१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाबाट एक जनाको मृत्यु भएपछि भुटानी प्रधानमन्त्रीले भने : गोली लागेजस्तै भयो

काठमाडौँ — कोरोना महामारीका कारण विश्वका २ सय देश आक्रान्त भएका छन् । अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म विश्वभर करिब ३८ करोड संक्रमित भइसकेका छन् । त्यस्तै ५६ लाख ७३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोनाबाट एक जनाको मृत्यु भएपछि भुटानी प्रधानमन्त्रीले भने : गोली लागेजस्तै भयो

पछिल्लो समय कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वका विभिन्न मुलुकमा पुन: फैलिइएको छ । पछिल्ला २८ दिनमा ८ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २ लाख १७ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना महामारीबाट दक्षिण एसियाली मुलुक पनि प्रभावित भएका छन् । दक्षिण एसियामा सबैभन्दा बढी भारत प्रभावित भएको छ ।

दोस्रो लहरमा भारतमा एकैदिन ४ लाखसम्ममा संक्रमण पुष्टि भएको थियो । भारतमा अहिलेसम्म करिब ५ लाखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दक्षिण एसियाली मुलुकमध्ये हिमाली मुलुक भुटान सबैभन्दा कम प्रभावित छ । भुटानमा अहिलेसम्म ४ हजार ६ सय ८५ जना संक्रमित भएका छन् भने ४ जनाको मात्रै मृत्यु भएको छ । भुटानबाहेक तथ्यांक सार्वजनिक नगरेका कारण उत्तर कोरिया र तुर्केमेनिस्तानमा पनि कोरोना महामारीका कारण कति क्षति भयो भन्ने यकिन विवरण प्राप्त भएको छैन । भुटानमा कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी कदम चालेको बताइन्छ ।

करिब ८ लाख जनसंख्या भएको भुटानमा योग्यमध्ये अधिकांशले खोप लगाइसकेका छन् । भुटान सरकारका अनुसार करिब १ लाख ३० हजार १२ वर्षमुनिका बालबालिका अहिले पनि खोप लगाएका छैनन् । उनीहरूबाट घरमा रहेका पाका उमेरका व्यक्तिलाई कोरोना सर्छ कि भन्ने चिन्ता थपिएको भुटान सरकारले जनाएको छ ।

पछिल्लो शुक्रबार भुटानमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । उनी नियमित रूपमा डायलसिस गराउँदै आएकी मिर्गौला बिरामी रहेको भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले बताएका छन् । कोरोना महामारीविरुद्धको लडाइँकै बीचमा एउटा महत्त्वपूर्ण जीवन गुमेको प्रधानमन्त्री छिरिङले बताएका छन् । सामाजिक सञ्जालमा लामो सन्देश पोस्ट गर्दै प्रधानमन्त्री छिरिङले भनेका छन्, 'महामारीविरुद्धको लडाइँकै बीच हामीले हिजो एक महत्त्वपूर्ण जीवन गुमाउएको थाहा पाउँदा गोली लागेझैं भएको छ । उहाँ डायलसिस गराउँदै आउनु भएकी मिर्गौला बिरामी हुनुहुन्थ्यो । एक जना प्रिय साथी गुमाउनुपर्दा पूरा देश नै दु:खी छ ।'

प्रधानमन्त्री छिरिङले अगाडि भनेका छन्, 'कोरोना महामारीविरुद्ध एक अथक लडाइँ लड्दै हामीले प्रत्येक भुटानी नागरिकको जीवन बचाउनुपर्छ र सक्नुपर्छ ।' भुटानमा पहिलो पटक सन् २०२० मार्चमा कोरोना पुष्टि भएको थियो । यही शुक्रबार भुटानमा एकैदिन २०५ जनामा संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री छिरिङले शुक्रबारको घटनाले आफूहरूलाई झस्काएको र अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी थपेको पनि जनाएका छन् ।

अरु भेरिएन्टभन्दा ओमिक्रोन निकै संक्रामक रहेको उल्लेख गर्दै प्रधानमन्त्री छिरिङले भुटानमा ६५ वर्षमाथिका ५६ हजार नागरिक जोखिम समूहमा रहेको र ९० हजार दीर्घरोगी भएको समेत जानकारी दिएङ्का छन् । त्यसैले उनले जोखिममा रहेका नागरिकको स्वास्थ्य बचाउन सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा पनि जोड दिएका छन् । अन्य देशमा अस्पताल भर्ना हुने बिरामीको संख्या घटाउनुलाई सफलताका रूपमा हेरिए पनि भुटानमा भने परिस्थिति फरक रहेको उनको भनाइ छ । उनले भनेका छन्, 'हाम्रो उद्देश्य रोग निर्मूल नै हो किनकि हामीले महत्त्वपूर्ण जीवन गुमाउन सक्दैनौँ । हाम्रा राजाले हामीलाई दिएको महत्त्वपूर्ण जिम्मेवारी पनि त्यही हो ।'

पछिल्लो समय संक्रमणपछि अस्पताल जाने र मृत्यु हुनेमध्ये अधिकांश खोप नलगाएका व्यक्ति भएको उल्लेख गर्दै तत्काल बालबालिकालाई खोप अभियान सुरु गरिने प्रधानमन्त्री छिरिङले बताएका छन् । १२ वर्षमाथिका ८ हजार ५ सय जना खोप लगाउन बाँकी रहेको उनले जानकारी दिएका छन् । सबैले अहिले सजगता अपनाए कोरोना महामारीबाट राहतको श्वास लिने दिन छिट्टै आउने पनि उनको भनाइ छ । खोप नलगाएका सबैलाई तत्काल खोप लगाउन आग्रह गर्दै छिट्टै सबैलाई बुस्टर डोज दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

प्रकाशित : माघ १८, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?