसमा म्याक्रों ल पेनमाथि पूरै हाबी देखिन्थे । ल पेनमाथि रुसी ऋण लिएर निर्वाचनलाई प्रभाव पार्न खोजेको, देशको राष्ट्रियतामाथि बेइमानी गरेको आरोप लगाएका थिए । रुस-युक्रेन युद्धपछि देशमा अनेकौं वस्तुको मूल्य बढाएर जनजीवन कस्टकर बनाएको आरोप ल पेनले म्याक्रोंमाथि लगाए पनि फलदायी हुन सकेन ।

युरोपेली युनियनका लागि विगतमा फ्रान्सले बेलायत र जर्मनी दुवैलाई पछि पारेको थियो । म्याक्रोंको कार्यकालभन्दा लगभग तीन कार्यकाल फ्रान्स पछि परेको अनुभव फ्रान्सेलीले गरेका थिए । म्याक्रों राष्ट्रपति बनेलगत्तै सन् २०१७ बाट फेरि फ्रान्सले नेतृत्व लिन लागेको छाप पर्नु म्याक्रोंको सकारात्मक पाटो हो ।

म्याक्रोंको जितमा अन्य सानातिना कारणहरूले पनि योगदान गरेका छन् । बेलायत ब्रेक्जिट सम्झौताबाट बाहिरिएसँगै फ्रान्सले बेलायतसँग आफ्नो स्थान बदल्यो । युरोपभित्र र बाहिर झन्झन् प्रभावशाली हुँदै गइरहेको अनुभव फ्रान्सेलीले गरेका छन् ।

सन् १९६०-७० पछि फ्रान्सका दलहरूबीचको शक्ति सन्तुलनमा आमूल परिवर्तन भएन । केही पार्टीहरूले नाम, लोगो, नेताहरू परिवर्तन गरे तर अभ्यासमा समान रहे । म्याक्रोंले जब नयाँ पार्टी गठन गरेर अगाडि आए तब पुराना पार्टीहरूबीच नैतिक संकट उत्पन्न भयो । उनले फ्रान्सको परम्परागत पार्टीगत राजनीतिमा परिवर्तनको संकेत दिए ।

प्रकाशित : वैशाख १३, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?