१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

यूपीमा सत्ता जोगाउन भाजपालाई कठिन

सत्तारूढ भारतीय जनता पार्टीले पिछडिएको वर्गलाई बेवास्ता गरेको भन्दै मन्त्री र विधायक पदबाट राजीनामा दिएका नेता समाजवादी पार्टीमा
राजेश मिश्र

नयाँदिल्ली — उत्तर प्रदेशमा विधानसभा निर्वाचनको केही साता मात्र बाँकी रहँदा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) माथि चुनौती थपिएको छ । भाजपाका ३ मन्त्री र १४ विधायकले आफ्नो दल पिछडिएको जातजातिको उत्थानका लागि अनुदार रहेको आरोप लगाउँदै पछिल्ला केही दिनमा पार्टी परित्याग गरेका हुन् ।

यूपीमा सत्ता जोगाउन भाजपालाई कठिन

योगी आदित्यनाथको मन्त्रिमण्डलका ३ सदस्यले गतसाता राजीनामा दिएका थिए । उनीहरुको पक्षमा रहेका १४ जना विधायकले पनि भाजपा छाडिसकेका छन् । राजीनामा गरेका मन्त्री र विधायकहरू सबैजसो उत्तर प्रदेशमा चुनावमा भोट बैंक मानिने पिछडिएको वर्गको प्रतिनिधित्व गर्छन् । र, आ–आफ्नो क्षेत्रमा प्रभावशाली मानिन्छन् ।

एकपछि अर्को मन्त्री र दर्जनबढी विधायकको राजीनामाले सत्तारूढ भाजपा अप्ठ्यारोमा पारेको छ । भाजपा छाडेका मन्त्रीहरू स्वामीप्रसाद मौर्य, डा. धर्मसिंह सैनीले अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) प्रवेश गरिसकेका छन् । राजीनामा गरेका अर्कामन्त्री दारासिंह चौहान पनि समाजवादी पार्टीमै प्रवेश गर्ने तयारीमा छन् । दर्जन विधायक पनि सपामा प्रवेश गरेका छन् ।

उनीहरुले भाजपा पिछिडिएको वर्गका लागि काम नगरेको आरोप लगएका छन् । पिछिडिएका समुदायबाट पार्टीमा रहेका नेताहरुले अनेकन आरोप लगाउँदै बाहिरिएपछि त्यसको चुनावमा नकारात्मक असर भाजपाले व्यहोर्नुपर्ने निश्चित छ । तर, हाल भाजपा छाडेका व्यक्तिहरूको पुरानो चरित्र नै पार्टी फेरबदलका लागि परिचित रहेकाले उनीहरुले कति मतदातालाई प्रभावमा पार्न सक्छन् त्यो भने हेर्न बाँकी नै छ ।

मुद्दाभन्दा पनि ती नेताले आफ्नो सिट सुरक्षित गर्न पार्टी परिवर्तन गरेका कपितयको भनाइ छ । भाजापा छाडेका वनमन्त्री सिंह पहिले बहुजन समाजवादी पार्टीमा थिए । सन् २०१४ मा बसपाबाट उम्मेदवार भएका उनी भाजपाका उम्मेदवारसँग पराजित भएका थिए । त्यसलगतै भाजपा प्रवेश गरेपछि उनी पिछडा मोर्चाको राष्ट्रिय अध्यक्ष भएका थिए । त्यसपछि विधायक निर्वाचित उनी मन्त्री बनेका थिए । चुनावको मुखमा उनले पार्टी छाडेपछि उत्तर प्रदेशको पूर्वी क्षेत्रमा भाजपाको अवस्था कमजोर हुने आंकलन गरिएको छ ।

श्रममन्त्रीबाट राजीनामा गरेका मौर्यको पनि राजनीतिक इतिहास सिंहकै जस्तो छ । उनी पनि अघिल्लो चुनावअघि बसपा छाडेर भाजपा प्रवेश गरेका थिए । पिछडिएको समुदायमा प्रभावशाली मानिने उनी लगातार तीन पटक विधायक भइसकेका छन् । राजीनामा गरेका आयुषमन्त्री सैनीको राजनीति पनि उस्तै छ । उनी सन् २०१२ मा बसपा र २०१७ मा भाजपा निर्वाचित भएका थिए । २०२२ फेरि नयाँ पार्टीको साथ खोज्दै छन् । उनले लगातार चार पटक चुनाव जितिसकेका छन् ।

चुनावमा पिछिडिएको जातिको भोट बैंक सुरक्षित रहेको तथा मुस्लिम र यादव भोट थपिए चुनाव जित्न सहज हुने विश्लेषण गरेरै नेताहरुले भाजपा त्यागेका देखिएको छ । पूरा कार्यकाल मन्त्री रहेर लाभ उठाएका तीनै जनाले पछि परेका, अवसरबाट वञ्चित, दलित, किसान र बेरोजगारलाई भाजपाले बेवास्था गरेको बताएकाले पनि उनीहरूको बहिर्गमन भाजपाका लागि महँगो हुने देखिन्छ ।

ठूलो जनसंख्या, धेरै विधायक र लोकसभा सदस्य चयन गर्ने भएकाले उत्तर प्रदेशको चुनाव अन्य राज्यको तुलनामा बढी महत्त्वपूर्ण मानिन्छ । उत्तर प्रदेशबाट ८० जना लोकसभा सदस्य चुनिने भएकाले त्यहाँ पकड हुनेलाई केन्द्रमा सरकार बनाउन सहज हुन्छ । त्यसकारण सत्तारूढ दल भाजपाले आफ्नो पूरा शक्ति त्यहाँको चुनावमा लगाएको छ । ४ सय ३ सदस्यीय उत्तर प्रदेशको विधानसभाका लागि फेब्रुअरी १० देखि ७ चरणमा चुनाव हुँदै छ ।

यसैबीच, राजनीतिक दलहरूले पहिलो तथा दोस्रो चरणमा चुनाव हुने सिटका लागि उम्मेदवार तय गरेका छन् । भाजपाले मुख्यमन्त्री योगी आदित्यनाथलाई गृहनगर गोरखपुरबाटै चुनावमा उतार्ने भएको छ । यसअघि उनी अयोध्या वा मथुराबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो ।

त्यस्तै, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य सिराथुबाट लड्ने भएका छन् । भाजपाले पहिलो चरणको चुनावका लागि ५७ र दोस्रोका लागि ४८ जना उम्मेदवार छानेको हो । विपक्षी दल कंग्रेसले पूर्वप्रतिबद्धताअनुसार महिलालाई ४० प्रतिशत टिकट दिएको छ । पहिलो चरणमा छानिएका १ सय २५ उम्मेदवारमध्ये ५० महिला छन् ।

प्रकाशित : माघ ३, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?