योगी आदित्यनाथलाई गोरखपुरबाट प्रतिस्पर्धा गराउँदै भाजपा- विश्व - कान्तिपुर समाचार

योगी आदित्यनाथलाई गोरखपुरबाट प्रतिस्पर्धा गराउँदै भाजपा

रासस

लखनउ‚ उत्तर प्रदेश — सबै अड्कलबाजीबीच भारतीय जनता पार्टी (भाजपा) ले शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो राजनीतिक प्रभाव क्षेत्र गोरखपुरबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ  । 

गोरखपुरबाट नै उनले लगातार सन् २०१७ सम्म पाँच कार्यकालका लागि लोकसभामा प्रतिनिधित्व गरेका थिए ।

शनिबार एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघीय मन्त्री तथा भाजपा उत्तर प्रदेश निर्वाचनका लागि जिम्मेवार धर्मेन्द्र प्रधानले पहिलो चरणमा ५८ सिटमध्ये ५७ र दोस्रो चरणमा ५५ मध्ये ४८ सिटका लागि उम्मेदवारको सूची सार्वजनिक गरेका थिए ।

भाजपाले प्रयागराजस्थित सिराथु निर्वाचन क्षेत्रबाट उपमुख्यमन्त्री केशवप्रसाद मौर्यलाई मैदानमा उतारेको छ भने मन्त्री श्रीकान्त शर्माले मथुराबाट प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि कहिल्यै विधानसभाका लागि निर्वाचन नलडेका आदित्यनाथले अयोध्या वा मथुराबाट प्रतिस्पर्धा गर्न सक्ने अनुमानहरू गरिएको थियो ।

भाजपा नेता हरनाथसिंह यादवले पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई पत्र लेखेर मथुराबाट मुख्यमन्त्रीको सम्भावित उम्मेदवारको घोषणासहित उभ्याउन आग्रह गरेका थिए ।

सन् २०१७ को निर्वाचनमा भाजपाले मुख्यमन्त्रीको सम्भावित उम्मेदवार घोषणा नगरिकन ४ सय ३ सदस्यीय उत्तर प्रदेश विधानसभामा ३ सयभन्दा बढी सीट प्राप्त गरेको थियो । भाजपाको चुनावी अभियानमा निर्णायक भूमिका निर्वाह गरेका आदित्यनाथले २६ मार्च २०१७ मा उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हालेका थिए ।

आदित्यनाथले सन् १९९८ मा पहिलो पटक गोरखपुरबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरी २६ वर्षकै उमेरमा १२औं लोकसभामा सबैभन्दा कान्छा सांसद बनेका थिए । उनी नगरको गोरखनाथ मन्दिरका मुख्य पुजारीसमेत हुन् । उनले आफ्नो धर्मपिता महन्त अवैदनाथको मृत्युपछि सेप्टेम्बर २०१४ मा यो जिम्मेवारी ग्रहण गरेका थिए ।

भाजपा स्रोतका अनुसार आदित्यनाथलाई गोरखपुर नगरको प्रतिनिधित्व गर्नेगरी विधान सभाका लागि प्रतिस्पर्धामा उठाइनेछ ।

विगतमा भाजपा उम्मेदवारहरू उदयप्रताप दुबे, रामलाल भाई, अवधेशकुमार श्रीवास्तव, सुनिल श्रेष्ठ, शिवप्रताप शुक्ल र राधा मोहनदास अग्रवालले पार्टीका लागि गोरखपुर (शहरी) सिट सुरक्षित गरेका थिए ।

राधा मोहनदास अग्रवाल सन् २०१७ मा भाजपाको टिकटमा गोरखपुरको शहरी सीटबाट ५५.८५ प्रतिशत मत ल्याएर विजयी भएका थिए ।

उत्तर प्रदेशका ४०३ वटा विधानसभा निर्वाचन क्षेत्रका लागि निर्वाचन फागुन १० गतेदेखि सात चरणमा हुने निर्वाचन आयोगले बताएको छ । उत्तर प्रदेशको विधान सभाको निर्वाचन फेब्रुअरी १०, १४, २०, २३, २७ र माघ ३ र ७ गते सात चरणमा हुनेछ । मतगणना मार्च १० बाट सुरू गरिनेछ ।

प्रकाशित : माघ २, २०७८ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्

रोकियो सारंगीको ताल

पर्वत पोर्तेल

काँकडभिट्टा — सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक दार्जिलिङका वरिष्ठ गायक कुमार सुब्बाको शनिबार राति १० बजे सिलिगुडीमा निधन भएको छ । 



उनी ७० वर्षका थिए । शनिबार बिहान अचानक हृदयघात भएपछि सिलिगुडीको न्यूटिया अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको छोरी निरन्जना सुब्बाले जनाएकी छन् । करिब एक दशकअघि मस्तिष्कघातबाट गम्भीर बिरामी परेका सुब्बा त्यसयता निरन्तर अस्वस्थ थिए । उनको मुटु र मृर्गौलामा समस्या देखिएको थियो । सिलिगुडी नजिक शिवमन्दिरस्थित छोरीको घरमा उनी बस्थे ।

नेपाली सांगीतिक आकासका लोकप्रिय गायक सुब्बाको निधनले परिवारमात्र होइन‚ हजारौं शुभचिन्तकलाई समेत मर्माहत बनाएको उनका सहयात्री संगीतकार कर्म योन्जन बताउछन् । भन्छन्, ‘कुमार केही समयदेखि बिरामी नै थियो, पहिलाको जस्तो गाउन सक्दैनथ्यो । उसको निधनले नेपाली संगीत जगत टुहुरो बनेका छ ।’

सुब्बा लामो समय दार्जिलिङको सांस्कृतिक विभागका जागिरे पनि थिए । अघिल्लो पटक बिरामी परेपछि उनी जागिरबाट सेवा निवृत्त भएका थिए ।

करिब १२ वर्षअघि ‘पलेटी’ कार्यक्रमको एक गायनका लागि उनी नेपाल आएका थिए । त्यसबेला आफ्ना सहकर्मीहरू अमर गुरुङ, मञ्जुल, मानबहादुर मुखिया, प्रकाश गुरुङलगायतसंग उनको भेट भएको थियो । ‘त्यसयता बाबा बिरामी पर्नुभयो‚ नेपाल जानै पाउनुभएन’, उनकी छोरीले भनिन् । दुई पटक प्रयत्न गर्दा पनि जान सक्नुभएन । ‘बाबाको पलेटीमा गीत गाउने इच्छा अधुरै रह्यो’, उनले भनिन् ।

एकपटक गायक कर्मा योञ्जन र उनलाई नेपालै बस्ने गरी बोलावट भएको थियो । तर‚ उनीहरू दुवै जनाले यो प्रस्ताव अस्वीकार गरेका थिए । ‘जुन बेला जानुपर्ने थियो‚ त्यसवेला गइएन’, केही समयअघि कान्तिपुरसँगले सुब्बाले भनेका थिए, ‘अब त बुढो पनि भइएछ‚ जानै मन लाग्न छाड्यो ।’

नेपाली गीत संगीतका लागि नेपाललाई समुद्र ठान्थे उनी । त्यो समुद्रमा एक पटक मज्जाले पौडने उनको इच्छा भने अधुरै रह्यो । उनको दार्जिलिङको लेबुङमा आइतबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : माघ २, २०७८ ०६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×