क्यानडाको राजधानीमा संकटकाल घोषणा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानडाको राजधानीमा संकटकाल घोषणा

प्रदीप घिमिरे

काठमाडौँ — कोभिड-१९ भ्याक्सिन विरोधीहरूको प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । कोभिड-१९ का लागि तोकिएको मापदण्ड उल्लंघन गर्दै प्रदर्शन हुन थालेपछि ओटावाका मेयर जिम वाट्सनले संकटकालको घोषणा गरेका हुन् ।

कोभिड-१९ भ्याक्सिनविरुद्ध प्रदर्शनमा उत्रिएका क्यानडेली ट्रक चालकहरू । तस्बिर : रोयटर्स

प्रहरीभन्दा धेरै संख्यामा प्रदर्शनकारीहरू जम्मा हुन थालेपछि प्रदर्शन नियन्त्रणबाहिर गएको भन्दै राजधानीवासीको सुरक्षालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरिएको मेयर वाट्सनले बताए ।

त्यहाँको सरकारले केहि दिनअघि क्यानडा-अमेरिका सीमा पार गर्नका लागि हरेक ट्रक चालकले भ्याक्सिन अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएलगत्तै क्यानडाका ट्रक चालकहरूले ओटावास्थित संसद् भवन अगाडि जम्मा भएर प्रदर्शन गरेका थिए । उनीहरूले तत्काल कोभिड-१९ को खोप अनिवार्य गरिएको निर्णय खारेज हुनुपर्ने भन्दै क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारको विरोध गरेका थिए ।

क्यानडेली रेडियो स्टेसन सीएफआरएमा बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरू दिन प्रतिदिन असंवेदनशील हुँदै गएकाले संकटकाल लगाइएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

‘प्रदर्शनकारीहरूको तुलनामा हाम्रो शक्ति कम हुँदै गयो; त्यसले प्रदर्शन नियन्त्रणमा लिन नसक्ने अवस्था सिर्जना भएकाले हामीले संकटकाल लगाउने निर्णय गरेका हौँ‚’ मेयर वाट्सनले सीएफआरएसँग भने । प्रहरीले भने संकटकालमा आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताएको छ ।

क्यानडेली सरकारले कोभिड-१९ विरुद्धको खोप अनिवार्य गरेपछि केहि दिनअघिदेखि त्यहाँका ट्रक चालकहरूले बिच सडकमा ट्रक राखेर यातायात अवरुद्ध पार्नुका साथै उक्त सरकारी निर्णयविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : माघ २४, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

बेइजिङ ओलम्पिकमा भारतको कुटनीतिक बहिष्कार

प्रदीप घिमिरे

काठमाडौँ — भारतले आजबाट चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीन-भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कुटनीतिक बहिष्कार गर्ने जनाएको हो ।

तस्बिर : रोयटर्स ।

योसँगै आजबाट सुरु भएको विन्टर ओलम्पिकको उद्घाटन समारोह र समापन समारोहमा भारत सहभागी नहुने भएको छ ।

सन् २०२० जुनमा चीन-भारत सीमामा भएको सैन्य झडपमा घाइते भएका चिनियाँ सैनिकलाई चीनले ओलम्पिकका लागि टर्च बोक्ने व्यक्ति बनाएपछि भारतले दुवै समारोहमा सहभागी नहुने घोषणा गरेको थियो ।

चीन-भारत सीमानाका गलवानमा भएको उक्त झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त झडप चार दशकयताकै सबैभन्दा खतरनाक झडप भएको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले यस्तो विषयलाई राजनीतीकरण गर्नु खेदजनक भएको बताएका छन् ।

प्रकाशित : माघ २१, २०७८ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×