‘पुटिनले युक्रेनमा युद्ध चाहेका छैनन्’: बाइडेन

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन मामिलामा रुस आक्रामक नहुने दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘हस्तक्षेप गर्न चाहेका भए पनि पूर्ण आकारको युद्ध नचाहेकामा आफू विश्वस्त रहेको’ बाइडेनको भनाइ छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने विषयमा एक पत्रकारको प्रश्नमा बाइडेनले भने, ‘मेरो विचारमा उनी (पुटिन) अघि बढ्छन् । उनलाई केही गर्नुपर्ने भएको छ ।’

‘पुटिनले युक्रेनमा युद्ध चाहेका छैनन्’: बाइडेन

के त्यसो भए अमेरिकाले एउटा सानो हमला स्वीकार गर्छ ? भन्ने पत्रकारको प्रश्नमा बाइडेनले रुसी राष्ट्रपति पुटिनले पश्चिमा विश्वको परीक्षा लिन चाहेका भए ‘गम्भीर मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन् ।

राष्ट्रपति बाइडेनको भनाइलगत्तै ह्वाइटहाउसले एक विज्ञप्ति जारी गर्दै रुसको सैनिक कदमविरुद्ध भने पश्चिमा देशले कडा जवाफ दिने उल्लेख गरेको छ । ‘यदि रुसी सेना युक्रेनभित्र पसे भने त्यो नयाँ हस्तक्षेप हुनेछ र अमेरिका र उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ पाउने निश्चित छ,’ ह्वाइटहाउसकी प्रेस सचिव जेन साकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

युक्रेनमाथि आक्रमण गरेको खण्डमा अमेरिकाले रुसविरुद्ध हालसम्मकै कडा प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएका छन् । राष्ट्रपतिमा बहाल गरेको एक वर्ष पुगेका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले आफ्ना छिमेकीमाथि रुसी हमला भए त्यसको नतिजा सम्हाल्न नसकिने द्वन्द्वका रूपमा अघि बढ्ने चिन्ता व्यक्त गरे ।

रुसले युक्रेनी सीमानजिकै कम्तीमा एक लाख सेना तैनाथ गरेको छ । तर उसले युक्रेनमाथिको अतिक्रमणका लागि तयारी गरिएको भन्ने अमेरिकी आरोप अस्वीकार गरेको छ । रुसी राष्ट्रपति पुटिनले पश्चिमा सरकारहरूसँग राखेका कैयौं मागमध्ये युक्रेन नाटोमा कहिल्यै संलग्न नहोस् भन्ने हो । त्यसका साथै उक्त रक्षा गठबन्धनका सैन्य गतिविधि सदस्य देशभित्रै सीमित रहुन् भन्ने रुसको माग छ ।

तर रुसका केही मागहरू पूर्वसर्तका रूपमा रहेका भन्दै पश्चिमा देशहरूले अस्वीकार गरेपछि दुई पक्षबीचको वार्ता असफल हुँदै आएको छ । युक्रेन भ्रमण र बर्लिनमा युरोपेली साझेदारसँग भेटेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसी समकक्षी सर्गेई ल्याभरोभलाई स्विट्जरल्यान्डको जेनेभामा भेट्दै छन् ।

फ्रान्सेली राष्ट्रपति एम्मानुएल माक्रोंले भने युरोपेली र युरोपेलीले संसद्ले मस्कोसँग छुट्टै वार्ता गर्नुपर्ने बताएका छन् । सन् २०१४ मा युक्रेनले आफ्नो दक्षिणी क्षेत्रको क्रामिया द्वीपका रुसी पक्षधर राष्ट्रपतिलाई अपदस्थ गरिदिएको थियो । त्यसलगत्तै रुसले उक्त भूभागलाई आफ्नोमा गाभेको थियो ।

त्यसयता युक्रेनी सेना पूर्वी सीमामा रुस समर्थित विद्रोहीसँग युद्ध लड्दै आएको छ । उक्त युद्धमा करिब १४ हजारले ज्यान गुमाउनुका साथै २० लाखभन्दा बढी विस्थापित भएका छन् । पछिल्ला दिनमा युद्ध पुनः चर्केने र रुसी सेनाले सीमा पार गर्ने देखिएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : माघ ७, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?