१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
युक्रेनमाथि रुसी आक्रमण

युरोपको लोकतन्त्रमाथि चुनौती : म्याक्रोन

ददी सापकोटा

काठमाडौँ — फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोनले युक्रेनविरुद्ध रुसको युद्धले फ्रान्स लगायत युरोपेली देशहरूलाई गम्भीर सन्देश दिएको बताएका छन् । राष्ट्रपति म्याक्रोनले राष्ट्रका नाममा बुधबार साँझ सम्बोधन गर्दै युक्रेनमाथि भएको रुसी आक्रमणले युरोपले धेरै सिक्न सक्ने बताउँदै त्यसले गहिरो सन्देश दिएको र यसको नतिजासमेत केहि समयपछि देखिन थाल्ने बताएका हुन् ।

युरोपको लोकतन्त्रमाथि चुनौती : म्याक्रोन

उनले युक्रेनमा युद्धको औचित्य प्रमाणित गर्न रुसी सरकारले फैलाएको झूटको निन्दा गर्दै युद्धविरामको प्रयास गर्न र युद्ध रोक्ने सफलता प्राप्त गर्न आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्कमा रहनेसमेत बताए ।

युद्धविरामका विभिन्न विकल्पहरू सुझाउँदा समेत रुसी राष्ट्रपति पुटिनले आक्रमणको सिलसिला नछाडेको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने उनले बताए ।

राष्ट्रपति म्याक्रोनले भने‚ ‘राष्ट्रपति पुटिनले एक्लै युद्ध रोज्नु भनेको आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई धोका दिनु हो ।’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई 'सम्मान, स्वतन्त्रता र साहसी' पात्रको रुपमा आफूले सम्मान गर्नेसमेत उनले उल्लेख गरे ।

‘यो युद्ध कतिपयले विश्वास गरेजस्तो पश्चिमी देश र रुसबीचको होइन । रुसलाई युक्रेनमाथि आक्रमण गर्न कसैले उक्साएको होइन । रुस आफैंमा आक्रमणकारी हो‚’ म्याक्रोनले थपे ।

पछिल्लो समय युक्रेनले विशेष सैन्य अपरेसन सञ्चालन गरिरहेको पुटिनले आरोफ लगाउँदै आएका थिए । फ्रान्सेली राष्ट्रपतिले पुटिनको उक्त भनाइको खण्डनसमेत गरेका छन् ।

राष्ट्रपतीय चुनाव हुन करिब पाँच हप्ता बाँकी रहँदा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्न बाँकी रहेकै बेला म्याक्रोनले फ्रान्स आफ्नो मूल्यमान्यता र विश्वासमा खडा भएको देश भएकाले त्यसको रक्षा गरिरहने आश्वासन दिए ।

ऊर्जा क्षेत्रमा भएको मूल्यवृद्धिले फ्रान्सेली अर्थतन्त्रमा प्रभाव पार्ने बताउँदै उनले थप आणविक केन्द्रहरू स्थापना गर्ने बताए ।

बिहीबार युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघ र अन्य धेरै प्रमुख अन्तर्राष्ट्रिय शक्तिहरूले रुसमाथि कडा प्रतिबन्धहरू लगाएको म्याक्रोनले बताए ।

राष्ट्रपति म्याक्रोनले युक्रेनको युद्धले युरोपमा नयाँ युगलाई जन्म दिएको र अब युरोपमा युद्ध एक वास्तविकतामा परिणत भएको समेत बताउँदै भने‚ ‘युरोपमा युद्ध अब इतिहासका पुस्तकहरूमा मात्र सीमित छैन । यहिँ आइपुगेको छ । लोकतन्त्र अब निर्विवाद छैन; यसलाई हाम्रा आँखै अगाडि चुनौती दिइएको छ ।’

म्याक्रोनले नयाँ आणविक प्लान्टहरू निर्माण गरेर फ्रान्सलाई विदेशी ऊर्जा स्रोतमा कम निर्भर बनाउने आफ्नो घरेलु योजनाभन्दा अझ विशेष योजना ल्याएर रुसी ग्याँसमाथिको निर्भरता घटाउन युरोपेली संघलाई युरोपेली स्तरमै लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित : फाल्गुन १९, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?