कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमण कम नहुँदै फ्रान्सले प्रतिबन्ध हटाउन थाल्यो

ददि सापकोटा

पेरिस — कोरोना भाइरसको संक्रमण उच्चस्तरमा हुँदाहुँदै पनि फ्रान्सले  प्रतिबन्धहरू हटाउन सुरु गरेको छ ।  बुधबार साँझदेखि फेस मास्कहरू अब देशभरि नै बाहिर अनिवार्य हुने छैन । त्यसैगरी हप्तामा कम्तीमा तीन दिन कार्यालयको काम घरबाटै गर्नुपर्ने बाध्यात्मक नियमलाई समेत हटाएर सिफारिस मात्र गरिएको छ ।

संक्रमण कम नहुँदै फ्रान्सले प्रतिबन्ध हटाउन थाल्यो

रंगशाला, सांस्कृतिक स्थल र बाहिरी खुला ठाउँहरूमा भेला हुन तोकिएको निश्चित क्षमतालाई पनि हटाइएको छ । अधिकारीहरूले नाइटक्लबहरू भने फेब्रुअरी १६ सम्म पूर्वघोषितयोजना अनुसार नै बन्द रहने बताएका छन् ।

इन्डोर कन्सर्ट हलहरू पहिले दुई हजार जनामा सीमित थिए भने खुला क्षेत्रहरूमा पाँच हजार जनाको सीमा तोकिएको थियो । बुधबार साँझबाट त्यसलाई पनि हटाइएको छ । तर फ्रान्सेली नागरिकहरूले अझै पनि बार, रेस्टुरेन्ट, अन्य स्थानहरूमा प्रवेश गर्न र लामो दूरीको सार्वजनिक यातायात प्रयोग गर्न खोप वा कोरोना लागेर निको भएको प्रमाण देखाउनुपर्ने छ ।

फ्रान्सले कोभिड-१९ प्रतिबन्धहरू कम गर्ने पहिलो चरणको घोषणा गरे पनि सतर्क रहने सरकारका प्रवक्ता गाब्रियल अटलले बताएका छन् । प्रवक्ताले हालैका दिनहरूमा नयाँ केस संख्यामा भएको कमी निकै उत्साहजनक रहे पनि मानिसहरूलाई सतर्क रहन आग्रह गरेका हुन् ।

फ्रान्समा सघन हेरचाहमा कक्षमा बिरामीहरूको संख्या हप्तामा लगभग तीन हजार सात सय जनामा लगभग स्थिर रहेको छ । तर अस्पताल भर्ना हुनेहरूको संख्या भने बढ्दै गएको छ ।

डब्ल्यूएचओका अनुसार ओमिक्रोन भेरियन्ट १० हप्ताअघि पहिलो पटक पहिचान भएदेखि कोरोना भाइरसका संक्रमितको संख्या विश्वमा नौ करोड पुगिसकेको छ ।

यसैबीच डेनमार्कले अधिकांश महामारी प्रतिबन्धहरू खारेज गर्ने मंगलबार नै घोषणा गरेको थियो । कोभिड-१९ सामाजिक रूपमा गम्भीर रोग नरहेको भन्दै डेनमार्कले प्रतिबन्धहरु हटाएको हो ।

डेनमार्कले हालैका हप्ताहरूमा औसतमा दैनिक ५० हजार भन्दा बढी संक्रमितहरुको सामना गरिरहेको छ । तर अस्पतालका सघन उपचार कक्षहरूमा भने विरामीको संख्या घटेको छ।

फ्रान्समा गत २४ घण्टामा चार लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३८१ जनाको मृत्यु भएको छ ।

प्रकाशित : माघ २०, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?