१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बेलायती महारानीले सम्झिइन् दुई ऐतिहासिक नेपाल भ्रमण

नवीन पोखरेल

लन्डन — बेलायती महारानी एलिजावेथ द्वितीयाले नेपालमा आफूले गरेको दुई ऐतिहासिक राजकीय भ्रमणको स्मरण गरेकी छन् । महारानीले बेलायत नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्धको पनि चर्चा गरेकी छन् ।

बेलायती महारानीले सम्झिइन् दुई ऐतिहासिक नेपाल भ्रमण

बेलायतका लागि २२औँ नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बकिङहम प्यालेसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा भिडियो लिंकमार्फत विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै जोडिएकी महारानीले राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै उनको पालामा बेलायत-नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशासमेत व्यक्त गरेकी थिइन् ।

करिब १० मिनेट लामो संवादमा राजदूत आचार्यले नेपालको सामाजिक-आर्थिक विकास तथा हालै कोभिड महामारीसँग जुध्न बेलायतले गरेको सहायताका लागि आभार प्रकट गरे ।

राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल-बेलायत सम्बन्ध थप सुदृढ, बलियो र बहुआयामिक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महारानी र बेलायती जनतालाई पठाएको शुभकामना सन्देश सुनाएका थिए ।

राजदूत आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए । महारानीलाई ओहोदाको प्रमाणपत्र बुझाएको अवसरमा दिउँसो दूतावासमा एक रिसेप्सन आयोजना गरियो ।

प्रकाशित : चैत्र १८, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?