युरोपभरि नक्कली खोप पासको बिगबिगी, प्रहरीद्वारा छापा- विश्व - कान्तिपुर समाचार

युरोपभरि नक्कली खोप पासको बिगबिगी, प्रहरीद्वारा छापा

ददि सापकोटा

पेरिस — युरोभरि नक्कली कोभिड पासको बिगबिगी भएपछि प्रहरीले विभिन्न ठाउँमा छापा हानेको छ । स्पेनी प्रहरीले युरोपियन युनियनको नक्कली कोभिड-१९ स्वास्थ्य पास बेचेको आशंकामा सात जनालाई मंगलबार पक्राउ गरेको छ ।

मंगलबार पक्राउ गरिएको समूहले स्पेनको राष्ट्रिय खोप सूचीमा रहेका अनुमानित १,६०० व्यक्तिहरूलाई गलत रूपमा खोप पास दर्ता गरेको आरोप लागेको छ ।

स्पेनी अधिकारीहरूले नक्कली पास बेच्ने समूहको नेतालाई पनि पहिचान गरेको तर फ्रान्समा कार्यरत रहेको भन्दै फ्रान्सेली समकक्षीहरूलाई सूचित गरेको मंगलबार सार्वजनिक गरेका छन् । त्यस्तै, फ्रान्सको लियोन सहरका एक दम्पतीलाई एक हजार भन्दा बढी नक्कली कोभिड-१९ स्वास्थ्य पास बेचेको आशंकामा पक्राउ गरिएको छ ।

दम्पतीलाई गत गर्मी याममा जिरोंदमा एक फ्रान्सेली नर्सको खाता ह्याक गरी नक्कली प्रमाणपत्रहरू सिर्जना गरेको आरोप लागेको छ । उनीहरुलाई धेरै महिना लामो अनुसन्धानपछि मंगलबार पक्राउ गरिएको बोर्दो सहरको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

तिनीहरूले ल ताइयों मेदक भन्ने ठाउँमा रहेको क्लिनिकमा नर्सको रेकर्ड पहुँच गर्न "अज्ञात सफ्टवेयर" प्रयोग गरेको प्रहरीले पत्ता लगाएको हो । लियोन सहरको बाहिरी भागमा बस्ने एक जोडीलाई साइबर आक्रमण गरी पास बनाएको पत्ता लगाइएको थियो । प्रहरीले तिनबाट एक ह्यान्डगन, ९ हजार युरो, लगभग २० मोबाइल फोन र धेरै ठूलो संख्यामा डिजिटल मिडियासमेत जफत गरेको थियो ।

स्पेनी प्रहरीले अन्तर्राष्ट्रिय अपराधी गिरोहले देशको खोप दर्ता स‌ंयन्त्रमा पहुँच प्राप्त गर्न मद्दत गर्न स्वास्थ्य पेशेवरहरू पनि भर्ती गरेको हुन सक्ने आशंका गरेको छ । गोप्य पहुँच कोडहरूको सम्भावित चोरीको बारेमा थप अनुसन्धान भइरहेको भनाइ प्रहरीको छ । यसरि नक्काली खोप पास बेच्नेहरु जर्मनी, फ्रान्स, डेनमार्क, इटाली, पोर्चुगल, ग्रीस, बेल्जियम, स्विजरल्यान्ड, स्लोभेनिया, रोमानिया, अष्ट्रिया गायतका दर्जनौं देशमा फेला परेपछि प्रहरीले विभिन्न ठाउँमा छापा हानेको हो ।

फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभिय भेरानले पछिल्लो समय अस्पतालम भर्ना भएका बिरामीहरु मध्ये ३० प्रतिशत नककली कोभिड पास भएकाहरु फेला परेको बताएका छन् । अस्ट्रियामा प्रहरीले नक्कली खोप पासको शंकास्पद बिक्री भएको भन्दै तिनको खोजतलास गर्न देशव्यापी छापा मारेको छ ।

नक्कली कागजातको प्रयोग र जालसाजी गरेको आशंकामा कुल २२ जनामाथि अनुसन्धान भइरहेको अष्ट्रियाको गृह मन्त्रालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । अष्ट्रियन प्रहरीको विज्ञप्तिअनुसार संदिग्धहरूमध्ये अधिकांश खोप अभियान विरोधी हुन् र तिनीहरुले आफू र आफ्ना परिवारकालागि नककली खोप पास बनाउन समूहहरू बनाएका छन् ।

नक्कली पास बिक्रेताहरु फेसबुक, इस्ताग्राम, टेलिग्राम, ट्विटर अन्य अनुप्राग (एयाप्स) हरु प्रयोग गरेर नक्कली खोप पास बिक्री गरिरहेको फ्रान्सका सुरक्षा अधिकारीहरुले सार्वजनिक गरेका छन् । छापा मार्ने क्रममा प्रहरीहरुले धेरै नक्कली खोप पासका साथै मोबाइल फोन र कम्प्युटरहरू जफत गरेका छन् ।

युरोन्युजका अनुसार अस्ट्रियाले अप्रिल २०२१ मा नक्कली खोप प्रमाणपत्रहरूको बिक्री विरुद्ध लड्न सुरक्षा अधिकारीहरुको छुट्टै समूह स्थापना गरेको थियो । त्यसपछि पनि नक्कली खोप पास कायम रहेको सुरक्षाकर्मीहरुले उल्लेख गरेका छन् ।

इटालीमा ४५ जनालाई नक्कली कोरोना खोप दिएको आरोपमा एक जना इटालियन नर्सलाई दुई साता अघि पक्राउ गरिएको थियो । ती नर्सले खोपहरू फ्याँकिदिएको र पत्ता नलगाउन् भनी बच्नका लागि बिरामीहरूलाई ब्यान्डेज लगाइदिएको प्रहरीले बताएको छ ।

बेल्जियममा एक जना चिकित्सकले करिब पाँच सय नक्कली खोपको प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका थिए । उनीमाथि सरकारी अदलातमा मुद्दा चलाइएको छ ।

संदिग्धहरूले कोविड-१९ अस्वीकार गर्ने र खोप विरोधीहरूलाई लक्षित गरेर अनलाइन सन्देश फोरमहरूमा नक्कली परीक्षण परिणाम र खोप प्रमाणपत्रहरूको विज्ञापन गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार नक्कली पीसीआर परीक्षणको नतिजा करिब ५० युरो र नक्कली खोप पासहरू जनहि दुई सय युरोदेखि एक हजार युरोसम्म बिक्री गरेको अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन् । समूहले क्रिप्टोकरेन्सीहरूमा नक्कली स्वास्थ्य पासहरूको लागि भुक्तान माग गरेको र विदेशी बैंक खाताहरू प्रयोग गरी रकम लिएकाले पत्ता लगाउन कठिन भएको प्रहरी अधिकारीहरुले उल्लेख गरेका छन्

कफी सप, यातायात, सिनेमा वा कतै सार्वजनिक स्थलमा जाँदा कोरोना खोपको पूर्ण मात्रा लगाएको, कोरोना लागेर निको भएको वा पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण नभई नहुने भएपछि खोपमा विश्वास नभएका वा लगाउन आवश्यक नठानेकाहरुले यस्तो नक्कली पास लिएर छल्न थालेका हुन् ।

स्वास्थ्य पास लिनका लागि आफ्नो स्वास्थ्य परिचय पत्रको नम्बर र अन्य व्यक्तिगत परिचय खुलाउनुपर्छ

प्रकाशित : माघ १२, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्

क्षेप्यास्त्र परीक्षण तीव्र पार्दै उत्तर कोरिया

कान्तिपुर संवाददाता

सोल (एजेन्सी) — कोभिड–१९ को महामारीसँगै केही समय शान्त रहेको उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र प्ररीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार उत्तरले मंगलबार पुनः पूर्वी सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जनवरी महिनामा मात्रै क्षेप्यास्त्र परीक्षण गरेको यो ५ औं पटक हो ।

यसअघि उसले जनवरी ५ र ११ मा हाइपरसोनिक, जनवरी १४ मा दुई रेल तथा कारबाट प्रहार गर्न मिल्ने छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र र जनवरी १७ मा दुईवटा रणनीतिक रूपमा निर्देशितसहित ४ क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

दक्षिण कोरियाली सेनाका अनुसार तीमध्ये कतिपय क्षेप्यास्त्र उत्तर कोरियाली राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको हो । उत्तरले ती क्षेप्यास्त्र तटीय क्षेत्रमा प्रहार गरेको हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई क्षेप्यास्त्र तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उसले त्यसको बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिँदै आएको हो । त्यसैगरी, अमेरिका र युरोपेली संघले पनि उत्तर कोरियामाथि आर्थिकलगायत नाकाबन्दी लगाउँदै आएका छन् ।

उत्तरले शृंखलाबद्ध रूपमा क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिण कोरिया, जापान र अमेरिकाले त्यसको निन्दा गर्दै आएका छन् । उत्तर कोरियाली गतिविधिले क्षेत्रीय शान्ति र सुरक्षा खतरामा पारेको जापानको भनाइ छ । जापानी रक्षामन्त्री नोबुओ किसीले पछिल्ला दिनमा उत्तरले क्षेप्यास्त्र विकासमा जोड दिएको भन्दै त्यसको विरोध गरेका छन् । ‘उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र प्रक्षेपण जापानसहित अन्तर्राष्ट्रिय समुदायका लागि विनाशकारी समस्या हो,’ उनको भनाइ छ ।

त्यस्तै, अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले उत्तर कोरियाको अवैध हतियार कार्यक्रमले अस्थिरता निम्त्याउने जनाएको छ । तर त्यस्ता प्रक्षेपणले अमेरिका र उसका सहयोगीलाई तत्काल कुनै खतरा नपर्ने कमान्डको दाबी छ । जनवरी १४ मा परीक्षण गरिएका हाइपरसोनिक क्षेप्यास्त्र भने उत्तर कोरियाली नेता किम जोङ–उनले अवलोकन गरेका थिए । क्षेप्यास्त्र परीक्षणका क्रममा उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी प्रतिबन्धको कडा आलोचना गरेका थिए ।

जनवरी महिनामा उत्तरले गरेको प्रक्षेपण गति भने अस्वाभाविक देखिएको छ । कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाली सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यासको कडा विरोध जनाउन उत्तरले क्षेप्यास्त्र परीक्षणको गति बढाएको हो । त्यसका साथै आफ्ना क्षेप्यास्त्रको क्षमता विकसित गर्न तथा तयारी अवस्थामा राख्न उत्तरले त्यस्ता परीक्षण गर्ने गरेको जानकारहरू बताउँछन् । पछिल्ला परीक्षण त्यसको निरन्तरता भएको अमेरिकाको वासिङ्टनस्थित एक अन्तर्राष्ट्रिय थिंकट्यांक संस्थाका विज्ञ अंकित पन्डा बताउँछन् । ‘किम जोङ–उनले अन्तर्राष्ट्रिय समुदायलाई देश आर्थिक रूपमा अप्ठ्यारो अवस्थामा रहेको भए पनि प्रतिरक्षा नीति प्राथमिकतामा रहेको सन्देश दिन चाहन्छन्,’ उनले भने ।

पछिल्लो समय उत्तर कोरिया चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । कोभिड–१९ को महामारी नियन्त्रणका लागि नाकाबन्दी गरेपछि खाद्यान्न अभाव भएको छ । केही साताअघि दलको वार्षिक बैठकका क्रममा नेता किमले ‘देशले जीवन र मरणबीच संघर्ष गरिरहेको’ स्वीकार गरेका थिए ।

देश विकास र जनताको जीवनस्तर सुधार्नु नै सन् २०२२ को प्रमुख लक्ष्य भएको उनको भनाइ थियो । तर कोरियाली द्वीपमा आफ्नो देशको प्रतिरक्षा क्षमता सुदृढ पार्ने क्रम भने जारी रहने तर त्यसका लागि तयारी भइरहेको किमले बताएका थिए । त्यसको केही दिनमा उत्तरले क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको हो । उत्तर कोरियाले सन् २०१७ मा ह्वासोङ–१५ क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

उक्त क्षेप्यास्त्रले प्रशान्त महासागरको गुआम रहेको अमेरिकी सैन्य अखडामा प्रहार गर्न सक्छ । त्यसैगरी, जो बाइडेन अमेरिकी राष्ट्रपति भएसँग दुई देशबीचको परमाणु वार्ता पनि अवरुद्ध छ । उत्तरले जनवरी सुरुमा क्षेप्यास्त्र परीक्षण गरेपछि बाइडेन प्रशासनले केही प्रतिबन्धहरू लागू गरिसकेको छ । दक्षिण कोरियास्थित एक विश्वविद्यालयका उत्तर कोरिया मामिलाका प्राध्यापक पार्क वन–गोन ‘पछिल्ला परीक्षण त्यसको कडा जवाफ भएको’ बताउँछन् ।

उत्तर कोरियाले पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएपछि छिमेकी देश चीन पनि असन्तुष्ट देखिएको आकलन गरिएको छ । यद्यपि, चीनले संवादमार्फत तनाव कम गर्न सबै पक्षलाई आग्रह गर्दै आएको छ । राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिक्सको केही दिन अघि चीनले यस्ता गतिविधि स्वागत नगर्ने कपितय विश्लेषकहरूको बुझाइ छ ।

प्रकाशित : माघ १२, २०७८ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×