२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भारतले सुरु गर्‍यो 'बुस्टर डोज' अभियान

एजेन्सी

नयाँदिल्ली — तेस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि भारतले कोभिडविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरू तथा ६० वर्षभन्दा बढी उमेर समूहका जटिल रोगीलाई खोपको बुस्टर डोज दिन सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।

भारतले सुरु गर्‍यो 'बुस्टर डोज' अभियान

पछिल्ला दिनहरूमा भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको फैलावट बढिरहेको अधिकारीहरूले जनाएका छन् । विभिन्न देशमा गरिएका अध्ययनमा खोपको बुस्टर डोज लगाएकाहरूमा ओमिक्रोन संक्रमणले न्यून असर पुर्‍याउने देखिएको छ ।

कोभिडका भेरिएन्टमध्ये सबैभन्दा बढी संक्रामक ओमिक्रोन गत नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको थियो । त्यसयता यो विश्वका सयभन्दा बढी देशमा पुष्टि भइसकेको छ । जसका कारण अधिकांश देशले बुस्टर डोज अभियान सुरु गरिसकेका छन् ।

सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु गरेको भारतले आफ्नै देशमा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन प्रयोगमा ल्याएका छन् । यसअघि भारतले गत साता १५ देखि १८ वर्षका किशोरकिशोरीलाई खोप दिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त समूहका कम्तीमा ३१ प्रतिशतलाई खोपको पहिलो मात्रा दिइएको छ । त्यस्तै, ९१ प्रतिशत प्रौढले कम्तीमा एक मात्रा र ६६ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका जनाइएको छ ।

भारतमा सोमबार करिब १ लाख ८० हजार जना संक्रमित भएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १ सय ४६ जनाले भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८३ हजार ९ सय ३६ पुगेको छ । आइतबार १ लाख ५९ हजार ६ सय ३२ जना नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै, ओमिक्रोन संक्रमितको संख्या ४ हजार ३३ पुगेको छ । तीमध्ये महाराष्ट्रमा १ हजार १ सय २६, राजस्थानमा ५ सय २९, दिल्लीमा ५ सय १३, कर्नाटकमा ४ सय ४१ र केरलामा ३ सय ३३ संक्रमित छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले पछिल्ला दिनहरूमा संक्रमित भएका मध्ये ५ देखि १० प्रतिशत मात्र अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा पुगेका जनाएको छ । गत वर्ष दोस्रो लहरका क्रममा २० देखि २३ प्रतिशत अस्पताल भर्ना भएका थिए ।

प्रकाशित : पुस २७, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?