समाजवादी पार्टीकी नेता अर्पणा यादव बीजेपी प्रवेश


काठमाडौँ — आगामी ५ फेब्रुअरीदेखि भारतका विभिन्न ५ राज्यमा विधानसभा चुनाव हुँदैछ । चुनावका लागि पार्टीहरूले भर्चुअल र्यालीलाई तीव्रता दिएका छन् । यसबीचमा नेताहरूले दल अदलबदल गर्ने क्रम पनि जारी छ । सबैभन्दा चासोका साथ हेरिएको बीजेपीशासित उत्तर प्रदेशमा पार्टी परिवर्तन गर्ने क्रम जारी छ ।



केही दिनअघि केही मन्त्रीसहित बीजेपीका एक दर्जन विधायक समाजवादी पार्टीमा प्रवेश गरेका थिए । विशेषगरी दलित र अल्पसंख्यक समुदायलाई मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले बेवास्ता गरेको भन्दै केही स्वामीप्रसाद मौर्यलगायतका प्रभावशाली नेता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पछिल्लो पटक भने समाजवादी पार्टीकी नेता अपर्णा यादव बीजेपी प्रवेश गरेसँगै फेरि एक पटक उत्तर प्रदेशको राजनीतिमा तरंग पैदा भएको छ ।
अपर्णा नेता मुलायमसिंह यादवकी बुहारी हुन् । उनी पूर्वमुख्यमन्त्री अखिलेश यादवका भाइ प्रतीक यादवकी श्रीमती हुन् । अपर्णा बुधबार बीजेपी प्रदेश अध्यक्ष स्वतन्त्रदेव सिंह र उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको उपस्थितिमा पार्टी प्रवेश गरेकी हुन् । अपर्णाले बीजेपीको अभियानबाट प्रभावित भएको बताएकी थिइन् ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिबाट प्रभावित भएको ‘स्वच्छ भारत अभियान’ लगायतका बीजेपीका नीति तथा कार्यक्रमबाट प्रभावित भएको बताइन् । उनले पत्रकार सम्मेलनमा भनिन्, ‘म प्रधानमन्त्री मोदीबाट निकै प्रभावित छु । स्वच्छ भारतजस्ता बीजेपीका अभियानबाट म सधैं प्रभावित छु । मेरा लागि राष्ट्रधर्म सबैभन्दा आवश्यक कुरा हो । म त्यही बाटोमा हिँड्छु ।’
अपर्णा सन् २०१७ मा विधानसभा चुनावअघि पनि बीजेपीमा जान लागेको अड्कलबाजी गरिएको थियो । चुनावअघि उनले योगी आदित्यानाथलाई भेटेकी पनि थिइन् । उनी समाजवादी पार्टीबाट लखनउ क्यान्टोनमेन्ट सिटबाट चुनावमा उठिन् तर उनलाई बीजेपीकी उम्म्ेदवार रीता बहुगुणा जोशीले हराइन् । अपर्णाले अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । यसपटक चुनावअघि नै समाजवादी नेतृत्वको परिवारबाटै बीजेपी प्रवेश गर्नुले कति असर गर्छ भने हेर्न बाँकी छ ।
प्रकाशित : माघ ५, २०७८ १२:५२