४२ वर्षमा भाजपा : २ सिटबाट ३०३

राजेश मिश्र

नयाँदिल्ली — भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो ४२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा र यसका कार्यकर्ताको दायित्व लगातार बढ्दै गएको बताएका छन् । जनताले जिम्मेवारी थप्दै गएसँगै दायित्व थपिएको उनको भनाइ छ ।

४२ वर्षमा भाजपा : २ सिटबाट ३०३

तत्कालीन जनता पार्टीबाट अलग भएर अटल बिहारी वाजपेयी र लालकृष्ण आडवाणी लगायतका नेताले सन् १९८० अप्रिल ६ मा भाजपाको स्थापना गरेका थिए । बाजपेयी संस्थापक अध्यक्ष बनेका थिए । स्थापनाको ४ वर्षपछिको चुनावमा भाजपाले २ सिट मात्र जितेका थियो । लोकसभामा २ सिटबाट थालेको यात्रा अहिले ३०३ मा पुगेको छ ।

सन् १९८९ को चुनावमा भाजपाले ८५ सिट जित्न सफल भयो । त्यहींबाट भाजपा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने दल बन्न पुगेको हो । भाजपाको समर्थनमा बीपी सिंहको सरकार बनेको थियो । त्यसैताका भाजपाले अयोध्यामा राम मन्दिर निर्माणको आन्दोलन थालेको थियो । जसका कारण भाजपा हिन्दु कट्टरवादी पार्टीका रूपमा स्थापित हुँदै गयो । सन् १९९१ मा भाजपाको सिट १२१ पुग्यो । परम्परागत रूपमा स्थापित कांग्रेस पार्टीलाई टक्कर दिने पोजिसनमा भाजपा उकालो लाग्दै गयो । सन् १९९६ मा १६१ सिट जितेर लोकसभामा सबैभन्दा ठूलो दल बन्न पुग्यो ।

भाजपाबाट पहिलो पटक बाजपेयी प्रधानमन्त्री चुनिए । तर, विश्वासको मत लिन सक्ने स्थिति न बनेपछि १३ दिनमै बाजपेयीले राजीनामा दिनुपरेको थियो । त्यतिबेला जनता दलको अगुवाइमा अर्को सरकार बन्यो । तर, त्यो पनि धेरै समय टिकेन । सन् १९९८ को मध्यावधि निर्वाचनमा भाजपाले गठबन्धन बनाएर चुनावमा भाग लियो । भाजपा नेतृत्वको एनडीएले मुस्किलले बहुमत जुटाएको थियो । भाजपा एक्लैले भने १८२ सिट जितेको थियो । बाजपेयी दोस्रो पटक प्रधानमन्त्री भए । तर, गठबन्धनभित्रको एक दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि वाजपेयी सरकार मुस्किलमा परेको थियो । त्यही समयमा पाकिस्तानसँग कारगिल युद्ध भयो । भारतले जित हासिल गर्‍यो । त्यसले भाजपालाई लाभ दियो । सन् १९९९ मा भएको मध्यावधि चुनावमा भाजपा नेतृत्वको गठबन्धनले ३०३ सिट ल्यायो । भाजपाले १८३ । वाजपेयी तेस्रो पटक प्रधानमन्त्री चुनिए । र, बाजपेयीले पाँच वर्ष सरकार चलायो ।

तर, सन् २००४ मा भएको चुनावमा कांग्रेस नेतृत्वको गठबन्धलने बढी सिट ल्यायो । भाजपा १३८ सिटमा झर्‍यो । सन् २००९ मा थप तल आएर झापा १ सय १६ मा समिति हुन पुगेको थियो । सन् २०१४ को चुनावमा भाजपा एक्लैले २८२ सिट ल्याएर सरकार बनायो । नरेन्द्र मोदी प्रधानमन्त्री भए । सन् २०१९ मा भाजपको सिटको संख्या ३ सय ३ पुग्यो । सन् २०१४ यता भाजपाको लहर कायमै छ ।

एक महिना अगाडि भएको चुनावमा ५ मध्ये ४ राज्यमा भाजपाले जित हासिल गरेको छ । प्रधानमन्त्री मोदीले स्थापना दिवसका अवसरमा दिएको आफ्नो भाषणमा भाजपाको विजयको कारण चुनावी मात्रै नभएर सामाजिक र राष्ट्रिय जागरण भएको उल्लेख गरेका छन् । उनले देशमा परिवार भक्ति र राष्ट्र भक्ति दुई किसिमका राजनीति चलिरहेको र भाजपाले दोस्रो विकल्पमा काम गरिरहेको उल्लख गरे ।

प्रकाशित : चैत्र २४, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?