१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

जो राजनीतिक इनिङमा बोल्ड भए

पाकिस्तानलाई सन् १९९२ को विश्वकप क्रिकेट उपाधि दिलाउन नेतृत्वदायी भूमिका निभाएका इमरान खानले राजनीतिमा पनि रेकर्ड कायम गरे । तर विडम्बना, उनको राजनीतिक रेकर्ड भने दुःखद रह्यो ।
बुद्धिसागर मरासिनी

काठमाडौँ — राजनीति र क्रिकेट । यस्तै, दुई बिलकुल फरक क्षेत्रमा सफलता भने विरलै मानिसलाई मिल्छ । त्यसैमध्येका एक भाग्यमानी हुन्, पाकिस्तानी क्रिकेटरबाट नेताका रूपमा परिचय फेरेका इमरान खान ।

जो राजनीतिक इनिङमा बोल्ड भए

क्रिकेटको दुनियाँमा ‘अलराउन्डर’ को परिचय र चर्चापछि सफल विश्राम लिएका खानको सुरुवाती राजनीति भने उति जमेन । तर चार वर्षअघिको संसदीय चुनावमा खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई) सबैभन्दा ठूलो दल बनेपछि भने उनका लागि सत्ताको ढोका खुल्यो ।

सन् २०१८ मा प्रधानमन्त्री बनेका खान पाकिस्तानको संसदीय इतिहासमा पूरा कार्यकाल सत्तामा बस्ने प्रधानमन्त्री बन्ने आकलन अधिकांश राजनीतिक पण्डितहरूको थियो । पाकिस्तानलाई आफ्नो नेतृत्वमा सन् १९९२ को विश्वकप क्रिकेट उपाधि दिलाएका खानले राजनीतिमा पनि रेकर्ड भने कायम गरे । तर विडम्बना, उनको राजनीतिक रेकर्ड भने दुःखद रह्यो । अर्थात् उनी संसद्मा विश्वासको मत गुमाउने पाकिस्तानको पहिलो प्रधानमन्त्री बने । पाकिस्तानी राजनीतिक पण्डितहरूको भविष्यवाणी फेल खायो ।

खान अविश्वासको प्रस्ताव सामना गर्ने तेस्रो पाकिस्तानी प्रधानमन्त्री हुन् । पाकिस्तानमा यसअघि सन् १९८९ मा बेनजिर भुट्टो र सन् २००६ मा सौकत अजिज गरी दुई सत्तासीन प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गरेका थिए । तर अघिल्ला दुई प्रधानमन्त्रीले जस्तो उनले आफ्नो पद भने जोगाउन सकेनन् । क्रिकेट जगत्का अलराउन्डर खानको राजनीतिक ‘ब्याटिङ र बलिङ’ भने खासै चलेन ।

प्रधानमन्त्री खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै उनी आइतबारदेखि नै पदमुक्त भइसकेका छन् । पाकिस्तानको संसद् (राष्ट्रिय सभा) आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए । ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो ।

यसअघि खान सरकारलाई समर्थन गरेको मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) ले विपक्षीसँग हात मिलाएपछि खान नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसलगत्तै विपक्षी गठबन्धनले उनीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । खानले पद जोगाउनका लागि शक्तिको कसरत भने नगरेका होइनन् । संसद्मा पेस गरिएको प्रस्ताव आफ्नै दलका उपसभामुख कसिम सुरीमार्फत असंवैधानिक भएको घोषणा गराउन भने उनी सफल भए ।

त्यसलगत्तै उनले राष्ट्रपति आरिफ अल्भीमार्फत संसद् भंग गरे पनि सर्वोच्च अदालत उनका लागि तघारो बन्यो । अदालतले संसद् पुनःस्थापना गरी अविश्वासको प्रस्तावउपर मतदान गराउन आदेश दिएपछि भने खानलाई गाह्रो पर्‍यो । शनिबार बिहान १० बजे बोलाइएको बैठक पटकपटक स्थगित गरिएको थियो । सभामुख असद क्वेसरले मतदान टार्न प्रयास गरेपछि सफल नभएपछि भने उनले राजीनामा दिए । ३० वर्षदेखि खानसँगको सुमधुर सम्बन्धका कारण क्वेसरले बरु पद त्यागे, तर मतदान गराएनन् । तर मध्यरातमा अयाज सदिकको अध्यक्षतामा सुरु संसद् बैठकमा मतदान भएको हो ।

संसद् विघटनपछि खानले तीन महिनाभित्र चुनाव गरी र विपक्षीले आफूमाथि लगाएका आरोप जनमतमार्फत खारेज गर्ने बताएका थिए । तर खान आफैं अब प्रतिपक्षको भूमिकामा पुगेका छन् । पीटीईका सांसद फैजल जाभेद खानले प्रधानमन्त्री खान ‘कसैस“ग नझुकी सम्मानित रूपमा’ सरकारी निवासबाट बाहिरिएको बताएका छन् । ‘खानले देशको कद उच्च पारेको’ उनको भनाइ छ ।

विदेशीले षड्यन्त्र गरेको दाबी

विपक्षीहरूले आफूलाई काम गर्न नदिएका कारण संसद् विघटन गर्नुपरेको खानको दाबी थियो । त्यस्तै आफूलाई प्रधानमन्त्री पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र भएको दाबी खानको छ । खानको दल पीटीआईका सदस्यहरूले ‘प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय षड्यन्त्रको सिकार बनाइएको’ भन्दै शनिबारको बैठकअघि संसद् भवन छाडेका थिए ।

रुस र चीनविरुद्ध नउभिएका कारण अमेरिकी नेतृत्वको षड्यन्त्रको सिकार भएको खानको दाबी छ । यद्यपि, खानले त्यसबारे कुनै ठोस प्रमाण प्रस्तुत गर्न भने सकेका छैनन् । त्यस्तै, अमेरिकाले भने खानको आरोपमा कुनै ‘सत्यता नरहेको’ बताउँदै आएको छ ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि खान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मस्को पुगेका थिए । जसका कारण पश्चिमा देशसँगको उनको सम्बन्धमा थप दरार पैदा भएको ठानिएको थियो । त्यस्तै, उनले विगतमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस प्रशासनको ‘आतंकवादविरुद्धको लडाइँ’ को पनि कडा आलोचना गरेका थिए ।

विपक्षी र सेनासँगको सम्बन्ध

खान भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रका समस्या सम्बोधन गर्नेलगायतका वाचासहित प्रधानमन्त्री चुनिएका थिए । तर खानका प्रतिबद्धताहरू वाचामै सीमित भएपछि पाकिस्तानी अर्थतन्त्र संकटउन्मुख छ । खानले भ्रष्टाचारविरोधी अभियान सुरु गरे पनि विपक्षी दलले प्रतिशोधपूर्ण कार्यको संज्ञा दिएका थिए ।

खान नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको र विदेश मामिलामा सम्झौताकारी नीति अख्तियार गरेको विपक्षीहरूले दाबी गर्दै आएका थिए । विपक्षीसँगको सम्बन्ध बिग्रँदै गएका बेला सेनासँग पनि मतभेद बढेपछि भने उनको कुर्सी धरापमा परेको आकलन गरिएको थियो । पाकिस्तानको गुप्तचर संस्था आईएसआई प्रमुख फैज हमिदलाई हटाउने विषयमा विवाद उत्पन्न भएपछि सरकार र सेनाबीच सम्बन्ध बिग्रेको हो ।

पाकिस्तानमा सरकार गठन तथा सत्ता सञ्चालनका लागि सेनाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । सन् १९४७ मा स्वतन्त्र भएयता पाकिस्तानमा ४ पटक सैन्य ‘कु’ र त्यति नै पटक सत्ता परिवर्तनको प्रयास भइसकेको छ ।

क्रिकेटरबाट प्रधानमन्त्री

क्रिकेट जगत्मा अलराउन्डरका रूपमा चर्चित खानले पाकिस्तानका लागि ८८ टेस्ट र १७५ एकदिवसीय खेले । टेस्ट क्रिकेटमा ३ हजार ८ सय ७ रन जोडेका खानका नाममा ३६२ विकेट दर्ता छन् । त्यस्तै, एकदिवसीयमा ३ हजार ७ सय ९ रन बनाएका इमरानले १८२ विकेट लिएका थिए ।

सन् १९५२ को अक्टोबर ५ मा लाहोरमा जन्मिएका खानले १८ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका थिए । उनी सन् १९८२ देखि १० वर्ष पाकिस्तानी राष्ट्रिय टिमको क्याप्टेन भए ।

क्रिकेट छाडेपछि राजनीतिमा प्रवेश गरेका खानले सन् १९९६ मा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) स्थापना गरेका हुन् । हाल उनी पीटीआईका अध्यक्ष छन् । सन् २००२ को चुनावमा राष्ट्रिय सभामा उनको दलले जम्मा एक सिट जितेको थियो ।

सन् २००८ को चुनाव बहिष्कार गरेको दलले ५ वर्षपछिको चुनावमार्फत खैबर पख्तुन्ख्वा प्रान्तमा गठबन्धन सरकारको नेतृत्व गरेको थियो । सन् २०१८ को चुनावमा भने पीटीआईले संसद्मा सबैभन्दा बढी सिट जितेपछि खानलाई पाकिस्तानको २२ औं प्रधानमन्त्री बन्न बाटो खुलेको थियो ।

अबको प्रधानमन्त्री को ?

इमरान खानको बहिर्गमनसँगै पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्दै छ । विपक्षीहरूले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज सरिफलाई नयाँ प्रधानमन्त्री उम्मेदवार चयन गरिसकेका छन् । नयाँ प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन् ।

शेहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । तर बढ्दो मुद्रास्फीति, महँगी र कर्जा व्यवस्थापन नयाँ प्रधानमन्त्रीका लागि मुख्य चुनौती हुने देखिएको छ । नयाँ सरकारमा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का बिलावल भुट्टो जर्दारीलाई पनि महत्त्वपूर्ण भूमिका दिइने जनाइएको छ । उनी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो तथा पूर्वराष्ट्रपति आसिफ अली जर्दारीका छोरा हुन् ।

पीटीआईले भने संसद्बाट राजीनामा दिने निर्णय गरेको छ । शेहबाजलाई विदेशीले छानेका भन्दै प्रधानमन्त्रीको उम्मेदवार हुन रोक्नुपर्ने माग सम्बोधन नभएकाले आफ्नो दलले सोमबार संसद्बाट राजीनामा दिने पूर्वसूचनामन्त्री तथा पीटीआई नेता फवाद चौधरीले बताएका छन् ।

शेहबाजले भने ‘प्रतिशोधको राजनीति गर्ने आफूहरूको कुनै नियत नभएको’ बताएका छन् । ‘पाकिस्तानलाई निको पार्नु छ, त्यसैले हामी सिधा अगाडिको बाटोमा हिँड्छौं,’ उनले भनेका छन् । शेहबाजले घृणा र विभाजनको राजनीति नगर्ने प्रतिक्रिया दिएसँगै खानले राजनीतिक इनिङ दोस्रोपटक सम्हाल्ने सम्भावना भने अन्त्य भइसकेको छैन ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : चैत्र २७, २०७८ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?