कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
युक्रेन-रुस युद्ध

विस्फोटले तर्सिएका चिडियाघरका जनावरलाई सुई लगाएर लठ्याइन्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — होरेस नाम गरेको एसियाली हात्ती विस्फोटको आवाजले यति धेरै त्रसित भएको छ कि त्यसलाई लठ्याउन सुई लगाउन थालिएको छ । जेब्रालाई पनि भित्र थुनेर राखिएको छ । गोलीबारीको आवाज सुनेर भाग्न खोज्दा सीधै बारमा गएर ठोकिन थालेपछि भित्र थुन्नुको विकल्प किभको चिडियाघरका कामदारहरूसँग छैन ।

विस्फोटले तर्सिएका चिडियाघरका जनावरलाई सुई लगाएर लठ्याइन्छ

यस्तै माया नाम दिइएको लेमर (एक प्रजातिको बाँदर)ले त झन् डराएरै आफ्नो एक हप्ताको बच्चालाई त्यागिदिएपछि झन्डै‌ त्यसको मृत्यु नै भएको थियो ।

विश्वका अधिकांश स्थानका चिडियाघरमा युद्धका कारण धेरै नोक्सानी पुग्छ । युद्धले मान्छे मात्रै होइन जनावरलाई पनि आफ्नो चपेटामा लिन्छ । अहिले किभको चिडियाघरलाई पनि युद्धले छोएको छ । रुसी सेनाहरु राजधानी किभ कब्जा गर्नका लागि अगाडि बढिरहँदा सैन्य क्षेत्र नजिकै रहेको चिडियाघरलाई प्रभाव नपर्ने कुरै भएन ।

द्वन्द्व बढ्दै जाँदा जनावरहरुले पनि तनावको संकेत देखाउन थालेका छन् । हवाई हमला हुँदा बज्ने साइरनको कर्कश ध्वनि र विस्फोटको मुटु कमाउने गुञ्जन दिनभर नै सुनिन्छ । रातभर पनि बन्दुक पड्किएको आवाज बन्द हुँदैन ।

भयावह अवस्थाको आकलन गर्दै आफ्ना परिवारसहित ५० जना कर्मचारी विशाल तर अस्तव्यस्त चिडियाघरभित्रै आश्रय लिइरहेका छन्। उनीहरुसँगै रहेका ३० जना जति परिवारका सदस्यसँग मिलेर २४ सै घण्टा जनावरको रेखदेखमा खटिनु दिनचर्या बनेको छ ।

हवाई आक्रमणको साइरन बज्दा उनीहरु चिडियाघरमा बनाइएको सुरक्षित स्थानतर्फ दौडिन्छन् । एउटा सेल्टर चराहरु राख्न बनाइएको पिँजडाभित्र छ भने अर्को अर्धनिर्मित एक्वेरिममा छ । तर, हात्ती र जिराफ जस्ता भीमकाय जनावरलाई भने जमिनमुनिको सेल्टरमा राख्न असम्भव छ ।

'उनीहरुसँग भाग्न वा लुक्नका लागि स्थान नै छैन,' चिडियाघरका निर्देशक ४९ वर्षीय किर्लो टार्टिनले भने, 'तिनलाई चिडियाघरबाट बाहिर निस्कन पनि मान्छेभन्दा थोरै मात्र विकल्प छन् । त्यो भनेर ट्यांकहरु गुडिरहने सकड नै हो ।'

यस्तै युक्रेनको पूर्वी सहर खार्किभस्थित 'द फ्लेडम्यान इकोपार्क जु'का अनुसार केही समयअघिको गोलाबारीमा त्यहाँ पनि केही क्षति पुगेको छ । 'केही जनावरहरु घाइते भएका छन् । केही मारिए पनि,' चिडियाघरले फेसबुकमा लेखेको छ, 'अहिले पनि यो क्षेत्रमा युद्ध जारी छ । त्यसैले यो नै अन्तिम क्षतिको विवरण होइन ।'

किभको चिडियाघरका लागि यो कुनै दुःस्वप्नभन्दा कम छैन । किभ बाहिर रहेका केही साना चिडियाघर र सेल्टरहरुले जनावरहरुलाई पोल्याण्डमा स्थानान्तरण गरेका छन् । त्यसमा केही दर्जन सिंह र बाघहरु पनि छन् । तर टार्टिनका अनुसार ठूला जनावरहरुलाई शान्तिको समयमा त एक ठाउँबाट अर्कोमा लान चुनौतीपूर्ण हुन्छ युद्धको समयमा त त्यसको कल्पनासम्म पनि गर्न सकिन्न ।

त्यसको साटोमा युद्ध र गोलाबारुदको आतंक भोगिरहेको इजरायलस्थित हाइफाको चिडियाघरको निर्देशकसँग सल्लाह गरेर टार्टिनले जनावर र रेखदेखमा खटिने कर्मचारीलाई आवश्यक खानेकुराको जोरजाम गरेका थिए । युद्धको आकलन गरेर नै उनले तारबारलाई पनि दुरुस्त बनाएका थिए । जुन अहिले केही हदसम्म फलदायी देखिएको छ ।

चिडियाघरका कर्मचारीहरुले केही जनावरहरुलाई गोलाबारीबाट जोगाउन भित्र सेल्टरमा राखिरहेका छन् । तर, होरेस भने आफ्ना लामा कानले टाढा-टाढा पड्किने बमको आवाज पनि सजिलै सुन्न सक्छ र तर्सिन्छ । त्यसैले १७ वर्षीय वयस्क हात्तिलाई ढाडस दिन एक कर्मचारी रातमा नजिकै सुत्ने गरेका छन् । जब राति हात्ती तर्सिन्छ त्यसलाई स्याउ खान दिइन्छ र घण्टौं कुरा गरिन्छ जबसम्म त्यो शान्त हुँदैन । 'अहिले त रकेट वा बम नजिकै विस्फोट भए त्यसलाई कसरी शान्त बनाउने भनेर साथीहरुले जानिसकेका छन्,' टार्टिनले भने ।

चिडियाघरमा अहिले दुई सातालाई पुग्ने खानेकुरा छ । तर दिनको लभगभ १०० किलोसम्म खानेकुरा खाने हात्ती जस्तो जनावरलाई लिएर भने चिडियाघरका कर्मचारी चिन्तित छन् । खानेकुराको व्यवस्था गर्न नसकिएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय नै उनीहरुको ठूलो टाउको दुखाइ भएको छ । तर उनीहरुले आशा भने छोडेका छैनन् ।

कुनैबेला रोटेपिङ चढ्दाको बच्चाहरुको रोमाञ्चित आवाज सुनिने चिडियाघर अहिले समसान जस्तै शान्त छ । बेलाबेला सुनिने कागको कर्कश आवाज र त्रसित जनावरको क्रन्दनले त्यो शान्तिलाई भंग गरिदिन्छ ।

चिडियाघरमा काम गरिरहेका केही कर्मचारीहरुले युद्धमा लड्न बन्दुक बोके पनि केहीले भने त्यसो गरेनन् । चिडियाघरमा जनावरको रेखदेखमा खटिएकामध्ये एकका अनुसार युद्धको समयमा जनावरहरुलाई जीवित राख्नु पनि युद्धमा होमिनुभन्दा कम छैन ।

-एजेन्सीहरुको सहयोगमा

प्रकाशित : फाल्गुन २३, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?