बाइडेनसँग सीले भने : संघर्ष र टकराव कसैको पनि हितमा छैन- विश्व - कान्तिपुर समाचार

बाइडेनसँग सीले भने : संघर्ष र टकराव कसैको पनि हितमा छैन

'अन्तर्राष्ट्रिय शान्ति स्थापना अमेरिका र चीनको उत्तरदायित्व हो'
कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले संघर्ष र टकराव कसैको पनि हितमा नभएको बताएका छन् । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भिडियो कुराकानीमा सीले 'राष्ट्र-राष्ट्र बीचको सम्बन्ध सैन्य संघर्षमा जान नहुने' बताएका हुन् ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार बाइडेनसँगको कुराकानीमा सीले संघर्ष र टकरावले कसैको पनि हित नहुने बताएका हुन् । 'राष्ट्र-राष्ट्रको सम्बन्ध सैन्य संघर्षमा जान हुँदैन । संघर्ष र टकराव कसैको पनि हितमा छैन । शान्ति र सुरक्षा अन्तर्राष्ट्रिय समुदायको सबैभन्दा ठूलो गहना हो,' सीको भनाइ उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।

चिनियाँ राष्ट्रपति सीले शान्ति स्थापनाको उत्तरदायित्व अमेरिका र चीनको भएको पनि उल्लेख गरेका छन् । विश्वमा अहिले विभिन्न टकराव देखिइरहेको उल्लेख गर्दै सीले बाइडेनसँग भनेका छन्, 'अहिले विश्व न शान्तिपूर्ण छ न शान्त । युक्रेनमा जे संकट देखा परेको छ, त्यो हामीले हेर्न चाहेको कुरा होइन ।' संयुक्त राष्ट्र संघको स्थायी सदस्य भएकाले पनि अमेरिका-चीनले द्विदेशीय सम्बन्धलाई सही बाटोमा डोर्‍याउने मात्र नभएर अन्तर्राष्ट्रिय समुदायमा शान्ति स्थापनाका लागि पनि भूमिका खेल्नुपर्ने सीले बताएका छन् ।

सी र बाइडेनबीच करिब १ घण्टा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेन-रुस द्वन्द्व चर्किरहेका बेला विश्वका दुई शक्तिशाली राष्ट्रका राष्ट्रपतिबीच भएको कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकी अधिकारीहरूले चीनले रुसलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा 'पर्ख र हेर' रणनीति अपनाइरहेको र यसले पश्चिमसँगको सम्बन्धमा असर पर्ने बताइरहेका बेला सी र बाइडेनबीच कुराकानी भएको हो ।

यसैबीच मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले रुसी आक्रमण सुरु भएयता युक्रेनमा ८ सयभन्दा बढीको मृत्यु भएको जनाएको छ । धेरैजसो मृत्यु विस्फोटक हतियारका कारण भएको पनि कार्यालयले जनाएको छ । शुक्रबार कार्यालयले जनाएअनुसार १५२, पुरुष ११६ महिलाका साथै ३६ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४८९ जनाको भने लिंग नखुलेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र ४, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्

सांसद र विज्ञ भन्छन्- ‘समाजमा सती प्रथाका अवशेष बाँकी छन्’

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसद र विज्ञहरुले नेपाली समाजमा सती प्रथाका अवशेष बाँकी नै रहेको बताएका छन् । सुजित मैनालीको अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ माथि शुक्रबार काठमाडौं गरिएको 'सती संवाद' वक्ताहरुले समाजमा सति प्रथा हटे पनि अवशेष बाँकी रहेको धारणा राखेका हुन् ।

राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले छाउपडीको नाममा होस् वा तीज, ऋषिपञ्चमीमा पाप पखाल्नेजस्ता परम्परागत चलनमा सती प्रथाका बाछिटाहरु भएको बताइन् । उनले यस पुस्तकमा महिलाका मुद्दा धर्म, शक्ति, वर्ग, राजनीतिलगायत आयामबाट लेखकले जोडेको बताउँदै सती प्रथा सिद्धिए पनि समाजमा रहेको जात प्रथा, कमलरी, कमैया प्रथा अझै उन्मूलन हुन नसकेको बताइन् ।

१९७७ असार २५ गते चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए । श्रीमान्‌को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने सती प्रथा नेपालबाट उन्मूलन भएको १०० वर्ष पुगिसक्दा पनि श्रीमान्‌को मृत्यु भएका महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेको वक्ताहरु बताए । लेखक डा अरुणा उप्रेतीले भनिन्–‘सती प्रथा महिलाको अस्तित्वलाई नै पतन गर्ने गलत तथा अमानवीय प्रथा थियो । समाज परिवर्तन पनि भएको छ तर प्रथाले पारेका प्रभाव अझै समाजमा छन् ।’

नेकपा एमाले केन्द्रीय सदस्य एवं संघीय सांसद विद्या भट्टराईले यस पुस्तकमा सती प्रथाको इतिहास मात्र नदेखाइ विश्लेषण पनि गरिएको बताइन् ।

लेखक सुजित मैनालीले पुस्तकमा सती प्रथाको इतिहास र यसको लैंगिक पाटोसँग विवेचना गरेको बताए ।

प्रकाशित : चैत्र ४, २०७८ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×