कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अस्ट्रेलियामा कामदारको अभाव

संक्रमित नजिक भएकाले आइसोलेसन बस्नु नपर्ने
नारायण खड्का

अस्ट्रेलिया — कोरोना भाइरसका कारण पर्याप्त कामदार उपलब्ध नहुँदा अस्ट्रेलियामा कामदारको चर्को अभाव देखिएको छ । विशेषगरी महत्वपूर्ण क्षेत्रमा कामदारको अभाव पूरा हुन नदिन सरकारले दुई राज्यमा संक्रमित व्यक्तिको नजिक आएका (क्लोज कन्ट्याक्ट) लाई आइसोलेसन बस्नु नपर्ने नियम लागू गरेको छ ।

अस्ट्रेलियामा कामदारको अभाव

अस्ट्रेलियाले कोरोना भाइरसको संक्रमण देखिएसँगै विदेशीका लागि सीमा बन्द गरेको थियो । यहाँको कृषि तथा ग्रामीण क्षेत्रमा मुख्य रुपमा काम गर्ने अस्थायी भिसा वाहक कामदार आउन नपाएपछि जनशक्ति अभाव चर्किएको हो । त्यसका साथै स्थानीय रुपमा यहाँ रहेर काम गर्ने कामदारसमेत भाइरसको संक्रमणमा परेर आइसोलेसनमा बस्नुपरेपछि काम गर्ने कामदारको अभाव भएको हो ।

स्थानीय समाचारसंस्था एबिसीका अनुसार कृषि तथा ग्रामीण क्षेत्र मात्र नभएर कामदार अभाव अस्ट्रेलियाका प्राय: सबै क्षेत्रमा देखिएको छ । मुख्यगरी कृषि क्षेत्रमा देखिएको कामदार अभाव पूर्ति गर्न कृषकहरूले सरकारलाई आग्रह गरिरहेका छन् । तैपनि कामदारको अभाव पूर्ति अझै हुन नसकेको बताइन्छ ।

अस्ट्रेलियन च्याम्बर अफ कमर्सले दुई महिनाअघि सार्वजनिक गरेको एक सूचनामा करिब २ लाख ५० हजार कामदार आवश्यकता जनाइएको थियो । उक्त समयमा सरकारले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने कुनै निर्णय गरिसकेको भने थिएन । अहिले अस्ट्रेलियाले दुवै खोप लगाएका र उपयुक्त भिसा वाहकलाई प्रवेश दिएको भए पनि कामदार अभाव अझै पूर्ति हुन सकेको छैन ।

पछिल्लो समयमा ओमिक्रोनका कारण संक्रमण दर दैनिक दसौं हजार हुन थालेपछि र ठूलो संख्यामा कामदारसमेत आइसोलेसनमा बस्नुपरेपछि यो समस्या अझ बढी देखिएको हो ।

यस्तै अस्ट्रेलियाका प्राय सबै राज्यले भिसावाहक विदेशीका साथै विद्यार्थीलाई समेत प्रवेशमा केही साता अघिदेखि सहज बनाइदिएका कारण उनीहरूको आगमन बढ्दै गएपछि यहाँ देखिएको कामदार अभावलाई ठूलो राहत हुने विश्वास लिइएको छ ।

यसैबीच न्यू साउथ वेल्स, भिक्टोरिया र क्युन्सल्याण्ड सरकारले कामदारको अभाव हुन नदिन अति आवश्यक ठानिएका स्थानमा काम गर्ने कर्मचारी संक्रमितको नजिक आएको भए पनि उनीहरू संक्रमित नभएसम्म काममा फर्किन पाउने नियम सुरु गर्ने समाचारमा जनाइएको छ । जसले अहिले देखिएको कामदारको समस्या केही हदसम्म समाधान हुने विश्वास लिइएको छ ।

ग्रामीण र कृषि क्षेत्रमा मात्र नभएर अस्ट्रेलियाका दुई ठूला सुपरमार्केट कोल्स र वुलवर्थले समेत आफ्नो वितरण शाखामा कामदार अभाव भएको उल्लेख गरेका छन् । त्यसका साथै अधिकांश पसलमा कामदार आवश्यकता परेको विज्ञापन देख्न सकिन्छ । न्यु साउथ वेल्समा आपतकालीन सेवामा काम गर्ने कर्मचारीका साथै खाद्य तथा खाद्य वितरण, कृषि, यातायात र उत्पादन क्षेत्रमा काम गर्ने कर्मचारीलाई ‘क्लोज कन्ट्याक्ट’ भए पनि केही सर्त पालना गरेर आइसोलेसन बस्नु नपर्ने भएको छ ।

उनीहरूको अनुपस्थितिले अति आवश्यक सेवामा बाधा पर्ने देखिनुपर्ने छ भने दैनिक रुपमा र्‍यापिड एन्टिजेन टेस्ट गर्नुपर्नेछ र मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । यदी पोजेटिभ वा भाइरसको लक्षण देखिएको खण्डमा भने आइसोलेसनमा बस्नुपर्नेछ । यस्तै क्युन्सल्याण्डले समेत यही नियमलाई लागु गर्ने जनाएको छ । कामदारले काममा अनिवार्य पीपीई लगाउनुपर्ने, भ्याक्सिन लगाएको हुनुपर्ने र निजी सवारीमा काममा आउने र जाने गर्नुपर्नेछ ।

प्रकाशित : पुस २७, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?