१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल प्रहार

जापान र अमेरिकाको आपत्ति
एजेन्सी

सोल — उत्तर कोरियाले दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । जुन यही महिनामा चौथो प्रहार हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको श्रृंखलावद्ध प्रहारबारे बताएसँगै उक्त प्रक्षेपणको संयुक्त राष्ट्रसंघको निन्दा गरेको छ ।

उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल प्रहार

दक्षिण कोरियाली सैन्य गठबन्धनका प्रमुखले उत्तरले सोमबार राजधानी सुनान विमानस्थलबाट दुई ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएका थिए । यस्तै जापान सरकारले पनि उक्त प्रक्षेपणलाई लिएर आपत्ति जनाएको छ । उत्तरको मिसाइल प्रक्षेपणले यस क्षेत्रको शान्ति र सुरक्षा खतरामा पारेको भन्दै जापान सरकारले घटनाको निन्दा गरेको हो ।

जापानी रक्षामन्त्री नोबुओ किशीका अनुसार उक्त क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटीय समुद्रमा खसेको देखिएको थियो । यस्तै उत्तरले लगातार क्षेप्यास्त्र प्रहार गर्नुको उद्देश्य उसको क्षेप्यास्त्र प्रविधि विकास गर्नु भएको नोबुओले बताए ।

'उत्तर कोरियाको बारम्बारको क्षेप्यास्त्र प्रक्षेपण जापानसहित अन्तर्राष्ट्रिय समुदायका लागि विनाशकारी समस्या हो,' जापानी रक्षामन्त्री किशीले बताए ।

यस्तै अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमाण्डले उक्त प्रक्षेपणले अमेरिका वा यसका सहयोगीहरूलाई तत्काल खतरा नपार्ने जनाएको छ । तर यस्ता क्षेप्यास्त्र प्रक्षेपणहरूले उत्तर कोरियाको अवैध हतियार कार्यक्रमको अस्थिर प्रभावलाई जोड दिने जनाएको छ ।

उत्तर कोरियाले भने यसै वर्ष सुरु भएयता श्रृंखलावद्ध रुपमा क्षेप्यास्त्र प्रहार गर्दैआएको छ । गत साता मात्रै उत्तरका नेता किम जोङ उनले हाइपरसोनिक हतियार प्रक्षेपणको अवलोकन गरेका थिए ।

उत्तर कोरियाले आणविक हतियार राखेको भन्दै संयुक्त राष्ट्रसंघले पनि ब्यालिस्टिक प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । साथै अमेरिकासँग पहिलो पटक भएको आणविक निशस्त्रीकरण वार्ता पनि २०१९ यता स्थगित छ ।

शुक्रबार मात्रै उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी प्रतिबन्धको आलोचना गर्दै अमेरिकाको द्वन्द्वात्मक दृष्टिकोणको कडा विरोध जनाएका थिए । छिमेकी चीनले पनि गत साता अमेरिकी प्रतिबन्धको आलोचना गरेको थियो । तर संवाद मार्फत् तनाब कम गर्न सबै पक्षलाई चीनको आग्रह थियो ।

प्रकाशित : माघ ३, २०७८ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?