कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

युक्रेनी बन्दरगाह सहर रुसको नियन्त्रणमा

रूसले युद्ध अपराध गरेको भन्दै अनुसन्धान सुरू
किभ हिँडेका रूसी सेना पानी र खानेकुराको अभावमा रोकिए
एजेन्सीहरु

किभ — युक्रेनमा आक्रमण थालेको आठौं दिनमा रुसले प्रमुख सहर खेर्सन पूर्णरूपमा नियन्त्रणमा लिएको छ ।

युक्रेनी बन्दरगाह सहर रुसको नियन्त्रणमा

कृष्ण सागरस्थित बन्दरगाह सहर खेर्सन युक्रेनको प्रमुख प्रशासनिक तथा आर्थिक केन्द्र हो । पानीजहाज निर्माण कम्पनीहरू रहेको सहरमाथिको नियन्त्रण रुसका लागि निकै महत्त्वपूर्ण ठानिएको छ । यो रुसी फौजले आक्रमण थालेयताकै ठूलो सफलता हो ।

खेर्सनका मेयर इगोर कोलिखैएभले सहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको जनाउँदै सर्वसाधारणलाई ‘सशस्त्र पर्यटक’ को निर्देशन पालना गर्न आग्रह गरेका छन् । कोलिखैएभले ‘आफूहरूमाथि आक्रमण नगर्न रुसी फौजलाई आग्रह गर्न सर्वसाधारणलाई भनेको’ बताएका छन् । ‘मैले उनीहरूसँग केही वाचा गरेको छैन,’ उनले भने, ‘सर्वसाधारणमाथि गोली प्रहार नगर्न मात्र भनेको छु ।’

खेर्सन नियन्त्रणमा लिएसँगै रुसी फौजले क्राइमियासम्म नहरमार्फत पानी आपूर्ति गर्न सहज भएको छ । त्यस्तै, अर्को बन्दरगाह सहर मरिउपोललाई पनि नियन्त्रणमा लिन रुसी सेनाले चारैतर्फबाट घेरेर आक्रमण तीव्र पारेका छन् । रुसी फौजले आवासीय क्षेत्रमा विद्युत् र खानेपानी आपूर्ति बन्द गरिदिएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘त्यहाँ दुई दिनदेखि बिजुली र पानी केही छैन । हामीसँग अब खानका लागि पनि खासै केही छैन,’ एक आवासीय भवनमा लुकेर ज्यान जोगाइरहेका २७ वर्षीय म्याक्सिमले भने, ‘मरिउपोलमा खाना र औषधि आएको छैन ।’ करिब ४ लाख जनसंख्या भएको मरिउपोलमाथि नियन्त्रण कायम गरेको खण्डमा रुसले पूर्वी युक्रेन र क्राइमियाबीच सिधा सम्पर्क कायम गर्न सक्छ ।

तेस्रो ठूलो सहर तथा कृष्ण सागरको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाह ओडेसामा पनि रुसी सेनाले भारी बमबारी गरेको छ । त्यस्तै, राजधानी किभमा पनि रुसी सेनाले बिहीबार ठूल्ठूला विस्फोटहरू गराएको युक्रेनी अधिकारीले जनाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक दृश्यहरूमा किभको आकाशमा आगोको विशाल लप्का देखिन्छ । तर किभका लागि हिँडेका रुसी सेनाका सयौं बख्तरबन्द गाडीहरू इन्धन र खानेकुराको अभावका कारण अगाडि बढ्न नसकेका जनाइएको छ ।

युद्धका क्रममा हालसम्म ९ हजार रुसी सैनिकको ज्यान गएको युक्रेनी सेनाले दाबी गरेको छ । त्यस्तै, ३० वटा विमान, ३१ हेलिकोप्टर, २१७ सैनिक ट्यांक ध्वस्त पारेको युक्रेनको दाबी छ । यद्यपि, युक्रेनको दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । रुसले भने आफ्ना ४ सय ९८ सैनिकले ज्यान गुमाएको जनाएको छ ।

एक हजार ५ सय ९७ सैनिक घाइते भएका उसको भनाइ छ । युक्रेनका २ हजार ८ सय ७० सैनिकको मृत्यु भएको रुसले दाबी गरेको छ । युक्रेनले भने आफ्नोतर्फको क्षतिबारे केही उल्लेख गरेको छैन ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले मुलुकको रक्षामा लागेको भन्दै नागरिकहरूको साहसको प्रशंसा गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गर्दै ‘अर्को (रुसी) भाइरसले आक्रमण गरेको’ बताएका छन् । ‘घर फर्क । तिम्रो आफ्नै घर जाऊ,’ जेलेन्स्कीले रुसी सेनालाई भनेका छन् । रुसका कारण युक्रेनमा भएको क्षति रुसबाट पूर्ति गराउन लगाउने जेलेन्स्कीको भनाइ छ । उनले क्षतिपूर्तिको मुद्दा उठाएर क्षति पुगेका सबै सडक र भवनहरू पुरानै अवस्थामा पुर्‍याइने बताए ।

यसैबीच, द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा सम्भावित युद्ध अपराधबारे अनुसन्धान थालेको छ । आईसीसीका प्रमुख अभियोजनकर्ता करिम एए खान क्यूसीले युक्रेनमा युद्ध अपराध भएको हुन सक्ने भन्दै अनुसन्धान सुरु भएको जनाए । युद्ध अपराधबारे अनुसन्धान सुरु गर्न आफूलाई ३९ वटा देशबाट अनुरोध आएको उनको भनाइ छ । क्यूसीले प्रमाण संकलन गर्ने काम सुरु भइसकेको बताएका छन् । सदस्य राष्ट्रहरूको सिफारिससँगै अनुसन्धान प्रक्रिया अघि बढाउन न्यायाधीशहरूको अनुमोदन आवश्यक पर्ने छैन ।

प्रकाशित : फाल्गुन २०, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?