कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आखिर के चाहन्छन् किम ?

देश आर्थिक समस्यामा भए पनि प्रतिरक्षा नीति प्राथमिकतामा रहेको सन्देश दिइरहेका उत्तर कोरियाली नेता किमले क्षेप्यास्त्र परीक्षणमार्फत दबाब सिर्जना गरी अमेरिकालाई वार्तामा ल्याउन र आफ्नो देशमाथिका प्रतिबन्ध हटाउन चाहन्छन्

काठमाडौँ — तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१८ को जुनमा सिंगापुरमा भएको भेटवार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले ‘आफ्नो देश परमाणु तथा विनाशकारी हतियार त्याग्न तयार रहेको’ बताएका थिए । उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति अमेरिकाले लिने ट्रम्पको आश्वासनपछि किमले उक्त जवाफ दिएका थिए ।

आखिर के चाहन्छन् किम ?

वार्तापछि दुई नेताद्वारा जारी संयुक्त वक्तव्यमा ‘नयाँ शान्तिपूर्ण सम्बन्ध, कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने र उच्च अधिकारीबीचको वार्तालाई निरन्तरता दिने’ लगायतका कार्य गर्ने उल्लेख गरिएको थियो ।

त्यसलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ‘कोरियाली द्वीपमा दक्षिण कोरियासँग संयुक्त सैनिक अभ्यास नहुने र उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता ल्याउन चाहेको’ बताएका थिए । तर अमेरिकी सिनेटले सन् २०१९ का लागि सैनिक बजेट पारित गर्दै तत्काल सैनिक संख्या कटौती नहुने जनाएको थियो । उक्त कदमले रुष्ट उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको भए पनि राष्ट्रपति ट्रम्प र किमबीच सन् २०१९ को फेब्रुअरी अन्त्यमा भियतनामको राजधानी हनोईमा भेटवार्ता भएको थियो ।

त्यसयता भने अमेरिका र उत्तर कोरियाबीच उच्च तहमा वार्ता हुन सकेको छैन । अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका क्रियाकलाप र आफूमाथिका प्रतिबन्धहरूका कारण रुष्ट उत्तर कोरियाले पछिल्लो समय हतियार परीक्षण पुन: तीव्र पारेको छ । तर पछिल्लो समय परीक्षण गरिएका सबै अधिकांश क्षेप्यास्त्र छोटो दूरीका हुन् । र, तीमध्ये अधिकांश तटीय क्षेत्रभन्दा टाढै खसेका जापानी अधिकारीले जनाइएका छन् ।

उत्तर कोरियाले आइतबार जनवरी महिनामा सातौंपटक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार आइतबार मध्यम दूरीको गरिएको बलिस्टिक क्षेप्यास्त्र (आईआरबीएम) परीक्षण गरिएको हो । सन् २०१७ को नोभेम्बरपछिकै ठूलो क्षेप्यास्त्र २ हजार किलोमिटर माथि र करिब ८ सय मिटर टाढा पुगेको जापान र दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

परीक्षणलाई निकै तीव्रता दिए पनि किमले तत्कालै केही गरिहाल्ने सम्भावना भने देखिन्न । किनकि, पछिल्ला सबै क्रियाकलाप भने किमले ‘उत्तर कोरियालाई पूर्ण र प्रभावकारी परमाणु शक्ति सम्पन्न राष्ट्र बनाउन’ खोजेकामा दुईमत छैन । तर आफूले चाहेको जस्तो नतिजा नआएको खण्डमा भने उनले चेतावनीस्वरुप अप्रिय कदम चाल्न सक्ने कतिपयको विश्लेषण छ ।

उत्तर कोरियाले बिहीबार परीक्षण गरेको क्षेप्यास्त्र । तस्बिर : एपी

‘मेरो दृष्टिकोणमा यो अनुमानित नै थियो,’ उत्तर कोरियाली नौसेनाका कमान्डर प्राध्यापक किम डोङ युपले बीबीसीसँग भनेका छन्, ‘उत्तर कोरियाली प्रविधिलाई हामीले कम आँकेका थियौं । वास्तवमा, उत्तर कोरियाले हामीले सोचेभन्दा छिटो सैनिक क्षमता बढाइरहेको छ ।’ जनवरी ५ र १० मा हाइपरसोनिक तथा रेल वा कारबाट प्रहार गर्न मिल्ने हतियार परीक्षण गर्नुले उनको भनाइ पुष्टि हुन्छ ।

त्यस्तै, जनवरी १७ मा उसले रणनीतिक रूपमा निर्देशित क्षेप्यास्त्र पनि सफलतापूर्व परीक्षण गरिसकेको छ । उत्तरले जनवरी महिनामा मात्रै ५ पटक गरी दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । प्रविधिमा गरेको तीव्र विकाससँगै उत्तर कोरियाले उक्त क्षेत्रमा रहेका अमेरिका र जापानका महँगा र जटिल क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई नै परास्त गर्न सक्ने आकलन गरिएको छ ।

यसको अर्थ, ‘शत्रु देशहरूको प्रतिरक्षा प्रणाली ध्वस्त पार्नु’ नै किमको पहिलो प्राथमिकता देखिएको छ । त्यसका साथै उत्तरले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली विकास गरिरहेको हुन सक्ने देखिएको छ । तर उत्तर कोरियाको पहिलो उद्देश्य आक्रमण गर्नु नभई आफ्नो प्रतिरक्षा गर्नु देखिएको प्राध्यापक किमको बुझाइ छ ।

पछिल्लो समय उत्तर कोरिया आर्थिक संकटबाट गुज्रिरहेको छ । क्षेप्यास्त्र तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध बेवास्ता गरेपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी जारी छ । त्यस्तै, अमेरिका र युरोपेली संघले लगाएको आर्थिकलगायत नाकाबन्दी पनि उसले झेलिरहेको छ । देश आर्थिक समस्यामा परेको भए पनि आफ्नो प्रतिरक्षा नीति प्राथमिकतामा रहेको किमले सन्देश दिन चाहेका अमेरिकास्थित थिंक ट्यांक अंकित पन्डाको बुझाइ छ ।

त्यसका साथै कोभिड–१९ को महामारी नियन्त्रणका लागि गरिएको नाकाबन्दीका कारण चरम खाद्यान्न अभाव देखिएको छ । केही साताअघि दलको वार्षिक बैठकमका क्रममा बोल्दै नेता किमले ‘देशले जीवन र मरणबीच संघर्ष गरिरहेको’ स्वीकार गरेका थिए ।

सन् २०२१ को जनवरीको सैनिक परेडका क्रममा प्रदर्शन गरिएका उत्तर कोरियाका क्षेप्यास्त्र । तस्बिर : रोयटर्स  

देशको विकास गर्नु र जनताको जीवनस्तर सुधार्नु नै सन् २०२२ को प्रमुख लक्ष्य भएको किमको भनाइ थियो । तर कोरियाली द्वीपमा आफ्नो ‘देशको प्रतिरक्षा क्षमता सुदृढ पार्ने काम भने जारी रहने र त्यसका लागि तयारी भइरहेको’ उनले बताएका थिए । त्यसको केही दिनमा उत्तरले क्षेप्यास्त्र परीक्षण तीव्र पारेको हो ।

उत्तर कोरियाले हाल आफ्नो कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ रक्षा तथा सैनिक क्षेत्रमा खर्च गर्छ । यस्तो अवस्था आउनुको मुख्य कारण भनेको किम अझै पनि आफ्नो प्रतिरक्षा प्रणालीमा विश्वस्त नभएको देखिन्छ ।

हुन त किमले छिट्टै कसैको पनि विश्वास गर्दैनन् । स्कुले जीवन स्विट्जरल्यान्डमा बिताएका किमले सन् २००२ देखि २००७ सम्म भने प्योङयाङस्थित किम इल–सुङ राष्ट्रिय युद्ध कलेजमा पढेका थिए । युवा अवस्थादेखि नै किम आफ्ना पिता किम इल–सुङसँगै सैनिक निरीक्षणमा जाने गर्थै र कोरियाली वकर्स पार्टीका कतिपय काममा सहभागी हुन्थे ।

सन् २०११ मा पिताको मृत्युसँगै उनी उत्तर कोरियाको सर्वोच्च नेता घोषित भए । सरकार र सैनिक फौजको प्रमुख रहने उक्त पद सन् २०१२ मा स्वीकार गरिएपछि भने उनी झन् शक्तिशाली भए । सन् २०१३ मा अविश्वासकै कारण किमले ‘पार्टीको फोहोर सफा गरेको’ भन्दै आफ्ना काका जाङ सोङ–थाएलाई फाँसी दिए । आफ्नो पिताका निकट र चीनसँगको सम्बन्धका कारक थाए मारिएसँगै चीनसँग किमको सम्बन्ध केही समय बिग्रेको थियो ।

पार्टीभित्र वा शासन सञ्चालनका विषयमा भने किमले निकै कमसँग मात्रै सल्लाह लिने गर्छन् । तीमध्ये आफ्नी बहिनी किम यो–जोङ पनि एक हुन् । उनी वकर्स पार्टीको प्रचार तथा सूचना विभागकी उपप्रमुख तथा राज्य मामिला आयोगकी एकमात्र महिला सदस्य हुन् । त्यस्तै, तत्कालका लागि देशबाहिर भने चीन र रुस नै उनका मित्र हुन्, जसप्रति उनी ढुक्क देखिन्छन् । पछिल्ला घटनाबारे पनि दुवै देशले अझैसम्म मुख खोलेका छैनन् ।

दक्षिण कोरियाको राजधानी सोलस्थित युद्ध संग्रहालयमा राखिएका क्षेप्यास्त्र । तस्बिर : एपी

जनवरी महिनामा उत्तरले गरेको प्रक्षेपण गति भने अस्वाभाविक देखिएको छ । कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाली सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यासको कडा विरोध जनाउन पनि उत्तरले क्षेप्यास्त्र परीक्षणको गति बढाएको हो । त्यसका साथै, परमाणु तथा हतियार कार्यक्रममार्फत अमेरिकालाई उक्त क्षेत्रबाट हटाउन र दक्षिण कोरियासँग शान्ति सम्झौता गर्न सकिन्छ भन्ने महत्त्वाकांक्षा किममा पलाएको देख्छन्, दक्षिण कोरियाको बुसानस्थित प्राध्यापक ब्रायन आर मायर्स ।

त्यसका साथै आफ्ना क्षेप्यास्त्रको क्षमता विकसित गर्न, अवस्था परीक्षण गर्न र तयारी अवस्थामा राख्न पनि परीक्षलाई तीव्रता दिइएको जानकारहरू बताउँछन् ।

अमेरिकाको ध्यान खिच्नका लागि पनि किमले अनेकन उपाय अपनाउँदै आएका छन् । यसको अर्थ हो, जुन गतिमा क्षेप्यास्त्र परीक्षण भइरहेको छ त्यसले छिटै नै अमेरिका र उत्तर कोरियाबीच वार्ता नहोला भन्न सकिन्न । उत्तर कोरियाले सन् २०१७ मा प्रशान्त महासागरको गुआममा रहेको अमेरिकी सैन्य अखडामा प्रहार गर्न सक्ने क्षमताको ह्वासोङ–१५ क्षेप्यास्त्र परीक्षण गरेको थियो । जसले अमेरिकालाई वार्तामा आउन दबाब दिएको ठानिएको थियो ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसँगै भने दुई देशबीचको परमाणु वार्ता अवरुद्ध छ । उत्तर कोरियाका लागि संयुक्त राष्ट्रसंघ तथा अमेरिकाले लगाउँदै आएका नाकाबन्दी तत्काल हटाउनुपरेको छ । जनवरी सुरुमा क्षेप्यास्त्र परीक्षण गरेपछि रुष्ट बाइडेन प्रशासनले उत्तरमाथिका प्रतिबन्धहरू कडा पारिसकेको छ । त्यसका साथै, अमेरिकी राष्ट्रपति बाइडेन पछिल्लो समय युक्रेन–रुस तनावमा अल्झिरहेका कारण पनि त्यस्तो अवसर भने झट्टै आइहाल्ने देखिन्न ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : माघ १६, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?