१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मधेसलाई अवसर बन्दै दरभंगामा विमानस्थल

‘एयर कनेक्टिभिटी’ का कारण भारतका प्रमुख सहरसँग सीमा क्षेत्रका नेपालीको पहुँच सहज
राजेश मिश्र

दरभंगा, बिहार — नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारको दरभंगास्थित विमानस्थलका कारण नेपालको मधेस प्रदेशवासीले पनि लाभ उठाउन पाउने भएका छन् । विमानस्थल सञ्चालन आएसँगै मधेसका कतिपय जिल्लाका स्थानीय केही घण्टामै मुम्बई, दिल्लीलगायत भारतीय सहर पुग्न सक्ने भएका हुन् । उक्त विमानस्थल प्रदेश राजधानी जनकपुरबाट ८० किलोमिटरको दूरीमा छ ।

मधेसलाई अवसर बन्दै दरभंगामा विमानस्थल

दरभंगामा विकसित ‘एयर कनेक्टिभिटी’ ले सिंगो प्राचीन मिथिला (नेपाल र भारत दुवै क्षेत्रका) लाई आधुनिकता र वैभवताले सम्पन्न सहरसँग जोडेको हो । दरभंगाबाट अहिले डेढदेखि अढाई घण्टाभित्रै दिल्ली, मुम्बई, कोलकाता, बैंग्लोर र हैदराबाद पुग्न सकिने भएको छ । सर्वसाधारणका लागि उक्त विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष पुग्दै छ । यस अवधिमा ७ लाख बढीले आउजाउ गरेको तथ्यांक छ । तीमध्ये नेपालीको संख्या पनि उल्लेख्य रहेको विमानस्थल स्रोतले बतायो ।

जनकपुरबाहेक मधेस प्रदेशका सीमावर्ती सहर मलंगवा, जलेश्वर, माडर र राजविराजको पनि दरभंगासँग निकटता छ । पूर्वमा सुनसरी, मोरङ, झापादेखि पहाडी जिल्लाका बासिन्दालाई पश्चिम बंगालको बागडोग्रा विमानस्थलले भारतका विभिन्न सहरसँग जोडेको छ । त्यस्तै, पश्चिममा गोरखपुर र लखनउ विमानस्थलले त्यस क्षेत्रका नेपालीलाई हवाई यात्रामा सहज बनाएको छ । मध्यतराई र नजिकैका पहाडी जिल्लाका लागि दरभंगा विमानस्थलले गोरखपुर र बागडोगरा विमानस्थल जत्तिकै सम्भावना दिएको छ ।

हिन्दुस्तान टाइम्सका दरभंगा ब्युरो प्रमुख विष्णुकुमार झा विमानस्थल सञ्चालनका कारण यस क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा धेरै ठूलो फड्को मार्ने आशा व्यक्त गर्छन् । त्यसका संकेतहरू देखा पर्न थालिसकेको उनको भनाइ छ । गत वर्ष मिथिलाञ्चलका आँप र लिची विमानमार्फत विभिन्न भारतीय सहर पुगेको जनाउँदै उनले नेपाली किसानले लाभ उठाएको बताए । ‘प्राचीन मिथिलाञ्चल भनेपछि भारतको मात्रै होइन, नेपालको पनि तराई क्षेत्रको ठूलो हिस्सा समेटिन्छ,’ उनले भने । भारतीय पर्यटकलाई जनकपुर भित्र्याउन पनि विमानस्थलले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । दक्षिण भारतका प्रमुख सहर हैदराबाद र बैंग्लोरमा दरभंगाबाट दैनिक उडान छ । नेपालमा पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटकमा दक्षिणी भारतीयको संख्या उल्लेख्य छ । तर उनीहरू जनकपुर भने पुग्दैनन् ।

दक्षिण भारतका धार्मिक पर्यटक तान्न सके जनकपुरले लाभ उठाउन सक्छ । हाल भारतका विभिन्न सहरमा स्वास्थ्य उपचार, अध्ययन र काम विशेषले जाने मध्य तराईवासीले दरभंगा रुटको प्रयोग गर्न थालिसकेका छन् । पटना विमानस्थलको तुलनामा छोटो र सहज भएकाले सीमा क्षेत्रका नेपालीलाई सहजता मिलेको हो । ‘दरभंगा आउने हरेक विमानमा केही संख्यामा नेपाली नागरिक हुन्छन् नै,’ पत्रकार झाले थपे, ‘विमानस्थलबाहिर ट्याक्सी तथा भाडाका गाडीले त्यताका यात्रु तान्न जनकपुर, जनकपुर भन्दै कराएको सुनिन्छ ।’

जनकपुरका व्यवसायी सञ्जय रौनियार दरभंगा रुटको प्रयोग गर्ने नेपालीको संख्या बढ्दै गएको बताउँछन् । उनी आफैं पनि दरभंगाबाट दिल्ली आउजाउ गरिरहन्छन् । दिल्लीस्थित एनबी टुर एन्ड ट्राभल्सका सञ्चालक विष्णु शाही तराईका बासिन्दालाई दरभंगा रुटले सहज बनाएको बताउँछन् । ‘जनकपुरतिर जानुपर्ने धेरैले दरभंगा रुटबारे सोधीखोजी गर्ने र टिकट काट्ने गरिरहनुभएको छ,’ उनले भने । हवाई यात्राबाट दरभंगा हुँदै केही घण्टामै जनकपुर पुग्न सकिनेबारे भारतीय पर्यटकलाई जानकारी दिन सके धार्मिक पर्यटक तान्न सकिने रौनियारको बुझाइ छ ।

भारतीय हवाई सेनाको अधीनमा रहेको दरभंगा विमानस्थललाई सन् २०२० को नोभेम्बर ८ देखि नागरिक उड्डयनका लागि प्रयोगमा ल्याइएको हो । विमानस्थलमा ९ हजार फिट लामो रनवे भएकाले ठूला विमान उड्न र अवतरण गर्न सहज हुन्छ । हाल दरभंगाबाट दिल्ली, मुम्बई र बैंग्लोरमा दैनिक २/२ उडान हुन्छन् । कोलकाता र हैदराबादका लागि १/१ उडान छन् । ‘रिजनल कनेक्टिभिटी’ योजनाअन्तर्गत भारत सरकारले देशका विभिन्न ९ सय हवाई रुट स्वीकृत गरिसकेको छ । ३ सय ५० स्थानमा हवाई सेवा सुरु भइसकेको छ । त्यसैअन्तर्गत दरभंगामा उडान सुरु भएको हो । विमानस्थलमा नयाँ आधुनिक टर्मिनल भवन निर्माणका लागि बिहार सरकारले बजेटसमेत छुट्याइसकेको छ ।

प्रकाशित : वैशाख ९, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?