कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसले आक्रमण सुरु गरेयता करिब १५ लाखले युक्रेन छोडे : आईओएम

एजेन्सी

काठमाडौँ — रुसले युक्रेनमा आक्रमण सुरु गरेयता करिब १५ लाख मानिसले युक्रेन छोडिसकेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले जनाएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको आप्रवासी संगठनका अनुसार विगत ९ दिनमा युरोपमा यति धेरै संख्यामा मानिस विस्थापित भएको दोस्रो विश्वयुद्ध पछिकै उच्च हो ।

रुसले आक्रमण सुरु गरेयता करिब १५ लाखले युक्रेन छोडे : आईओएम

रुसको हमलाबाट जोगिन ठूलो संख्यामा युक्रेनियनहरु युरोपेली संघका सदस्य राष्ट्रहरु पोल्यान्ड, रोमानिया, हंगेरी तथा स्लोभाकियातर्फ गइरहेका छन् । आधाभन्दा बढी शरणार्थीहरु सीमा पार गरेर पोल्यान्ड पुगेका छन् । पोल्यान्डको सीमा नियन्त्रण गर्ने संस्था अनुसार शनिबारसम्म ८ लाख २७ हजार ६ सय व्यक्तिले सीमा पार गरिसकेका छन् । रुसको आक्रमणका कारण सन् २०१५ को पूरा वर्षभन्दा धेरै व्यक्ति केही दिनमै शरण खोज्दै यूरोपका मुलुकमा प्रवेश गरेका छन् । त्यसबेला वर्षदिनमा खासगरी मध्यपूर्व र अन्यत्र गरी करिब १३ लाख मानिस शरणको खोजीमा युरोप प्रवेश गरेका थिए ।

युरोपका रेल सञ्चालकहरुले युक्रेनी नागरिक भएको कागजपत्र बोकेकाहरुलाई नि:शुल्क यात्राको व्यवस्था गरेका छन् । युरोपेली संघले गत बिहीबार युक्रेनी नागरिकहरूलाई अस्थायी बसोबास अनुमति दिइने बताइसकेको छ । जसकाकारण उनीहरुले शरणका लागि निवेदन दिनुपर्ने छैन ।

पोल्यान्डले सुरुदेखि नै स्वतन्त्र युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेको छ । पोलिस प्रधानमन्त्री मातेयुज् मोराविकीले रुसले आक्रमणले तयारी गरेसँगै युक्रेनलाई मानवीय र सैन्य सहायता उपलब्ध गराउँदै आएका छन् । यससँगै युक्रेनसँग सीमा जोडिएका अन्य देशले पनि शरणार्थीहरुको सहायताका लागि स्रोत परिचालन गरिरहेका छन् ।

जर्मनीले २०१५-१६ मा सिरियाली शरणार्थीहरुका लागि तयार पारेको शिविरलाई पुनः सञ्चालनमा ल्याएको छ । सिरियाली शरणार्थीको समस्या चुलिएको बेलामा भने पोल्यान्ड र हंगेरी लगायतका मुलुकले सीमा प्रवेशमा कडाइ गरेका थिए । तर, अहिलेको मानवीय संकटमा भने युरोपेली संघको सदस्या बन्न आतुर छिमेकी राष्ट्रका नागरिकका लागि भने उनीहरुले ढोका खुला गरेका छन् ।

पोल्यान्डको सीमावर्ती क्षेत्रमा सयौं स्वयंसेवकहरु विस्थापितहरुको सहायताका लागि खटिएका छन् । उनीहरुले युक्रनीहरुलाई तातो कपडा, खानाका साथै मोबाइल फोन र सीमकार्ड उपलब्ध गराएर अन्य सहरमा जानका लागि सहयोग गरिरहेका छन् । युक्रेन र रुसबीच २०१४ मा नै सुरु भएको द्वन्द्वका कारण १० देखि २० लाख युक्रेनी यस अघिदेखि नै पोल्यान्डमा बसोबास गर्दै आइरहेका छन् ।

प्रकाशित : फाल्गुन २२, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?