कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दिल्लीमा फेरि बढ्दै कोरोना

चौथो लहर फैलन सक्ने विज्ञहरूको चेतावनी
राजेश मिश्र

नयाँदिल्ली — दिल्लीमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । संक्रमण दर ५ प्रतिशतभन्दा बढी देखिएपछि दिल्लीका स्थानीय तथा अधिकारीहरू झस्किन थालेका छन् । विज्ञहरूले चौथो लहर फैलन सक्ने भन्दै सर्वसाधारणलाई सचेत बन्न आग्रह गरेका छन् । कोराना नियन्त्रणका लागि जारी गरिएका सबै प्रतिबन्धहरू हटाइएको एक महिना पनि नबित्दै चौथो लहरको संकेत देखिएको उनीहरूको भनाइ छ ।

दिल्लीमा फेरि बढ्दै कोरोना

अधिकारीका अनुसार दिल्लीमा संक्रमणको स्थिति दुई महिना पूर्वको अवस्थामा पुगेको छ । संक्रमण दर अझै बढेको खण्डमा नयाँ प्रतिबन्धहरू लगाउन सकिने सरकारले संकेत गरेको छ । पछिल्लो स्थितिको समीक्षा गर्न दिल्लीको विपद व्यवस्थापन प्राधिकिरणको बैठक बुधबारका लागि बोलाइएको छ । त्यसले परिस्थितिको मूल्यांकन गरेर आवश्यकता अनुसार निर्णय लिने सम्भावना छ । दिल्लीमा शनिबार ४ सय ६१ संक्रमित भेटिएका थिए । संक्रमण दर ५.३३ प्रतिशत देखिएको छ । यो ४८ दिनयताकै उच्च हो । संक्रमणका कारण दुईजनाको मृत्यु भएको जनाइएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६१ छ ।

अप्रिल १ का दिन दिल्लीको संक्रमण दर ०.५७ प्रतिशत थियो । अप्रिल ४ मा १.३४ प्रतिशत पुगेको संक्रमण दर अप्रिल १४ मा २ प्रतिशत मािथ पुगेको हो । एक सातायता होम आइसोलेनमा बस्नेको संख्यामा ४८ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बुधबार २.७० प्रतिशत देखिएको संक्रमण दर शनिबार ५ प्रतिशतभन्दा माथि पुगेको हो ।

यसअघि गत पुसमा २ प्रतिशत भन्दा माथि संक्रमण दर पुगेपछि दिल्ली सरकारले विभिन्न सतर्कताहरू अपनाउन थालेको थियो । यतिबेला दिल्लीमा मास्क लगाउन आग्रह गरिए पनि त्यसलाई अनिवार्य भने गरिएको छैन् । मेट्रो, बस र बजार सबै पूर्ण रुपमा खुला छन् । सबै शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमै अध्ययन, अध्यापन गराउँदै आएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय उडानहरु खुला छन् ।

तेस्रो लहरको मारबाट अर्थतन्त्र तंग्रिन खोजिरहेका बेला चौथो लहरको खतरा बढेपछि तनाव थपिएको छ । विद्यालयमा संक्रमण दर बढेको जनाइएको छ । संक्रमण देखिएपछि कतिपय विद्यालय अस्थायी रुपमा बन्द गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानी क्षेत्र भित्रकै नोयडामा संक्रमण दर १५ प्रतिशत पुगेको छ । शनिबार त्यहाँ भेटिएका ७० नयाँ बिरामीमध्ये १४ जना बालबालिका छन् । भारतका ७ सय ३४ मध्ये २९ जिल्लामा संक्रमण दर ५ प्रतिशतत माथि छ । विश्व स्वास्थ्य संगठनले ती जिल्लाको अवस्थालाई लिएर चिन्ता जनाउँदै सतर्कतामा जोड दिएको छ । त्यसमध्ये २३ जिल्लामा संक्रमण दर १० प्रतिशत र ८ जिल्लामा २० प्रतिशतभन्दा माथि छ । दिल्लीसँगै जोडिएको हरियाणा गुरुग्रामको अवस्था पनि चिन्ताजनक देखिएको छ । त्यस्तै, मुम्बईमा समेत नयाँ संक्रमितहरू भेटिएका छन् । केरल, मिजोरम र अरुणाचल प्रदेशमा पनि संक्रमित देखिन थालेका जनाइएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले स्वास्थ्य मापदण्डको ध्यान दिन तथा लापरवाही नगर्न सर्वसाधारणसँग आग्रह गरेका छन् । विशेषज्ञहरूसँगको बैठकपछि उनले सबै राज्य सरकारलाई उच्च सतर्ककता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले दिल्ली, हरियाणा, केरल, महराष्ट्र र मिजोरम सरकारलाई चिठी लेखेर विशेष तयारी र सतर्कता अपनाउन निर्देशन दिएको छ । आवश्यकता अनुसार कोरोनाका लागि नयाँ निर्देशिका जारी गर्न पनि केन्द्रले राज्य सरकारलाई आग्रह गरेको छ ।

भारतमा हालसम्म कोरोनाबाट ४ करोड ३० लाख जनाभन्दा बढी संक्रमित भइसकेका छन् । ५ लाख २१ हजारको ज्यान गएको छ । कोरोनाको नयाँ संक्रमणलाई ‘स्टेल्थ ओमिक्रोन’ भनिएको छ । यसका लागि ओमिक्रोनको सहायक भेरियन्ट बीए–२ र एक्स–ई भेरिएन्टलाई जिम्मेवार मानिएको छ । साउथ कोरिया, जर्मनी, चीनलगायत देशमा यो भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : वैशाख ४, २०७९ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?