१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बेइजिङमा सीपीसीको अधिवेशन जारी, प्रधानमन्त्री ली खछ्याङको कार्यप्रतिवेदन 

लक्ष्मी लम्साल

बेइजिङ — चीनले खुला तथा ठूलो चिनियाँ बजारबाट विश्वका विभिन्न मुलुकका उद्यमहरूको लागि बढी मौका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बेइजिङमा शनिबारबाट सुरू भएको तेह्रौँ राष्ट्रिय जनकांग्रेसको पाँचौँ सम्मेलनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले यस्तो विषय औंल्याएका हुन्।

बेइजिङमा सीपीसीको अधिवेशन जारी, प्रधानमन्त्री ली खछ्याङको कार्यप्रतिवेदन 

कोभिड १९ महामारी सुरू भएयता २ वर्षदेखि बन्द रहेको चीनले बाह्य मुलुकका उद्यमहरूका लागि चिनियाँ बजार कसरी खुल्ला गर्ने भन्ने विषय निकै चासोको साथ हेरिएको छ। अर्थशास्त्रीहरूका अनुसार चीनको यो प्रतिवद्धताले महामारीप्रति कठोर रबैया कायम राख्दै अन्तर्राष्ट्रिय व्यापारको ढोका खोल्न सक्ने अपेक्षा छ।

सन् २०२२ को वैदेशिक कूटनीतिमा चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को उच्च गुणस्तरीय सहकार्य बढाउँदै ग्लोबल डेभलपमेन्ट इनिसियटिभलाई पछ्याउने जनाएको छ।

प्रधानमन्त्री लीले विदेशी लगानीको परिधिको विस्तार गर्न प्रोत्साहन गर्दै मझौला र उच्चस्तरीय उत्पादन, अनुसन्धान तथा विकास एवम् आधुनिक सेवा क्षेत्र एवम् चीनको मध्य, पश्चिमी र उत्तर पूर्वी भागमा विदेशी लगानी थप्न समर्थन गरिने बताए। स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्र, हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण, विकास क्षेत्रको सुधार तथा नवीकरणको प्रवर्द्धन गरिने कुरा पनि प्रतिवेदनमा उठाइएको छ।

चीनले सन् २०२२ मा कूल गार्हस्थ उत्पादन ५.५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको छ भने १ करोड १० लाखभन्दा बढी नयाँ सहरी रोजगारी थपेर सहरी बेरोजगारी दर घटाउने र उपभोग्य मूल्य लगभग ३ प्रतिशत वृद्धि हुने पनि प्रक्षेपण गरेको छ। आयात निर्यातमा स्थिरता र गुणस्तर सुधारमा ध्यान दिने बताउँदै खाद्यान्न उत्पादन मात्रा ६ खर्ब ५० अर्ब केजीभन्दा बढी कायम राख्ने पनि प्रधानमन्त्री लीले बताए। दीर्घकालीन वृद्धिलाई कायम राख्नका लागि आधारभूत रुपमा चिनियाँ अर्थतन्त्र अपरिवर्तित राख्ने कुरामा चीन दृढ देखिएको छ।

चीन सरकारको कार्य प्रतिवेदनमा ताइवान स्वतन्त्रताको कडाइका साथ विरोध गर्दै बाह्य शक्तिको हस्तक्षेपको प्रतिवाद गरिने अडान प्रकट गरिएको छ। ताइवानसम्बन्धी नीतिको पालना गर्दै नयाँ युगमा ताइवान मामिला समाधानको लागि एक चीनको नीतिको पालना गरिने पनि चीनले जनाएको छ।

यसैबीच जन्मदर निराशाजनक रहेको स्थितिमा चीनले तीन सन्तान नीतिलाई अझै सुधार गर्ने अठोट व्यक्त गरेको छ। कोभिड १९ महामारी नियन्त्रणका लागि देशभित्र र बाह्य दुनियाँका लागि आफ्नो प्रयास निरन्तर राख्ने बताएको चीनले भाइरसको भेरियन्टबाट सुरक्षा तथा अध्ययनलाई कायम राख्दै भ्याक्सिन तथा औषधि सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन गर्दै जाने बताएको छ। यस्तै गरिबी निवारणको उपलब्धिलाई मजबुत बनाउँदै जाने बताएको छ।

प्रधानमन्त्री लीको कार्य प्रतिवेदनमा कार्बन उत्सर्जन, महिला तथा बालबालिका ओसारपसार, समान तथा गुणस्तरीय शिक्षालगायतका विषय पनि समेटिएका छन्।

यसअघि ग्रेट हल अफ द पिपुल्समा तेह्रौं चिनियाँ राष्ट्रिय जनराजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं पूर्ण बैठक चलिरहेको छ। ४ देखि सुरू भएको यो सम्मेलनमा विभिन्न पेसा व्यवसायबाट छनोट भएका प्रतिनिधिहरूले सुझाव प्रस्तुत गर्ने गर्दछन्। यो सम्मेलन मार्च १० तारिख समापन हुनेछ। आइतबारबाट सुरू भएको जनकांग्रेसको सम्मेलन ११ तारिख समापन हुने कार्यक्रम छ।

प्रकाशित : फाल्गुन २१, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?