अस्ट्रेलियामा कोभिडबाट एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु- विश्व - कान्तिपुर समाचार

अस्ट्रेलियामा कोभिडबाट एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु

कान्तिपुर संवाददाता

सिड्नी — अस्ट्रेलियामा २४ घन्टायता अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ ।

संक्रमणबाट धेरैको मृत्यु हुन थालेपछि अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले संक्रमण फैलिएको क्षेत्रमा यथाशक्य छिटो ५७ हजार नर्स र एक लाखभन्दा बढी स्वास्थ्य कर्मचारीहरू खटाउने बताएका छन् ।

उक्त क्षेत्रमा पठाइने स्वास्थ्यकर्मीहरू तालिमप्राप्त र अनुभवी हुने भन्दै मन्त्री ग्रेगले ती क्षेत्रमा औषधिको समेत पर्याप्त आपूर्ति गर्ने जानकारी दिए ।

उनले पछिल्ला एक/दुई सातामा कोरोना संक्रमणले देशको स्वास्थ्य प्रणालीलाई केहि दबाबमा पारेकाले यसलाई छिटै नियन्त्रण गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी अस्ट्रेलियामा अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि विगतको तुलनामा बढेको पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : माघ ४, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीमा साना हतियारको बिगबिगी

प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाल–भारतबीचको खुला सीमा क्षेत्रको फाइदा उठाउँदै साना हतियारको कारोबार गर्नेहरूको गिरोह सुनसरीमा सक्रिय रहेको प्रहरीले जनाएको छ । भारतीय हतियार व्यापारीको सहयोगमा नेपालमा साना हतियार भित्र्याउनेको संख्या बढीरहेकोमा प्रहरीले चिन्ता व्यक्त गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले एक महिनाको अवधिमा ६ थान पेस्तोल र एक थान कटुवा पेस्तोलसहित सात जना पक्राउ गरिसकेको छ । प्रहरीले ६ थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउन्ड गोली र कटुवा पेस्तोलमा लाग्ने एउटा थ्रीनटथ्री गोली पनि बरामद गरेको छ । सुनसरीमा एक महिनामै यति धेरै साना हतियार बरामद हुनु र दर्जन बढी पक्राउ पर्नुलाई प्रहरीले हतियार देखाएर व्यापारी व्यवसायीलाई धम्काएर पैसा असुल्ने र स्थानीय प्रदेश र केन्द्रको सम्भावित चुनावमा प्रयोग गर्ने नियत देखिएको अनुमान गरेको छ ।

गत बुधबार र बिहीबारमात्र प्रहरीले इनरुवाबाट चार जनालाई पक्राउ गरी २ थान पेस्तोल र त्यसमा प्रयोग हुने चार थान गोली बरामद गर्‍यो । प्रदेश १ का अपराध अनुसन्धान प्रमुखसमेत रहेका संघीय प्रहरी कार्यालय धरानका प्रवक्ता (एसपी) भीम दाहालले भने भारतसँग सीमा जोडिएको सुनसरीमा छोटो समयमा एकपछि अर्को गर्दै साना हतियार र तिनमा प्रयोग हुने गोली र म्यागजिन बरामद हुनुलाई प्रहरीको सक्रियता बढेको दाबी गरे ।

उनले एक महिनाको अवधिमा पक्राउ परेका र बरामद भएका हतियार कुन प्रयोजनका लागि भित्र्याइएका हुन् भनेर स्पस्ट खुलिनसकेको बताए । तर भारतको सीमावर्ती क्षेत्रमा कतै चुनाव भइरहेको र कतै सकिएपछि यता पनि स्थानीय, प्रदेश र केन्द्रको चुनावको तयारी भइरहेको अवस्थामा ती हतियार भित्रिनुलाई राम्रो संकेत भने मान्न नसकिने एसपी दाहालले बताए ।

सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा पेस्तोलसहित केही व्यक्ति खुलेआम घुमिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेका साधा पोसाकका टोलीले हरिनगर गाउँपालिका–७ घुस्की बस्ने २० वर्षीय सबिर मिया, ३१ वर्षीय सवरेज मिया, २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका–६ बस्ने २३ वर्षीय फरियाद अन्सारीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार ती चारैजना २ थान पेस्तोल र ४ राउन्ड गोलीसहित पक्राउ परेका थिए ।

प्रहरीले पुस १४ मा सुनसरीको दुहवी नगरपालिका–३ बाट १ थान कटुवा पेस्तोलसहित इटहरी उपमहानगरपालिका–१२ खनार बस्ने ३४ वर्षीय ‘काउ’ भनिने सुशील साहलाई पक्राउ गरेको थियो । साहले पेस्तोल बोकेर खुलेआम हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राति साढे १० बजे दुहवी नगरपालिका–३ बाट पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार साह यसअघि पनि हातहतियार खरखजाना मुद्दामा कारबाही भोगिसकेका व्यक्ति हुन् । उनलाई पनि प्रहरीले साना हतियारको कारोबारी भएको जनाएको छ । यसअघि पुस १२ मा सुनसरीको कोसी गाउँपालिका–१ स्थित बीएस होटलबाट भारतको बिहार अररिया जिल्लाको बासमटिया बस्ने ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अन्सारीलाई २ थान पेस्तोलसहित पक्राउ गरिएको थियो ।

राम र अन्सारी आपराधिक समूहका सदस्य भएको नखुले पनि नेपालका आपराधिक समूहलाई हतियार आपूर्ति गर्ने भूमिकामा सक्रिय रहेको प्रहरीको बुझाइ छ । उनीहरूलाई दुई थान पेस्तोलसहित अपराह्न साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोसी–१ स्थित बीएस होटलबाट पक्राउ गरिएको थियो । एसपी सिंहले भने, ‘शंकास्पद अवस्थामा होटलमा बसिरहेको बेला कोठा खानतलासी गर्दा ओछ्यानमा लुकाइराखेको अवस्थामा पेस्तोल २ थान, म्यागजिन ४ थान, ७.७५ एमएमको तीन राउन्ड गोली बरामद गरिएको थियो ।’

बिक्री गर्ने उदेश्यले नै उनीहरू ‘डिल’ का लागि ग्राहक पर्खेर बसेको अनुमान गरिएको छ । प्रहरीले उनीहरूले प्रयोग गरेको मोबाइल १ थान, बीआर ५०के०१४९ नम्बरको मोटरसाइकल र भारतीय नगद २ हजार रुपैयाँसमेत बरामद गरेका थिए । साना हतियारका भारतीय कारोबारी र हतियार किन्ने नेपालका नागरिकहरू लागूपदार्थ प्रयोगकर्तासमेत भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ४, २०७८ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×