चिनियाँ जहाज दुर्घटना : सबै यात्रुको मृत्यु भएको आशंका 

एजेन्सी

कुनमिङ — चीनमा १३२ जना सवार यात्रुवाहक विमान सोमबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । चाइना इस्टर्न एयरलाइन्सको ७३७–८०० विमान दक्षिणी प्रान्त ग्वाङ्सीको पहाडमा दुर्घटनामा परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । विमानमा १२३ जना यात्रु र चालकदलका ९ सदस्य रहेका चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ । 

चिनियाँ जहाज दुर्घटना : सबै यात्रुको मृत्यु भएको आशंका 

चीनको दक्षिण पश्चिम प्रान्त युनानको राजधानी कुनमिङस्थित चाङसुई विमानस्थलबाट दिउँसो १ बजे ग्वाङझाओका लागि उडेको विमान दुर्घटनामा परेलगत्तै आगलागी भएको ग्लोबल टाइम्सले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानबाट मानिसहरूको जीवितै उद्धार हुने सम्भावना कम रहेको ठानिएको छ । मंगलबार पनि खोजी कार्य जारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त जहाज अपराह्न ३ बजे ग्वाङझाओमा अवतरण गर्ने जनाइएको थियो । स्थानीयले सामाजिक सञ्जालमा राखेका भिडियोमा विमानका भग्नावशेषहरू पहाडमा यत्रतत्र छरिएका अवस्थामा देखिएका छन् । दुर्घटनाका कारणबारे यकिन भइसकेको छैन । चिनियाँ राष्ट्रपति सी चिनफिङले दुर्घटनाका कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् । दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सले बोइङ–७३७–८०० विमानमार्फत दिँदै आएको सेवा स्थगित गरिएको जनाएको छ ।

दुर्घटना भएको स्थानमा आगोको ज्वाला र धूवाँको मुस्लो देखिएको छ । सीसीटीभीका अनुसार घटनास्थलमा परिचालित उद्धारकर्ताहरूले दुर्घटनापछि जंगलमा लागेको आगो निभाएका छन् । दुर्घटनापछि घटनास्थलमा ६ सयको संख्यामा उद्धार टोली खटाइएको छ ।

विमान कम्पनीले भने दुर्घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । दुर्घटनामा परेको जहाज सन् २०१५ को जुनदेखि मात्रै सञ्चालनमा आएको थियो । १६२ सिट क्षमताको जहाजमा बिजनेस क्लासका १२ सिट थिए ।

चाइना इस्टर्न चीनको तीनवटा ठूलामध्येको विमान सेवा कम्पनी हो । राम्रो सुरक्षा प्रत्याभूतिसहित सेवा सञ्चालन गर्ने चिनियाँ विमान निकै कम दुर्घटनामा पर्ने गरेका छन् । यसअघि चीनमा १२ वर्षअघि ठूलो हवाई दुर्घटना भएको थियो । २०१० को अगस्टमा भएको दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : चैत्र ८, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?