कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युक्रेनका १३ नेपाली एक हप्ताको पैदलपछि फ्रान्समा

ददी सापकोटा

काठमाडौँ — रामेछापका विष्णु पाण्डेका गोडाभरि ठेला छन् । अनुहार थकित छ । करिब एक हप्ताको हिँडाइले शरीर लखतरान छ । त्योभन्दा बढी रसिया र युक्रेनबीचको युद्धबाट भाग्दा सुनेका गोलीका आवाज कानमा गुन्जिरहन्छन् । आँखैअगाडि देखेको गोलाबारी र बारुदको धुवाँ सम्झिँदा अहिले पनि छिनछिनमा झस्किन्छन् उनी । 

युक्रेनका १३ नेपाली एक हप्ताको पैदलपछि फ्रान्समा

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि राजधानी किभ जोड्ने सबै राजमार्ग बन्द हुँदा विष्णु पाण्डे आफ्ना ११ जना साथीहरूसँगै किभमै थुनिए । नजिकै गोली र रकेट पड्किन थालेपछि मान्छेको भागाभाग सुरु भयो । किभबाट मानिसहरू बाहिरिन थाले । झिटिझाम्टा बोकेर सबै बाहिरिन थालेपछि उनीहरू पनि आँत्तिए ।

युद्ध सुरु भएको दुई/तीन दिनमै बाहिरिन खोज्दा उनीहरूले बस पाएनन् । सार्वजनिक बस र रेलहरूसमेत बन्द भएपछि जनही एक हजार रिभ्निया (युक्रेनको मुद्रा) तिरेर उनीहरूले एउटा ट्याक्सी लिएका थिए । तर‚ ट्याक्सीले बिच बाटोमै छाडिदिएपछि करिब एक साता पैदल हिँडेरै युक्रेनसित सीमा जोडिएको मुलुक पोल्यान्ड पुगे ।

‘यता पड्किन्छ, उता आगोको तप्काजस्तो सुइय्य सुइय्य गर्छ । अब बस्नुहुन्न भन्ने भयो । ट्याक्सीले पैसो असुलेर बिच बाटोमै छाडेर हिँड्यो । रेल र बस नपाएपछि हामी भोकभोकै, एक रात पनि नसुती हिँड्यौं । पोल्यान्डको सिमामा आयौँ‚’ विष्णु पाण्डेले सुनाए ।

पाण्डे र उनका साथीहरू विद्यार्थी भिसामा युक्रेन पुगेको एक महिनामात्रै भएको थियो । नौलो ठाउँ । नयाँ भाषा । उनीहरू त्यहाँको पद्धति पनि भर्खर बुझ्दै थिए । युद्ध सुरु भएपछि भाषा नजानेकाले पनि उनीहरू केहि दिन अलमलमा परे । केहि नेपालीहरूलाई इन्टरनेटबाट सम्पर्क गरेर सूचना त लिए तर सीमासम्म आउने कुनै माध्यम फेला परेन । त्यसैले कोठाका सबै सामान मिल्काएर उनीहरू पैदल हिँड्ने निर्णयमा पुगे ।

तापक्रम शून्यबाट पनि झरेर पाँच डिग्री पुगेको थियो । धेरै दिन हिँड्नुपर्छ भनेर उनीहरूले लुगाफाटो पनि बोकेका थिएनन् । करिब एक साता उनीहरू त्यो ठन्डीमै रातदिन हिँडे । बाटोमा किनेर खाने पसल पनि भेटिएन । जताततै मानिसहरू भागदौड गरेको, टाटेपाटे पोसाकका सैनिकहरू मात्रै देखिन्थे ।

‘पाँच दिनसम्म त केहि खान‚ पिउन समेत पाइएन । धेरै भोक लागेपछि मान्छे त पागल जस्तो, कताकता मात लागेको जस्तो हुने रहेछ । हामीलाई त्यस्तै भयो‚’ पाण्डेले भने ।

पोल्यान्डको सीमा क्षेत्रमा आएपछि पनि सीमा पार गर्न दुई दिन त लाइनमै बस्नुपरेको थियो । दैनिक हजारौं मानिस बाहिरिन लागेकाले सीमामा कडा नियन्त्रण र जाँचबुझ हुन्थ्यो । पासपोर्टमा स्ट्याम्प लगाउन र दर्ता गरेर बाहिर निस्किने ठाउँमा दुई-तीन दिन कुर्नुपर्थ्यो ।

सीमा क्षेत्रमै असुरक्षा थियो ।त्यहाँबाट छिटो बाहिर निस्किन आफूभन्दा अगाडिका मान्छेलाई लठ्याउने सुई हानेर ढालिदिने र आफू अगाडि बढ्नेसम्मको क्रियाकलप हुने गरेको अनुभव विष्णुको छ । आइतबार नेपाली सांस्कृतिक गृहले आयोजना गरेको होली मनाउने कार्यक्रममा विष्णुको टोली पुगेको थियो ।

‘केहि आप्रवासीहरूले त आफू अगाडिका मान्छेलाई सुई हानिदिने रहेछन् । अगाडिका केहि मान्छेलाई ढालिदिएपछि आफ्नो पालो छिटो आउँछ भनेर त्यस्तोसम्म गरेको देखियो‚’ उनले भने ।

शून्यबाट पनि तल झरेको कठ्यांग्रिने ठाउँमा विष्णु चप्पलकै भरमा थिए । सीमा क्षेत्रमा केहि आप्रवासीले उनको जुत्ता चोरिदिएपछि उनी कसैले दिएको चप्पलकै भरमा हिँडिरहेका थिए । सीमा क्षेत्रमा अत्यधिक भीड भएकाले जुत्ता‚ चप्पल र झोलासमेत चोरी हुने गरेकाले धेरैको बिजोग भएको उनी आफैंले देखे । मनिसहरूको रुवाबासी उस्तै देखिन्थ्यो ।

‘सा-साना बालबालिका च्यापेर समेत मान्छे रोएको, छट्पटाएको, भोगले रोएको देख्दा अहिले पनि दिकदार लाग्छ । मान्छेले कति दुःख झेल्नुपर्दो रहेछ भन्ने कुरा थाहा भयो । नसुनेको दुःख र पीडा देखियो‚’ कान्तिपुरसँग उनले भने ।

पोल्यान्डको सीमा क्षेत्रमा आएपछि उनीहरूको टोलीलाई पोल्यान्ड सरकारले ४५ दिनको स्ट्याम्प लगाइदिएको छ । पोल्यान्डको सीमा क्षेत्रमा दुई रात उद्धार केन्द्रमा बसेर उनीहरू जर्मनीस्थित नेपाली दूतावसको सम्पर्कमा पुगेका थिए । त्यसपछि नेपालीबाट जानकारी लिएर पेरिस फर्किएका हुन् ।

‘नेपाल फर्किऊँ आएको एक महिनामात्रै भएको छ । उता पढ्न आएको लाखौं ऋण बाँकी छ । यता पढाइ नहुने भयो, उता ऋणको भारी छ । नेपाल भर्खरै फर्किएर त्यो ऋण तिर्न सक्ने अवस्था छैन‚’ उनले विद्यार्थीहरूको बाध्यता सुनाए ।

अब उनीहरूको योजना पोर्चुगल जाने छ । पोर्चुगल गए कृषिको काम पाइन्छ र आवासीय भिसा पनि सजिलो हुन्छ भन्ने जानकारी पाएपछि उनीहरूले पोर्चुगल जाने मनसाय बनाएका हुन् ।

'नेपाल गएर के गर्ने ? त्यत्रो ऋण कसरी तिर्ने ? बाँचेर आइयो; अब पोर्चुगल गएर सकेको काम गर्ने हो । पढ्न नपाए पनि कागज बनाएर ऋण त तिर्नुपर्‍यो‚’ विष्णु पाण्डेले भने ।

पेरिसमा उनीहरूलाई पेरिसबासी हेमन्त उपाध्यायले केहि दिनका लागि बास र अन्य सहयोगको जोहो गरिदिएका छन् । उपाध्यायले आइतबार मात्रै १३ नेपाली पेरिस आइपुगेको र उनीहरू नेपाल नफर्किने‚ बरु अन्य कुनै युरोपेली मुलुकतिर जान खोजेको उनले कान्तिपुरलाई बताए ।

युक्रेन र पोल्यान्डको सीमा क्षेत्रमा अन्य नेपालीहरू पनि अड्किएको पाण्डेले बताए । युक्रेनका डेढ सयभन्दा बढी नेपाली फ्रान्स छिरेका छन् । कोहि अझै युक्रेन र पोल्यान्डको सीमामै छन् । पाण्डेको टोली पोल्यान्डबाट जर्मनीतिर प्रवेश गर्दा पनि केहि नेपाली सीमामै देखिएका थिए ।

‘बम पड्केको, रकेट झरेको, मान्छेको रुवाबासी र भागाभाग । त्यस्तो आपतबाट कसरी ज्यान जोगाएर यहाँ सुरक्षित आइयो भन्ने सम्झिँदा पनि पत्यार लाग्दैन । त्यो सम्झियो कि अहिले पनि आँसु झर्छ‚’ उनले सुनाए ।

प्रकाशित : फाल्गुन २३, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?