कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जर्मनीमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

खोप अनिवार्य गरिएपछि सर्वसाधारण आक्रोशित, फ्रान्स, इटाली र अस्ट्रियामा समेत विरोध
एजेन्सी

बर्लिन — कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ल्याइएका नयाँ प्रतिबन्ध र अनिवार्य खोप लगाउनुपर्ने नीतिको विरोधमा जर्मनीलगायत युरोपेली देशमा प्रदर्शन चर्केको छ । जर्मनीमा प्रदर्शनसँगै संक्रमण दर बढेको तथ्यांक पनि सार्वजनिक भएको छ ।

जर्मनीमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

सरकारी तथ्यांकअनुसार एक साताको अवधिमा एक हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण उच्च रहेका बेला नोभेम्बर २९ मा प्रतिहजारमा ४ सय ८५ संक्रमित भएका थिए ।

जर्मनका बर्लिन, ह्याम्बर्ग र डसेलडोर्फलगायत प्रमुख सहरहरूमा हजारौं मानिसले सरकारी नीतिको विरोधमा प्रदर्शन गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खोप अनिवार्य गरेपछि फ्रान्स, इटाली, अस्ट्रियालगायत देशमा पनि प्रदर्शन चर्केको छ ।

फ्रान्समा खोप नलगाउनेलाई सरकारी सेवाबाट वञ्चित गर्ने, सार्वजनिक स्थानमा प्रवेश नदिइनेलगायत प्रावधान समेटिएको कानुन ल्याउने विषयमा संसद्मा छलफल जारी छ । इटालीले हालै मात्र कोभिड रोकथामसम्बन्धी कडा नियमहरू लागू गरिसकेको छ । त्यस्तै, ५० वर्षभन्दा बढी उमेर समूहका लागि खोप अनिवार्य गरिएको छ ।

जर्मन प्रहरीका अनुसार डसेलडोर्फमा कम्तीमा ७ हजार प्रदर्शनकारी विरोधमा उत्रेका छन् । अधिकारीहरूले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलने भन्दै त्यस्ता प्रदर्शनमाथि रोक लगाएका छन् । प्रहरीका अनुसार अधिकांश प्रदर्शनकारी बिनामास्क विरोधमा उत्रेका थिए ।

ह्याम्बर्गमा कम्तीमा २ हजार ९ सयले प्रदर्शन गरेको प्रहरीले जनाएको छ । तर आयोजकहरूले विरोध प्रदर्शनमा कम्तीमा ६ हजार जना सहभागी भएका दाबी गरेका छन् । त्यस्तै, फेलेन्सबर्ग र सेवेरिनमा पनि प्रदर्शनहरू गरिएको जर्मन सञ्चारमाध्यमले जनाएका छन् ।

जर्मनीमा योग्यमध्ये करिब ७० प्रतिशतले मात्र कोभिडविरुद्धको खोप लगाएका छन् । सरकारले जनवरी अन्त्यसम्ममा कम्तीमा ८० प्रतिशतलाई खोपको पूर्ण मात्रा र ४५ प्रतिशतलाई बुस्टर डोज दिने लक्ष्य लिएको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले हालै संसद्मा बोल्दै खोप अनिवार्य नीतिको पक्षमा रहेको बताएका थिए । त्यस्तै, स्वास्थ्यमन्त्रीले पनि खोपको विकल्प नभएको भन्दै सकभर छिटो लगाउन बारम्बार आग्रह गर्दै आएका छन् ।

पछिल्लो समय विश्वभर कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ तीव्र रूपमा फैलिइरहेको छ । पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरिएन्ट हाल विश्वका करिब सयभन्दा बढी देशमा देखिइसकेको छ ।

हालसम्मकै उच्च रूपमा उत्परिवर्तित भेरिएन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जोखिमपूर्ण सूचीमा राख्दै थप सतर्कता अपनाउन आग्रह गरिसकेको छ । जसका कारण विश्वका कतिपय मुलुकले नयाँ प्रतिबन्धहरू कार्यान्वयनमा ल्याएका हुन् ।

प्रकाशित : माघ ३, २०७८ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?