‘ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्छ’- विश्व - कान्तिपुर समाचार

‘ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूले ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्ने सम्भावना रहेको बताएका छन् । आगामी मार्चसम्म ६० प्रतिशत युरोपेली नागरिक ओमिक्रोनबाट संक्रमित हुने सम्भावना रहेको उल्लेख गर्दै उनले युरोपमा छिट्टै महामारी अन्त्य हुन सक्ने बताएका हुन् ।

ओमिक्रोन फैलिइसकेपछि केही समयपछि संक्रमण कम हुने उनले समाचार संस्था एएफपीसँगको कुराकानीमा भनेका छन् । संक्रमणकै कारण ‘वैश्विक प्रतिरक्षा’ वा खोपका कारण बनेको प्रतिरक्षा प्रणालीले महामारी अन्त्यको दिशामा जाने उनको भनाइ छ ।

‘यो वर्षको अन्त्यतिर कोरोना संक्रमण कम हुनेछ, तर फेरि महामारीकै रूपमा फर्किन्छ भन्ने होइन,’ उनले भने । तर कोरोनालाई अहिले नै स्थानिक प्रकोप(इन्डेमिक) का रूपमा लिन भने नहुने उनको चेतावनी छ । ‘यहाँ धेरैले इन्डेमिकको कुरा गरेका छन् । तर भाइरसले हामीलाई धेरै पटक झुक्याएको छ । त्यसैले निकै सावधानी अपनाउनुपर्ने छ,’ उनले भने । त्यस्तै ओमिक्रोन छ्यापछ्याप्ती भएसँगै कोरोनाको अर्को भेरिएन्ट पनि देखिन सक्ने उनको चेतावनी छ ।

डब्लूएचओका अनुसार युरोप, मध्य एसियामामा नयाँ केसमध्ये १५ प्रतिशत(जनवरी १८ को तथ्यांकअनुसार) ओमिक्रोन भेटिएको छ । अघिल्लो हप्ता उक्त संख्या ६.३ प्रतिशत थियो ।

डा. क्लूले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मानिसहरूले आफ्नो व्यक्तिगत उत्तरदायित्व पनि पूरा गर्नुपर्ने बताए । ‘यदि तपाईंलाई सन्चो छैनजस्तो लाग्छ भने घरमै बस्नुहोस् । आफै परीक्षण गर्नुहोस् । यदि पोजिटिभ देखियो भने आइसोलेसनमा बस्नुहोस्,’ उनले भने ।

‘कोरोना महामारी अन्त्यका लागि खोपको चौथो मात्रा पनि छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई थाहा छ खोपको प्रत्येक मात्रा लगाइसकेपछि प्रतिरक्षा प्रणाली बढ्छ ।’

अमेरिकी राष्ट्रपतिका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले पनि अमेरिकामा कोरोना केस घटिरहेको बताएका छन् । यसले पनि ‘महामारी रोकथाम सही बाटोमा गइरहेको’ अनुमान गर्न सकिने उनको भनाइ छ ।

कोरोना महामारीका कारण विश्वभर करिब ५६ लाखको मृत्यु भएको छ । त्यसमध्ये १७ लाख युरोपकै रहेका छन् ।

प्रकाशित : माघ १०, २०७८ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा करेन्ट लागेर एकको मृत्यु

सम्झना रसाइली

तनहुँ — तनहुँको ऋषिङ गाउँपालिकामा सोमबार बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ-८ का करिब ७२ वर्षीय दलबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

अजम्बरी सल्लाघारीको जंगलमा दाउरा खोज्न जाने क्रममा बिजुलीको लाइनमा छुन गई करेन्ट लागेर घटनास्थलमै मुत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

घटनास्थललाई सुरक्षित गरी थप अनुसन्धन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७८ १२:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×