दोस्रो कार्यकालका लागि उठ्दै फ्रान्सेली राष्ट्रपति म्याक्रों- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो कार्यकालका लागि उठ्दै फ्रान्सेली राष्ट्रपति म्याक्रों

ददि सापकोटा

पेरिस — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय दैनिक प्रेसको वेबसाइटहरूमा प्रकाशित गरेर उनले बिहीबार उम्मेदवारी घोषणा गरेका हुन् । 

देशले अभूतपूर्व गतिको उथलपुथल अनुभव गरिरहेको, देशमा लोकतन्त्रका लागि खतरा उत्पन्न भएको, बढ्दो असमानताहरू देखा परेको, जलवायु परिवर्तन, जनसांख्यिकीय संक्रमण, प्राविधिक परिवर्तनहरू देखिएकाले तिनलाई समाधान गर्न कुनै गल्ती नगरी अगाडि बढ्नुपर्ने र आफूले ती चुनौतीहरूलाई पछि नहटी सफल बनाउने उल्लेख गरेका छन् ।

'हामी झूटको खेती गरेर जवाफ दिने छैनौं । यो नम्रता र स्पष्टताका साथ वर्तमानलाई हेरेर, हाम्रो साहस, हाम्रो इच्छा र भविष्यका लागि काम गरेर हामी सफल हुनेछौं,' म्याक्रोंले उल्लेख गरेका छन् । आफ्नो राष्ट्रपतीय निर्वाचनको पहिलो प्राथमिकतामा उनले बालबालिकाहरुलाई राखेका छन् । 'चुनौती भनेको हाम्रा बालबालिकाको फ्रान्स निर्माण गर्नु हो, हाम्रो बाल्यकालको फ्रान्सलाई दोहोर्‍याउने होइन,' उनको चुनावी घोषणामा छ, 'यसैले म गणतन्त्रको राष्ट्रपतिको रूपमा नयाँ जनादेशका लागि तपाईंहरुको विश्वासको मत मागिरहेको छु ।'

उनले बेरोजगारी पन्ध्र वर्षयताकै न्यून स्तरमा पुगेको भन्दै अस्पताल र अनुसन्धानका साथै कानून कार्यान्वयनमा पनि लगानी गरिएको बताए । उनले कर घटाउने आफ्नो निर्णयको पनि बचाउ गरेका छन् । 'हामी आफ्नो अडानमा उभियौं र कहिल्यै हार मानेनौं,' उनले आफ्नो नेतृत्वको रक्षा गर्दै लेखेका छन् ।

म्याक्रोंले कोरोना महामारी, युरोपमा आतंकवादी हमला र पछिल्लो युद्धलाई उद्धृत गर्दै फ्रान्सले विगत पाँच वर्षमा विरलै मात्रै यस्तो सङ्कटको सामना गरेको उल्लेख गरेका छन् । उनले शताब्दीकै फ्रान्सेली र युरोपेली चुनौतीहरूको समाधानका लागि एक अद्वितीय उम्मेदवार बन्न खोजेको समेत बताए ।

फ्रान्सको संविधान नुसार पहिलो चरणमा छानिएका उम्मेदवारहरुमध्ये पहिलो र दोस्रो हुने दोस्रो चरणको मतदानमा सामेल हुनेछन् । पहिलो चरणकै निर्वाचनमा जसले ५० प्रतिशत मत कटाउँछ ऊनै फ्रान्सको राष्ट्रपति निर्वाचित हुने छ र २४ अप्रिलमा हुने दोस्रो चरणको मतदान हुने छैन ।

राष्ट्रपतिले दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी दिने सर्वत्र अनुमान गरिए पनि उनले आफ्नो उम्मेदवारीका लागि अन्तिम क्षणसम्म पर्खिएका थिए । शुक्रबार साँझसम्म उम्मेदवारी घोषणा गर्ने अन्तिम समयसीमा तोकिएको छ ।

फ्रान्समा राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको निर्वाचन अप्रिल १० र दोस्रो चरणको निर्वाचन अप्रिल २४ तोकिएको छ । उम्मेदवारी घोषणा गर्दा समेत पर्चा र पम्प्लेट, झण्डा र ब्यानरहरुको प्रचारप्रसारमासमेत उनी उपस्थित थिएनन् । रुस-युक्रेन युद्धका कारण व्यस्त रहेकाले कार्यकर्ताहरुले उनको समर्थनमा कार्यक्रम गरेका थिए । राष्टपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने म्याक्रों अन्तिम अर्थात् ११ औं व्यक्ति हुन् ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेदेखि उनका समर्थकहरुको संख्या बढिरहेको सर्वेक्षणहरुले देखाएका छन् । उनी अन्य १० उम्मेदवारहरु भन्दा १० अंकले अगाडि देखाएको बिहीबार फ्रान्सेली मिडियाहरूले उल्लेख गरेका छन् । सर्वेक्षणअनुसार द्वन्द्वको सुरुवातदेखि नै म्याक्रोंको कार्यलाई बहुमत फ्रान्सेली जनताले अनुमोदन गरेका छन् ।

रुस-युक्रेन संकट सुरु हुनुअघि पनि उनको मत आफ्ना विपक्षीको तुलनामा सर्वेक्षणमा उच्च देखिएको थियो । कोभिड-१९ महामारीको व्यवस्थापन र उनले लिएको नीतिको सामान्यतया फ्रान्सेलीहरूले स्वागत गरेका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

सीमामै रोकिए कोभिड प्रतिबन्धविरूद्ध ब्रसेल्स हिँडेका प्रदर्शनकारी

ददि सापकोटा

काठमाडौँ — बेल्जियमको राजधानी ब्रसेल्समा प्रदर्शन गर्न भन्दै हिँडेका प्रदर्शनकारीहरूलाई प्रहरीले फ्रान्सको सीमामै रोकेको छ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि देशभर लगाएको प्रतिबन्ध र कोभिडविरुद्धको खोपविरुद्ध प्रदर्शन गर्न बेल्जियमको राजधानी ब्रसेल्समा प्रदर्शनका लागि जाँदै गर्दा उनीहरूलाई सोमबार फ्रान्सको सीमामै रोकिएको हो ।

कोभिड-१९ लाई मध्यनजर गर्दै क्यानडाले लगाएको प्रतिबन्ध र अनिवार्य खोप लगाउनुपर्ने नियमका कारण केहि समययता क्यानडाका ट्रक चालकहरूले सरकारको विरोध गर्दै आएको र त्यहि शैलीमा विरोध गर्न ब्रसेल्सका लागि हिँडेका सयौं कार, क्याम्परभ्यान्स र ट्रकलाई प्रहरीले फ्रान्सेली सीमामै रोकिदिएका हुन् ।

पेरिसमा ट्रक ड्राइभरहरूले प्रदर्शन गरेको देख्नासाथ बेल्जियमका अधिकारीहरूले प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए ।

फ्रान्सेली प्रहरीका अनुसार बेल्जियम प्रवेश गर्नका लागि फ्रान्सबाट करिब एक हजार तीन सय सवारी साधन आइतबार फ्रान्सेली सीमावर्ती सहर लिल नजिक पुगेका थिए ।

फ्रान्सेली झन्डा बोकेका प्रदर्शनकारीहरू लिल नजिकै पार्किङ स्थलमा क्याम्प लगाएर बसेका थिए । बेल्जियम प्रवेश गर्न लागेका उनीहरूलाई प्रहरीले रोकिदिएपछि प्रदर्शनकारीहरूले ‘हामी हार मान्ने छैनौं’‚ ‘स्वतन्त्रता चाहिन्छ, स्वतन्त्रता गुम्न दिँदैनौं’ लगायत नारा लगाएका थिए ।

‘हामीलाई रोक्ने प्रयास गरे पनि जसर भए पनि हामी ब्रसेल्स जान्छौं । स्थायी नियन्त्रणको यो नीतिविरूद्ध लड्न पनि हामी गएरै छाड्छौं‚’ आन्दोलनकारीको भनाइलाई उद्धृत गर्दै फ्रान्सेली मिडियाहरूले उल्लेख गरेका छन् ।

यहि सप्ताहन्तमा हजारौं प्रदर्शनकारीहरूले फ्रान्सेली राजधानीमा स्वास्थ्य प्रतिबन्ध र खोप पासविरुद्ध राजधानीलाई नाकाबन्दी गर्ने प्रयास गरेपछि प्रधानमन्त्री जँ कास्टेक्सले शहरलाई नाकाबन्दी गर्ने गरी प्रदर्शन गर्न नपाइने भन्दै प्रतिबन्धको घोषणा गरेका थिए ।

फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोन नेतृत्वको सरकारले रेस्टुरेन्ट, क्याफे र अन्य सार्वजनिक स्थानहरूमा प्रवेश गर्न ‘भ्याक्सिन पास’ हुनुपर्ने नियम बनाइदिएपछि खोपविरोधी प्रदर्शनकारीहरूले त्यसविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

बेल्जियमका अधिकारीहरूले राजधानीमा ‘मोटराइज्ड’ गाडीहरू लिएर गरिने सबै प्रदर्शनहरूलाई प्रतिबन्ध लगाएका छन् । उनीहरूले राजधानी ब्रसेल्स युरोपेली राजधानीसमेत भएकाले उक्त क्षेत्रलाई अवरुद्ध हुनबाट रोक्नका लागि कदम चालेको बताएका छन् ।

ब्रसेल्स प्रहरीले सामाजिक सञ्जालमार्फत सबै नागरिकलाई कार वा सार्वजनिक यातायातबाट यात्रा गर्न सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय उच्च अदालत रहेको नेदरल्यान्ड्सको शहर द हेगमा आयोजना गरिएको यस्तै प्रदर्शनमा सहभागी केहीले बेल्जियम जाने आफ्नो मनशाय रहेको घोषणा गरेपछि बेल्जियमको प्रहरीले नेदरल्यान्ड्स र बेल्जियमको सीमामा पनि थप कडाइ गरेको छ ।

बेल्जियमको प्रहरीले सीमामा सवारी चेक गर्ने योजना बनाइएको भन्दै प्रतिबन्धको बाबजुद सवारी साधन राजधानी आएमा अन्यत्रै डाइभर्ट गरिने चेतावनी दिएको छ ।

ब्रसेल्स विमानस्थलका अधिकारीहरूले आफ्ना यात्रुहरूलाई सावधानी अपनाउन र सडक अवरुद्ध हुन सक्ने भन्दै रेलबाट यात्रा गर्न सुझाव दिएको छ ।

फ्रान्सेली प्रहरीले पेरिसमा करिब एक सय ट्रकवाहकहरूले नाराबाजी गर्ने र सडक अवरुद्ध पार्न थालेपछि तिनलाई तितरबितर पार्न शुक्रबार साँझ केहि राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७८ १७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×