टाटाले लियो एयर इन्डिया


नयाँदिल्ली — भारतीय ध्वजावाहक विमान सेवा कम्पनी एयर इन्डिया टाटा ग्रुपको स्वामित्वमा पुगेको छ । केन्द्र सरकारले बिहीबार एयर इन्डियाको स्वामित्व भारतको ठूलो औद्योगिक घराना टाटा ग्रुपलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।



करिब ६९ वर्षपछि एयर इन्डियाको स्वामित्व पुनः टाटाको हातमा पुगेको हो । सरकारले ७० हजार करोड घाटामा सञ्चालन भइरहेको एयर इन्डियालाई निजीकरण गर्ने फैसला गरेको थियो । त्यसअनुसार गत अक्टोबरमा शतप्रतिशत सेयर टाटालाई बेचेको थियो । र, त्यसको आधिकारिक हस्तान्तरण २७ जनवरीमा गरिएको हो । भारतको विनिवेश विभागले सोशल मिडियामार्फत् एयर इन्डिया कम्पनीको हस्तान्तरण प्रक्रिया पूरा भएको जानकारी दिएको छ । प्रक्रियापछि टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर धन्यवाद र खुसी व्यक्त गरेको जनाइएको छ ।
एयर इन्डियाको शतप्रतिशत सेयर टेलेस प्रालिलाई हस्तान्तरण भइसकेको छ । उक्त कम्पनी टाटाको इकाई हो र अब एयर इन्डियाको नयाँ मालिक ।
टाटाले बिहीबारबाटै एयर इन्डियाको अपरेसन आफ्नो हातमा लिएर सञ्चालनमा ल्याइसकेको छ । पहिलो दिनबाटै टाटाले चार सहरका लागि गरिने उडानमा ‘इनहैंस्ड मिल सर्भिस्’ उन्नत भोजन सेवा सुरु गरेको छ । त्यसमा दिल्ली, मुम्बई, बैंग्लोर, न्युयोर्क र अबुधावीका अडान सामेल छन् । केही महिनापछि एयर इन्डियाको विमानमा टाटाको छाप देखिने छन् । टाटाले यसअघि नै एयर एसिया र बिस्तारा एयरलाइन्स सञ्चालन गरिरहेको छ । अब ती सबै कम्पनी मर्ज गरिने सम्भावना पनि छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (दायाँ) सँगको भेटमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखर । तस्बिर : भारतीय प्रधानमन्त्रीको ट्वीटर
सरकारी स्वामित्वको एयर इन्डिया पछिल्लो दशकमा धेरै नोक्सान भएको कम्पनीमा परिणत भएको थियो । २०२० मार्च ३१ सम्म ७० हजार करोड घाटामा पुगिसकेको थियो । गत वर्ष ७ हजार करोड थप घाटा भएको थियो ।
टाटाले एयर इन्डियालाई १८ हजार करोड रुपैयाँमा खरिद गरेको हो । सथै एयर इन्डियामाथि रहेको २३ हजार करोडको ऋण चुकाउने जिम्मेवारी पनि टाटाको काँधमै आएको छ । पछिल्लो समय एयर इन्डियाले आफ्नो बजार पनि गुमाएको छ । यो सबै परिस्थितिबाट बाहिर ल्याएर एयर इन्डिया कम्पनीलाई नाफामा ल्याउने चुनौती टाटाका अगाडि छ ।
सरकारले सन् २०१८ मा एयर इन्डियाको ७६ प्रतिशत सेयर बेच्ने फैसला गरेको थियो । तर, त्यतिबेला कुनै पनि निजी कम्पनीले खरिद गर्ने इच्छा देखाएनन् ।
सरकारले २०२० मा शतप्रतिशत सेयर बेच्ने निर्णय गरेपछि केही निजी कम्पनीले चासो देखाएका हुन् । र, टाटाले गत अक्टोबरमा त्यसलाई हात पार्न सफल भयो । टाटाले एयर इन्डियाको विमानसहित अन्य सबै प्रोपर्टीको स्वामित्व पाएको छ ।
कर्मचारीका लागि बनाइएको हाउजिङ सोसाइटी र एयरपोर्टको अवतरण तथा पार्किङ स्लट पनि टाटा मातहत आएको छ । एयर इन्डियासँग ४ हजार ४ सय डोमेस्टिक र १ हजार ८ सय इन्टरनेसनल अवतरण र पार्किङ स्लट छन् । त्यस्तै, १ सय ३० वटा विमान छन् ।
टाटाले सन् १९३४ मा एयर इन्डियाको सुरुवात टाटा एयरलाइन्सको नामबाट गरेको थियो । भारतको सबैभन्दा पुरानो एयरलाइन्स यही हो । सन १९४६ मा नाम बदलेर एयर इन्डिया बनाइएको थियो । सन् १९४८ मा एयर इन्डियाले मुम्बई–लन्डन पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
सन् १९५३ मा सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गर्दै सरकारी कम्पनीमा परिणत गरेको थियो । अन्तर्राष्ट्रिय उडान गर्ने विमानको नाम इन्डियन एयरलाइन्स र डोमेस्टिकको नाम एयर इन्डिया राखिएको थियो । पछि सन् २००७ मा दुवै नाम मर्ज गरेर एयर इन्डिया बनाइएको थियो ।
प्रकाशित : माघ १४, २०७८ १०:४४