१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

इन्डोनेसियाको नयाँ ‍राजधानी नुसन्तारा

काठमाडौँ — इन्डोनेसियाको राजधानी परिवर्तन हुने भएको छ । त्यहाँको सरकारले मंगलबार देशको राजधानी परिवर्तन गर्ने विधेयक पारित गरेपछि अब इन्डोनेसियाको नयाँ राजधानी नुसन्तारा हुने भएको हो ।

इन्डोनेसियाको नयाँ ‍राजधानी नुसन्तारा

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०१९ मै इन्डोनेसियाको राजधानी जकार्तामा बाढीको प्रकोप ज्यादा हुने भएकाले नुसन्तारालाई नयाँ राजधानीको रुपमा कायम गर्ने बताएका थिए । सोही समयमा तयार भएको विधेयक अहिले आएर पारित भएको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ ।

राष्ट्रपति विडोडोले राजधानी परिवर्तन गर्नुको मुख्य कारण पर्यावरणीय समस्या र बढ्दो वित्तीय अस्थिरता रहेको बताएका छन् ।

जकार्तामा भइरहने बाढीको प्रकोप र अत्यधिक भीडभाडका कारण पनि राजधानी परिवर्तन गर्न लागिएको त्यहाँको सरकारले बताएको छ । जकार्तालाई विश्वमै सबैभन्दा छिटो जलमग्न हुने शहरको रुपमा चिन्ने गरिन्छ ।

नयाँ राजधानीका लागि सिफारिस गरिएका ८० भन्दा धेरै शहरको सूचीबाट राष्ट्रपति विडोडोले नुसन्तारालाई नयाँ राजधानीका लागि छनोट गरेका थिए ।

सन् २०२४ सम्ममा पहिलो चरणको काम पूरा हुने
सन् २०२४ मा इन्डोनेसियाको राजधानी जकार्ताबाट नुसन्तारा सार्ने पहिलो चरणको काम पूरा हुने बताइएको छ । नुसन्ताराको कूल क्षेत्रफल २ लाख ५६ हजार १ सय ४२ हेक्टर रहेको छ । पहिलो चरणको काम सकिएपछि मात्र नुसन्तारामा अन्तर्राष्ट्रिय संगठनसँग सम्बन्धित कार्यालयहरू रहने बताइएको छ ।

राष्ट्रपतिको हस्ताक्षरपछि सुरु हुनेछ आधिकारिक प्रक्रिया
नयाँ राजधानी निर्माणका लागि यसअघि विशेष कमिटी गठन गरिसकिएको छ । संसद्‌बाट विधेयक पारित भइसकेको र अब राष्ट्रपति विडोडोले त्यसमा हस्ताक्षर गरेपछि आधिकारिक रुपमा राजधानी परिवर्तनको काम सुरु गरिने बताइएको छ ।

राजधानी परिवर्तन गर्न कुल ३३ बिलियन डलर खर्च हुने इन्डोनेसियन सरकारले जनाएको छ ।

यसअघि ब्राजिल, नाइजेरिया, कजाकिस्तान, म्यान्मारलगायत देशको पनि राजधानी परिवर्तन गरिएको थियो । ब्राजिलको राजधानी रियो डी जेनेरियोबाट परिवर्तन गरी ब्रासिलिया बनाइएको थियो । त्यस्तै नाइजेरियाको राजधानी लागोसबाट अबुजा, कजाकिस्तानको राजधानी अलमाटीबाट नुर सुल्तान र म्यान्मारको राजधानी रङ्गुनबाट परिवर्तन गरी न्यपिदअ कायम गरिएको थियो ।

प्रकाशित : माघ ६, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?