ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस- विश्व - कान्तिपुर समाचार

ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस

नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने दोहोर्‍याएका छन् ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस फाइल तस्बिर : रोयटर्स

नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने बताएका छन् । 'ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ,' उनले भने ।

उनका अनुसार विश्वभर नै भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले गर्दा धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको छ । उक्त अवधिमा ती देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलै दबाब पर्ने उनले बताएका छन् ।

'ओमिक्रोनको फैलिने क्रमलाई रोक्नका लागि म सबैलाई आ-आफ्नो स्थानबाट सकेको मद्दत गर्न अपिल गर्छु,' उनले भनेका छन्, 'ओमिक्रोनबाट बच्ने सहज अस्त्र भनेकै खोप हो । त्यसैले खोप नलगाएकाहरुलाई म खोप लगाउनका लागि पनि आग्रह गर्छु ।'

उनले ओमिक्रोनको प्रकोपका कारण महामारी निकट भविष्यमा नै अन्त्य हुने लक्षण नदेखिएको बताउँदै सम्भवत: नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी दिए । उनले ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि उनले जानकारी दिए ।

डा. टेड्रोसले अर्को साता ३४ राष्ट्र सहभागी हुने विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्ड बैठक पनि बस्न गइरहेको बताउँदै, सो बैठकको प्रमुख एजेण्डा पनि महामारी र खोपको समतामूलक वितरणमै केन्द्रित हुने बताए ।

प्रकाशित : माघ ५, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

सर्‍यो ग्रामी अवार्ड 

कान्तिपुर संवाददाता

काठमाडौँ — जनवरी ३१ मा आयोजना गरिने भनिएको संगीत क्षेत्रको चर्चित अवार्ड ग्रामीको नयाँ मिति तोकिएको छ ।  कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि आयोजकले अप्रिल ३ लाई लस भेगासमा ग्रामीको ६४ ‍औं संस्करण गरिने जानकारी दिएको हो । 

यसअघि गायक जस्टिन बिबर, बिली एलिस, ओलिभिया रोड्रिगो मनोनयनमा परेको अवार्ड लस एन्जलसमा गरिने तयारी थियो । अब भने लस भेगासको एमजीएम ग्रान्ड गार्डेन एरिनामा अवार्ड कार्यक्रम गरिने बताइएको छ ।

'हामी ग्रामीलाई पहिलो पल्ट लस भेगासमा गर्न अत्यन्त उत्साहित छौं, 'रेकर्डिङ एकेडेमीका प्रमुख कार्यकारी अधिकृत हार्वे मेसनले बताए,'ग्रामीको मिति सारिएसँगै कलाकारहरुले देखाइदिनु भएको साथ र समझदारीको लागि आभारी छौं ।'

कोभिड महामारीकै कारण कार्यक्रमहरु सार्नुपरेको यो पहिलो घटना होइन । फिल्म र टेलिभिजनतर्फ गरिने क्रिटिक्स अवार्ड र प्रोड्युसर्स गिल्ड अवार्ड्सले पनि अर्को मितिमा कार्यक्रम सारेका छन् । यही हप्ता सन्डान्स फिल्म फेस्टिभल पनि भर्चुअली आयोजना हुँदैछ । ग्रामीको एक हप्तापछि अस्कर अवार्ड गरिनेछ । अस्करले अहिलेसम्म मार्च २७ को मितिलाई सारिसकेका छैनन् ।

प्रकाशित : माघ ५, २०७८ १३:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×