अनिवार्य खोप र प्रतिबन्धको विरोध गर्दै पेरिसमा विशाल प्रदर्शन- विश्व - कान्तिपुर समाचार

अनिवार्य खोप र प्रतिबन्धको विरोध गर्दै पेरिसमा विशाल प्रदर्शन

ददि सापकोटा

पेरिस — आफूलाई स्वतन्त्र आन्दोलनका पक्षधर बताउनेहरू शुक्रबार फ्रान्सभरबाट कोरोना प्रतिबन्ध र खोपको विरोध गर्न पेरिसमा भेला भएका छन् । फ्रान्सभरका प्रदर्शनकारीहरूले शुक्रबार क्यानडाबाट प्रेरित 'स्वतन्त्रता संरक्षण' को नाममा पेरिसमा देशको कोभिड-१९ खोप र सार्वजनिक स्वास्थ्य नीतिहरूको विरोधमा आवाज उठाउने योजनास्वरुप भेला भएका हुन् ।

आयोजकहरूले शान्तिपूर्ण रूपमा स्वतन्त्रता र मौलिक अधिकार उल्लङ्घनको विरोधमा आवाज उठाउने आफ्नो लक्ष्य रहेको दाबी गरेका छन् ।

तर देशभरबाट खोप र स्वास्थ्य प्रतिबन्धका विरोधीहरूले पटक पटक पेरिसको सार्वजनिक स्थल, यातायात बन्द गर्ने, घेराबन्दीको प्रयास गर्ने गरेकाले शुक्रबार मन्यान्हमा प्रधानमन्त्री जँ कास्टेक्सले राजधानीलाई 'ब्लक' गर्ने कुनै पनि र्‍यालीमाथि बन्देज लगाइने घोषणा गरेका छन् ।

'स्वतन्त्र रुपमा कुनै पनि कुराको, सरकारको, पार्टीको, पद्दतिको विरोधी बन्न पाइन्छ । तर आफ्नो अधिकार लिन खोज्दा अरुको अधिकारमाथि हनन् गर्न पाइन्न । त्यसैले राजधानीको स्वास्थ्य, ब्यापार, यातायात बन्द गर्ने र राजधानीलाई अप्ठेरोमा पार्ने र्‍याली गर्न बन्देज लगाइएको छ । सुरक्षाकर्मीले त्यसको पालना गराउने छन्' प्रधानमन्त्रीले शुक्रबार राष्ट्रिय टेलिभिजन मार्फत् घोषणा गरेका हुन् ।

अधिकारीहरूले आन्दोलनको उद्देश्य राजधानीलाई अवरुद्ध गर्नु भएकाले पेरिसमा नियोजित प्रदर्शनलाई प्रतिबन्ध लगाएको दाबी गरेका छन् । फ्रान्सको आन्दोलनलाई प्रेरित गर्ने ट्रकहरूको विरोधले क्यानाडाको राजधानी ओटावालाई पक्षघात बनाएको अधिकारीहरुको भनाइ छ । आन्दोलनकारीले आफ्ना पक्षका गाडी खासमा ट्रक ल्याएर राजधानीको नाकामा राखिदिने र राजधानी प्रवेश नै रोकिदिने गरेकाले फ्रान्स सरकारले यस्तो आन्दोलनमाथि प्रतिबन्ध लगाएको हो ।

आन्दोलनकारीले शुक्रबार बिहानसम्म ३ लाखभन्दा बढी व्यक्ति आन्दोलनमा सहभागी हुने फेसबूकमार्फत् घोषणा गरेपछि फ्रान्सको सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

शुक्रबार रातिसम्म राजधानी पुग्ने लक्ष्य राख्दै दक्षिणमा निस, ब्ययोन, पर्पिन्यियँबाट धेरै आन्दोलनकर्मी पेरिसतर्फ प्रस्थान गरेका थिए । उनीहरूले शुक्रबार रातिदेखि राजधानी पेरिसलाई 'ब्लक' वा घेराबन्दी गर्ने निर्णय गरेको मेडियाले उल्लेख गरेका छन् ।

तिनै आन्दोलनकारीहरू सोमबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने कार्यक्रम छ । तिनले 'युरोपियन कन्भर्जन्स' को नाममा ब्रसेल्समा यस्तै कार्यक्रमको घोषणा गरेका छन् ।

प्रकाशित : माघ २८, २०७८ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमण कम नहुँदै फ्रान्सले प्रतिबन्ध हटाउन थाल्यो

ददि सापकोटा

पेरिस — कोरोना भाइरसको संक्रमण उच्चस्तरमा हुँदाहुँदै पनि फ्रान्सले  प्रतिबन्धहरू हटाउन सुरु गरेको छ ।  बुधबार साँझदेखि फेस मास्कहरू अब देशभरि नै बाहिर अनिवार्य हुने छैन । त्यसैगरी हप्तामा कम्तीमा तीन दिन कार्यालयको काम घरबाटै गर्नुपर्ने बाध्यात्मक नियमलाई समेत हटाएर सिफारिस मात्र गरिएको छ ।

रंगशाला, सांस्कृतिक स्थल र बाहिरी खुला ठाउँहरूमा भेला हुन तोकिएको निश्चित क्षमतालाई पनि हटाइएको छ । अधिकारीहरूले नाइटक्लबहरू भने फेब्रुअरी १६ सम्म पूर्वघोषितयोजना अनुसार नै बन्द रहने बताएका छन् ।

इन्डोर कन्सर्ट हलहरू पहिले दुई हजार जनामा सीमित थिए भने खुला क्षेत्रहरूमा पाँच हजार जनाको सीमा तोकिएको थियो । बुधबार साँझबाट त्यसलाई पनि हटाइएको छ । तर फ्रान्सेली नागरिकहरूले अझै पनि बार, रेस्टुरेन्ट, अन्य स्थानहरूमा प्रवेश गर्न र लामो दूरीको सार्वजनिक यातायात प्रयोग गर्न खोप वा कोरोना लागेर निको भएको प्रमाण देखाउनुपर्ने छ ।

फ्रान्सले कोभिड-१९ प्रतिबन्धहरू कम गर्ने पहिलो चरणको घोषणा गरे पनि सतर्क रहने सरकारका प्रवक्ता गाब्रियल अटलले बताएका छन् । प्रवक्ताले हालैका दिनहरूमा नयाँ केस संख्यामा भएको कमी निकै उत्साहजनक रहे पनि मानिसहरूलाई सतर्क रहन आग्रह गरेका हुन् ।

फ्रान्समा सघन हेरचाहमा कक्षमा बिरामीहरूको संख्या हप्तामा लगभग तीन हजार सात सय जनामा लगभग स्थिर रहेको छ । तर अस्पताल भर्ना हुनेहरूको संख्या भने बढ्दै गएको छ ।

डब्ल्यूएचओका अनुसार ओमिक्रोन भेरियन्ट १० हप्ताअघि पहिलो पटक पहिचान भएदेखि कोरोना भाइरसका संक्रमितको संख्या विश्वमा नौ करोड पुगिसकेको छ ।

यसैबीच डेनमार्कले अधिकांश महामारी प्रतिबन्धहरू खारेज गर्ने मंगलबार नै घोषणा गरेको थियो । कोभिड-१९ सामाजिक रूपमा गम्भीर रोग नरहेको भन्दै डेनमार्कले प्रतिबन्धहरु हटाएको हो ।

डेनमार्कले हालैका हप्ताहरूमा औसतमा दैनिक ५० हजार भन्दा बढी संक्रमितहरुको सामना गरिरहेको छ । तर अस्पतालका सघन उपचार कक्षहरूमा भने विरामीको संख्या घटेको छ।

फ्रान्समा गत २४ घण्टामा चार लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३८१ जनाको मृत्यु भएको छ ।

प्रकाशित : माघ २०, २०७८ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×