१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भारतमा कोरोनाको चौथो लहरको जोखिम : उच्च सतर्कता अपनाउन निर्देशन

राजेश मिश्र

नयाँदिल्ली — कोरोनाको तेस्रो लहर सकिएको केही महिनामै भारतको राजधानी नयाँदिल्लीसहित केही सहरलाई चौथो लहरले तर्साउन थालेको छ । दिल्ली, महाराष्ट्र, हरियाणा, केरल, मिजोरम र अरुणाचल प्रदेशमा कोरोनाका नयाँ भेरियन्टबाट संक्रमितहरू देखिन थालेपछि चौथो लहरको आशंका गर्न थालिएको हो । 

भारतमा कोरोनाको चौथो लहरको जोखिम : उच्च सतर्कता अपनाउन निर्देशन

दिल्लीमा कोरानाका लागि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको एक महिना पनि नबित्दै नयाँ संक्रमितहरू भेटिएका छन् । राजधानी दिल्लीमा कोरोना संक्रमणको स्थिति दुई महिनापूर्वको अवस्थामा फर्केको छ । लगातार दुई दिनयता संक्रमण दर दुई प्रतिशतमाथि छ । एक सातायात क्रमशः होम आइसोलेनमा बस्नेहरुको संख्यामा ४८ प्रतिशतले वृद्धि भएको छ । संक्रमणदरमा दैनिक रूपमै बढोत्तरी देखिनु चिन्ताको विषय मानिएको छ । यसअघि गत पुसमा २ प्रतिशतभन्दा माथि संक्रमणदर पुगेपछि दिल्ली सरकारले विभिन्न सतर्कताहरु अपनाउन थालेको थियो ।

यतिबेला दिल्लीमा मास्क लगाउन आग्रह गरिए पनि त्यसलाई अनिवार्य नियममा राखिएको छैन । मेट्रो, बस र बजार सबैलाई पूर्ण रुपमा खुलाइएको छ । अनलाइन कक्षा पूर्ण रूपले हटाएर विद्यालय र कलेज खोलिसकिएको छ । अन्तर्राष्ट्रिय उडानहरु खुलाइसकिएको छ । तेस्रो लहरको मारबाट तंग्रिन खोजेका बेला चौथो लहरको खतरा बढेर गएको छ । विद्यालायमा विद्यार्थी र शिक्षकलाई समेत संक्रमण देखिन थालेको छ । संक्रमण देखिएपछि कतिपय विद्यालय अस्थायी रूपमा बन्दसमेत गराइएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले कोरोनालाई लिएर लापर्बाही नगर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । उनले विशेषज्ञहरूसँगको बैठकपछि सबै राज्य सरकारलाई उच्च सतर्ककता अपनाउन भनेका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिल्ली, हरियाणा, केरल, महाराष्ट्र र मिजोरम सरकारलाई चिठी लेखेर कोरोनालाई लिएर विशेष तयारी र सतर्कता अपनाउन भनेको छ ।

आवश्यकताअनुसार कोरोनाका लागि नयाँ गाइडलाइन जारी गर्न पनि केन्द्रले राज्य सरकारहरूलाई भनेको छ । भारतमा अहिलेसम्म कोरोनाको विभिन्न लहरबाट ४ करोड ३० लाखभन्दा बढी व्यक्तिहरू संक्रमित भइसकेका छन् । ५ लाख २१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोनाको नयाँ संक्रमणलाई ‘स्टेल्थ ओमिक्रोन’ भनिएको छ । यसका लागि ओमिक्रोनको सब भेरियन्ट बीए.२ र एक्स ई भेरिएन्टलाई जिम्मेवार मानिएको छ । साउथ कोरिया, जर्मनी, चीनमा यो भेरियन्टले धेरैलाई संक्रमित बनाएको छ ।

प्रकाशित : वैशाख २, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?