३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पुरानै लयमा फर्कंदै बेलायत

स्वास्थ्य मापदण्ड खुकुलो, होलिडे बुकिङ सुरू, गत वर्षको तुलनामा बढ्यो रोजगारी
नवीन पोखरेल

लन्डन — कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र फैलिएपछि क्रिसमस तथा नयाँ वर्षताका बेलायतवासीहरू कैयौं प्रतिबन्ध पालना गर्न बाध्य भए । प्लान बीअन्तर्गत मास्क र कोभिड पास अनिवार्य, सम्भव भएसम्म घरैबाट काम जस्ता नियम लागू गरेको सरकारले अब ती सबै प्रतिबन्ध हटाउने घोषणा गरेको छ । 

पुरानै लयमा फर्कंदै बेलायत

ओमिक्रोन संक्रमण क्रमशः घट्न थालेपछि यसअघि लागू गरिएका प्रतिबन्धहरू हटाउने निष्कर्षमा सरकार पुगेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले ‘प्लान बी’ नियम आगामी बुधबारदेखि हटाइने घोषणा गरिसकेका छन् । घरैबाट काम गर्ने निर्देशिका हटिसकेको छ ।

इंग्ल्यान्डजस्तै स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डमा पनि प्रतिबन्ध हटाइँदै छ । नाइट क्लब र ठूला इभेन्टमा अनिवार्य गरिएको कोभिड पास आगामी बिहीबारदेखि हट्नेछ ।

सार्वजनिक स्थलहरूमा फेस मास्क अनिवार्य हुने नियम पनि हटाइने छ । माध्यमिक तहका विद्यार्थीले अब कक्षा कोठामा फेस कभर गर्नु पर्दैन । यात्रा प्रतिबन्ध र केयर होमका नियम पनि हट्ने तरखरमा छ । इंग्ल्यान्डमा कोरोना पोजिटिभ भएका व्यक्तिले ५ दिनमात्र आइसोलेसन बसे हुने नियम गत सोमबारदेखि लागू भइसकेको छ । यसअघि आइसोलेसन अवधि १० हुँदै ७ दिनमा झरेको थियो ।

आउँदो २४ मार्चदेखि त पोजिटिभ रिपोर्ट आएका व्यक्तिले पनि सेल्फ आइसोलेसन बस्नुनपर्ने नियम ल्याउने सरकारको तयारी छ । तर, यो कोभिड संक्रमण दरमा निर्भर हुने जनाइएको छ । दुवै खोप लगाइसकेका यात्रुलाई बेलायत आइसकेपछि दोस्रो दिन (डे टु) मा ल्याटरल परीक्षण गर्नुपर्ने नियमसमेत आउँदो साता हटाउने अपेक्षामा पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।

फेब्रुअरी हाफ टर्म ब्रेक र इस्टर होलिडेलाई लक्षित गर्दै थोमस कुक, एक्सपेडिया, जेट टु जस्ता कम्पनीले होलिडे बुकिङलाई प्राथमिकता दिन सुरु गरिसकेका छन् । बेलायतको बर्मिङघम विश्वविद्यालयमा औषधि विज्ञानका सहप्राध्यापक डा. विभु पौड्याल कोभिड महामारी पूर्ण अन्त्य भइनसकेकाले वैज्ञानिक दृष्टिकोणमा प्रतिबन्धहरू खुकुलो गरिहाल्न उचित देख्दैनन् । ‘सरकारले अर्थतन्त्र चलायमान बनाउन र दैनिक जीवनयापन सन्तुलन गर्न प्रतिबन्धहरू हटाउने तयारी गरेको हुन सक्छ । तर कोरोनाका भेरिएन्ट भविष्यमा अरू पनि थपिने सम्भावना कायमै छ,’ पौड्यालले कान्तिपुरसँग भने ।

त्यसो त बेलायतको रोजगार क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा फर्किइसकेको विभिन्न रिपोर्टले देखाएका छन् । कोभिडको पछिल्लो ओमिक्रोन भेरिएन्टको तीव्र संक्रमणको बाबजुत पनि बेलायतमा डिसेम्बरमा १ लाख ८४ हजार मानिसले नयाँ जागिर पाएका तथ्यांकमा छ ।

नोभेम्बरको तुलनामा डिसेम्बरमा बेलायतमा 
रोजगारी संख्या ०.६ प्रतिशतले बढेको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोभिड महामारी सुरु हुनुपूर्व सन् २०२० फेब्रुअरीको तुलनामा १.४ प्रतिशत बढीले अहिले रोजगारी पाएका छन् ।

बेलायत सरकारले बुस्टर खोपलाई बढी प्राथमिकता दिँदै प्रतिबन्धहरू हटाउँदै गएको हो । प्रधानमन्त्री जोन्सनले विगतदेखि नै लकडाउनको पक्षमा आफू नभएको बताउँदै आएका थिए । केही साताअघि कोभिड पासको नियम राख्ने प्रस्ताव संसद्मा लैजाँदा प्रधानमन्त्रीले आफ्नै दल कन्जरभेटिभका एक सयभन्दा बढी सांसदको विरोध सामना गर्नुपरेको थियो । लकडाउन गरे अर्थतन्त्र फेरि संकटोन्मुख हुने चिन्ता सरकारलाई छ ।

प्रकाशित : माघ ९, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?