३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

परमाणु युद्धबारे रुसले सोचेको पनि छैन, पश्चिमाहरूले हल्ला फिँजाएका हुन् : विदेशमन्त्री लाभरोभ

कान्तिपुर संवाददाता

काठमाडौँ — रुसका विदेशमन्त्री सेर्जेई लाभरोभले पश्चिमा मुलुकहरूले परमाणु युद्धबारे हल्ला फिँजाएको आरोप लगाएका छन् । बिहीबार रुसी समाचार संस्था आरटी न्युज तथा विदेशी पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री लाभरोभले परमाणु युद्धबारे रुसले नसोचेको बताएका हुन् ।

परमाणु युद्धबारे रुसले सोचेको पनि छैन, पश्चिमाहरूले हल्ला फिँजाएका हुन् : विदेशमन्त्री लाभरोभ

केही दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु सेनालाई 'हाई अलर्ट' मा रहन निर्देशन दिएको खबर सार्वजनिक भएका थिए । एकदिन विदेशमन्त्री लाभरोभले पनि तेस्रो विश्वयुद्ध भए परमाणु युद्ध नै हुने बताएका थिए । तर बिहीबार भने उनले परमाणु युद्धबारे रुसले नसोचेको बताएका हुन् । पश्चिमा देशहरूले रुसविरुद्ध आम नागरिकको ध्यान तान्नका लागि प्रचारबाजी गरेको उनको आरोप छ ।

उनले केही विदेशी नेताले रुसविरुद्ध युद्धको तयारी गरेको पनि दाबी गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाजीवाद फैलाउने काम गरेको भन्दै उनले युक्रेनी सरकारलाई 'नवनाजी शासन' को संज्ञा दिएका छन् । साथै युक्रेनले जारी संघर्षमा सर्वसाधारणलाई मानव ढालका रूपमा उभ्याएको पनि उनको आरोप छ ।

विदेशमन्त्री लाभरोभले अमेरिकालाई फ्रेन्च शासक नेपोलियन बोनापार्ट र जर्मन तानाशाह एडोल्फ हिटलरसँग समेत तुलना गरेका छन् । 'आफ्नो समयमा नेपोलियन र हिटलरले युरोपलाई अधिनमा राख्न खोजेका थिए, अहिले अमेरिकाले त्यही प्रयास गरेको छ,' उनले भने ।

रुसी रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा आफ्ना करिब ५ सय सैनिक मारिएको बताएको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनको दोनेत्स्क र लुहाँस्कमा आक्रमण सुरु गरेको थियो । त्यसपछि राजधानी किभ र खर्खिभलगायतका सहरमा लगातार आक्रमण गरिरहेको छ । युक्रेनले भने संघर्षमा करिब ९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ ।

प्रकाशित : फाल्गुन १९, २०७८ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?