कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दिल्लीमा लगातार पाँचौं दिन घट्यो संक्रमण

अघिल्लो दिनको तुलनामा मंगलबार केही बढीले कोरोना परीक्षण गराएका भए पनि संक्रमित संख्या र दर कम
राजेश मिश्र

नयाँदिल्ली — भारतको दिल्ली प्रदेशमा पछिल्लो समय दैनिक रूपमा लगातार कोरोना संक्रमितको संख्या घटेको छ । लगातार पाँचौं दिन मंगलबार संक्रमितको संख्यामा कमी आएको छ । मंगलबार ११ हजार ६ सय ८४ जना संक्रमित भेटिएका छन् ।

दिल्लीमा लगातार पाँचौं दिन घट्यो संक्रमण

एक दिन अगाडि १२ हजार ५ सय २७ संक्रमित भेटिएका थिए । त्यसभन्दा अघिल्लो दिन १८ हजारभन्दा बढी संक्रमित पाइएको थियो । जनवरी १४ मा दिल्लीमा २४ हजार ३ सय ८३ संक्रमित भएका थिए । चार दिनपछि जनवरी १७ मा उक्त संख्यामा ५० प्रतिशतले कमी आएको थियो । जनवरी १५ मा २० हजार १ सय ७८ र जनवरी १६ मा १८ हजार २ सय ८६ संक्रमित भएका थिए ।

केही दिनयता संक्रमण दर पनि घटेको छ । मंगलबार संक्रमण दर २२.४७ मा झरेको छ । सोमबारको संक्रमण दर २७.९९ प्रतिशत थियो । यसअघि संक्रमण दर ३० प्रतिशतभन्दा माथि पुगेको थियो ।

दिल्लीमा कुल सक्रिय संक्रमित ८३ हजार छन् । नयाँ संक्रमितको संख्या कम भए पनि संक्रमण दर स्थिर पाइएकाले विशेषज्ञले संक्रमण शिखरमा पुगिसकेको घोषणा गर्ने बेला भइनसकेको बताएका छन् । सप्ताहान्तमा कर्फ्यु, कार्यालयहरू बन्दलगायत प्रतिबन्धात्मक कदमले संक्रमितको संख्या घटाउन मद्दत पुगेको बताइएको छ । गत वर्ष डेल्टा भेरिएन्ट ४ सातामा उच्च तहमा पुगेको थियो । अहिलेको तेस्रो लहरले भने जनवरी दोस्रो साताबाट गति समातेकाले अहिले नै शिखरमा पुगेको भन्न नसकिने विज्ञहरू बताउँछन् ।

त्यस्तै, पछिल्लो समय परीक्षण गराउनेको संख्या घटेकाले पनि संक्रमित घटेको जस्तो देखिएको अनुमान गरिएको छ । चार दिनयता कोरोना परीक्षण गराउनको संख्या ठूलो अनुपातमा घटेको छ । जनवरी १४ मा ७९ हजार ५ सय ७८ जनाले परीक्षण गराएका थिए । जनवरी १७ मा परीक्षण गराउनेको संख्या ४४ हजार ७ सय ६२ मात्रै छ । जनवरी १८ मा परीक्षण गराउनेको संख्या अघिल्लो दिनभन्दा केही बढेको अवस्थामा पनि संक्रमित संख्या र दर पनि कम हुनुलाई सकारात्मक मानिएको छ । मंगलबार ५२ हजार २ जनाको परीक्षण गरिएको थियो ।

भारतभर पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार नयाँ संक्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा २० हजारले कम हो । एक दिन अगाडि २ लाख ५८ हजार ८९ संक्रमित थपिएका थिए । तीन दिनयता संक्रमितको संख्या घटेको छ । भारतभर सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार पुगेको छ । मृतकको संख्या पनि घटेको छ । अघिल्लो पनि ३ सय ८५ जनाको मृत्यु भएको थियो । मंगलबार सार्वजनिक गरिएको तथ्यांकमा मृतकको संख्या ३ सय ५ छ ।

सबैभन्दा बढी प्रभावित प्रदेश महाराष्ट्र छ । त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ६९ हजार छ । पछिल्लो २४ घण्टामा ४१ हजार ३ सय २७ संक्रमित भेटिएका छन् । त्यहाँ पछिल्लो दिनमा संक्रमण दर भने घटेको पाइएको छ । दैनिक संक्रमण दर ३० प्रतिशतबाट घटेर १३.७ प्रतिशत भएको छ । विशेषज्ञहरूले कोरोना पिकमा पुगेको वा पिकमा पुगेर तल झर्न थालेको त्यसको निर्णयमा पुग्न थप एक साता कुर्नुपर्ने जनाएका छन् ।

कर्नाटकमा ३४ हजार ४७ जना संक्रमित थपिएर सक्रिय संक्रमितहरूको संख्या १ लाख ९८ हजार पुगेको छ । संक्रमण दर १९.२९ प्रतिशत छ । तामिलनाडुमा सक्रिय संक्रमित १ लाख ४२ हजार छन् । पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ७५ संक्रमित थपिएका छन् । संक्रमण दर १७.०४ प्रतिशत छ । पश्चिम बंगालमा संक्रमण दर २७.७३ प्रतिशत छ । यहाँ १ लाख ६० हजार सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थपिएको संख्या १४ हजार ९ सय ३८ हो ।

राजस्थानमा सक्रिय संक्रमित ६३ हजार ४ सय ५ छन् । यहाँ संक्रमण दर १०.३७ प्रतिशत छ । नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा पछिल्लो २४ घण्टामा १७ हजार १ सय ३८ जना संक्रमित थपिएका छन् । यहाँ १ लाख संक्रमित अहिले उपचारका क्रममा होम आइसोलेसनमा वा अस्पतालमा छन् । बिहारमा ५ हजार ४ सय १० संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ८ पुगेको छ ।

प्रकाशित : माघ ४, २०७८ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?