कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गुजरात बम विस्फोटका ३८ जना दोषीमाथि मृत्युदण्डको फैसला

एजेन्सी

नयाँदिल्ली — भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि भएको बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरातको विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

गुजरात बम विस्फोटका ३८ जना दोषीमाथि मृत्युदण्डको फैसला

सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो । उक्त घटनामा दोषी दाबी गरिएका ४९ जनालाई जेलमा राखिएको थियो । ३८ जनालाई भने मृत्युदण्डको फैसला सुनाइएको हो ।

सरकारी अधिकारीहरूका अनुसार श्रीङ्खलाबद्ध बम विस्फोटको घटनामा संलग्न बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ । तर दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै रहेको बताइएको छ ।

अहमदाबाद बमकाण्डमा जम्मा ७८ जनाविरुद्ध मुद्दा चलाइएको थियो । २८ जनालाई भने अदालतले सफाइ दिइसकेको छ । उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायत क्षेत्रमा २१ बम विस्फोट गराएका थिए ।

उक्त श्रीङ्खलाबद्ध विस्फोटको घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने अरु २ सयभन्दा बढी घाइते भएका थिए । त्यतिबेला विस्फोट नभएका थुप्रै बम पनि फेला पारिएको थियो ।

घटनाको जिम्मेवारी भारतले आतङ्कवादी घोषणा गरेको इस्लामिक समूह, हर्कत-उल-जिहाद-अल इस्लामीले लिएको थियो । भारतको पुनेस्थित एउटा बेकरीमा १७ जना मारिने गरी भएको विस्फोटपछि भारत सरकारले २०१० पछि उक्त समूहलाई आतङ्कवादी घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?