खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक' भाइरस : डब्ल्यूएचओ- विश्व - कान्तिपुर समाचार

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक' भाइरस : डब्ल्यूएचओ

रासस

जेनेभा‚ स्विजरल्यान्ड — कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस बुधबार उल्लेख गरेका छन् ।

डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस

‘यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,’ टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका छन् । उनले यसको सङ्क्रमणदर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गरेका छन् ।

डब्ल्यूएचओ महानिर्देशक टेड्रोसले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै भने‚ ‘अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी मानिसहरूले खोपको एक मात्रा प्राप्त गर्न बाँकी छ । हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं ।’

‘हामी प्रगति गर्दैछौं, डिसेम्बरमा । कोभ्याक्सअन्तर्गत नोभेम्बरमा पठाइएको डोजको संख्या दोब्बरभन्दा बढी पठाउँछौं र आगामी दिनमा एक अर्ब खोप डोज पठाउने प्रयास गर्छौं,’ उनले भने ।

उनले गतवर्ष हामीले भोगेका केही आपूर्ति अवरोधहरू अहिले सहज हुन थालेको तर यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको समेत उल्लेख गरेका छन् । ‘९० देश अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् । तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएका छन्,’ उनले थपे ।

‘डब्लूएचओ र हाम्रा साझेदारहरूले यी देशहरूलाई नेतृत्व र समन्वयमा, आपूर्ति दृश्यताको कमी, प्रदान गरिएका खोपहरूको छोटो सेल्फ-लाइफ, सीमित कोल्ड चेन क्षमता, खोप आत्मविश्वास, स्वास्थ्यकर्मीको अभाव, र प्रतिस्पर्धी प्राथमिकताहरूमा सामना गर्ने अवरोधहरू हटाउन सक्रिय रूपमा समर्थन गरिरहेका छन्‚’ टेड्रोसले भने ।

प्रकाशित : पुस २९, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

गैंडा मुद्दाका फरार प्रतिवादी पक्राउ

रमेशकुमार पौडेल

चितवन — दुर्लभ एकसिंगे गैंडा मारेर खाग बेचबिखन गरेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले मुद्दा दायर गरेका फरार व्यक्ति १० महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ शुक्लगण्डकी नगरपालिका–३ कोत्रेबजारका कमल गुरुङ रहेका छन् । 

निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गुरुङलाई पुस २८ गते बुधबार बिहानपख करिब साढे १ बजे तनहुँ जिल्ला प्रहरी कार्यालयको सहयोगमा निकुञ्जबाट गएको टोलीले पक्राउ गरेको हो । उनी तनहुँकै आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा लुकी हिँडेको अवस्थामा पक्राउ परेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

पक्राउ परेकै दिन उनी मुद्दा दायर भएको नवलपुर जिल्ला अदालतको इजालसमा बयानका लागि पेस भएका थिए । गत वर्षको भदौ १६ र १८ गते चितवन निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गोली पड्केको आवाज आएको थियो । निकुञ्जको टोली र नेपाली सेनाले खोजतलास गर्दा भदौ २१ मा एउटा गैंडा मृत भेटिएको थियो । सो गैंडालाई चोरी सिकारीका लागि मारेको प्रस्ट भए पनि खाग भने सुरक्षित नै राखिएको थियो । त्यसपछि गत वर्षको कात्तिक १९ मा निकुञ्जकै पश्चिम क्षेत्र मर्दीघोलमा गोली लागेर मरेका र खाग नभएका गैंडाका माउबच्चा भेटिएका थिए ।

गुरुङ सोही घटनामा संलग्न भएको भन्दै निकुञ्जले उनीविरुद्ध गत फागुनमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा सो घटनामा संलग्न भएको आरोप लागेका १३ जनामध्ये ६ जनामात्रै समातिएका थिए । पछि विभिन्न मितिमा थप अभियुक्तहरु समातिएका हुन् । १३ जनामध्ये गुरुङसमेत गरेर ११ जना पक्राउ परेको र दुईजना व्यक्तिहरु अझै फरार नै रहेको सूचना अधिकारी तिवारीले बताए ।

निकुञ्जका अर्का सहायक संरक्षण अधिकृत राजु घिमिरेले गुरुङ खाग कारोबारी रहेको बताए । ‘गैंडा मारेकाहरुले झिकेको खाग लगेर कमल गुरुङले काठमाडौंका कारोबारीहरुलाई दिने गरेको खुलेको छ । उनी कारोबारमा संलग्न व्यक्ति हुन् भन्ने हाम्रो अनुसन्धानले देखाउँछ’, सहायक संरक्षण अधिकृत घिमिरेले भने । गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागका लागि नै तस्करहरुले गैंडा मार्ने गर्छन् । गैंडा मारेमा वा यसको अंग खागको कारोबार गरेको प्रमाणित भएमा १० लाख रुपैयाँ जरिवाना र १५ वर्ष कैद हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : पुस २९, २०७८ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×