कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चीनमा ‘जीवन्त संग्रहालय नेपाल’ प्रदर्शनी

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल प्राचीनकालदेखि नै कला संस्कृतिको जीवन्त संग्रहालय भएको भन्ने भावार्थमा चीनको व्यापारिक सहर क्वाङचौमा एक प्रदर्शनीमार्फत् नेपाली संस्कृतिको प्रवर्द्धन गरिएको छ।

चीनमा ‘जीवन्त संग्रहालय नेपाल’ प्रदर्शनी

शनिबार नेपाली महावाणिज्य दूतावासको संयोजनमा विभिन्न देशका कुटनीतिज्ञसहित ८० भन्दा बढी सहभागीहरुमाझ नेपाली थाङ्का, मिथिला पेन्टिङ, सिङ्गिङ बाउल, चिया, कफी लगायत प्रवर्द्धन गरिएको हो। नेपालमा सदियौं पुरानो कला संस्कृतिको अभ्यास अहिलेसम्म पनि चलिरहेको सन्देश दिन यस प्रकारको एक दिवसीय प्रदर्शनी गरिएको कन्सुलर कुञ्जन शाहले कान्तिपुरलाई बताए।

कार्यक्रममा सहभागी भएका चिनियाँ कलाकर्मीहरूले नेपालमा सिकेको सिङ्गिङ बाउलको प्रदर्शनी गरेका थिए। उनीहरूले नेपालमै सिकेर नेपालबाट सम्बन्धित कचौराहरू ल्याएकाले आम चिनियाँमा यो संस्कृति नेपालबाट भित्रिएको भन्ने अवधारणा छ।

वर्षभर संयोजन गर्नुपर्ने भनिएका लगानी, पर्यटन, संस्कृति लगायत प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरिएको महावाणिज्य दूतावासले जनाएको छ। कोभिड - १९ महामारीका कारण सबैजसो नेपाली विद्यार्थीहरू अझैसम्म नेपालबाट फर्किन पाएका छैनन्। सामान्यतय: चीनमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरूले नै नेपाली कला संस्कृतिको प्रवर्द्धन अन्तर्गत नाचगानमा साथ दिँदै आएका थिए।

प्रदर्शनीमा सहभागी भएका विदेशी कुटनीतिज्ञ तथा चिनियाँ सहभागीहरूले थाङ्का तिब्बती संस्कृति मात्रै होला भन्ने सोचेकोमा त्यो भ्रम चिरिएको कन्सुलर शाहले बताए। उनले भने, ‘सामान्यतया थाङ्का तिब्बती मात्रै हुन्छ होला भन्ने अवधारणामा परिवर्तन आएको छ भने धेरैले तिब्बती र नेपाली थाङ्काबारेको भिन्नता थाहा पाएका छन्। मिथिला आर्टबारे पनि थाहा पाएपछि उनीहरूलाई विशेष लागेको पाइयो।’

नेपालमा उत्पादित चियाले भर्खरै चिनियाँ बजारमा स्थान पाउन थालेको छ। हालै क्वाङ्तोङ प्रान्तमा रहेको लिटिल पापा नामक रेस्टुरेन्टले नेपाली चियाको सफलतापूर्वक आयात गरेको छ भने यसले बिस्तारै लोकप्रियता कमाउन थालेको छ। भविष्यमा पर्वतारोहणको सिजन सुरु हुन लागेकाले हिमाली पर्वत सम्बन्धी सम्मेलन गर्ने योजना रहेको पनि क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।


प्रकाशित : चैत्र ७, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?