खोप अनिवार्य गरिएपछि विरोधमा उत्रिए क्यानडाका ट्रकचालक

प्रधानमन्त्री ट्रुडोले ओटावाको घर छाडे

काठमाडौँ — कोरोनाविरुद्धको खोप अनिवार्य गरिएपछि क्यानडामा ट्रकचालक विरोध प्रदर्शनमा उत्रिएका छन् । राजधानी ओटावामा ट्रकसहित नै हजारौंको संख्यामा प्रदर्शनमा उत्रिएका हुन् ।

खोप अनिवार्य गरिएपछि विरोधमा उत्रिए क्यानडाका ट्रकचालक

ओटावास्थित प्रधानमन्त्री जस्टिन ट्रुडोको निवास र संसद् भवनबाहिर ठूलो संख्यामा तर ‘शान्तिपूर्ण’ प्रदर्शन भएको गार्डियनले जनाएको छ । तर क्यानडेली अधिकारीहरूले भने प्रदर्शनमा ‘स्वस्तिक’ झन्डा पनि फहराइएको बताएका छन् ।

त्यस्तै केही प्रदर्शनकारी अज्ञात सहिदको समाधिमाथि चढेर नाचेको पनि बताइएको छ । क्यानडाकी रक्षामन्त्री अनिता आनन्दले प्रदर्शनमा भएका केही घटना निन्दनीय रहेको बताइन् । ओटावा प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री ट्रुडोले परिवारसहित ओटावाको घर छाडेका छन् । तर उनी कहाँ छन् भन्नेबारे केही खुलाइएको छैन ।

केही दिनअघि अमेरिकाले समेत विदेशी ट्रकचालकले आफ्नो मुलुक प्रवेश गर्दा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने जनाएपछि क्यानडाले खोप अनिवार्यको प्रबन्ध गरेको हो । ट्रुडो सरकारले जनवरी १५ देखि खोप अनिवार्यको नियम लागू गरेको हो ।

खोप नलगाई सीमा पार गरेका चालकलाई फर्केपछि अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने नियम पनि लागू गरिएको छ । सीमा आरपार गर्ने करिब १ लाख २० हजार चालकमध्ये झन्डै ९० प्रतिशतले खोप लगाइसकेको सरकारले जनाएको छ । तर केही चालकले भने खोप नलगाउने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

‘म सीमा पार गर्न सक्दिनँ त्यसैले काम गर्न नसक्ने भएँ,’ विन्डसरका ट्रकचालक साभा भिजीले गार्डियनसँग भने । खोप लगाउनु खतरा भएको उल्लेख गर्दै उनले भने, ‘म खोप लगाउँदिनँ ।’ राजधानीमा चिसो बढेर ताफक्रम माइनस २१ डिग्री सेल्सियसम्म झरेको छ । तर विरोधमा उत्रिएका ट्रकचालक भने खाजाको प्रबन्धसहित प्रदर्शनमा उत्रिएका छन् ।

प्रकाशित : माघ १७, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?