सुचीलाई थप चार वर्ष जेल

अवैध रूपमा वाकीटकी राखेको र कोभिडसम्बन्धी नियमहरू उल्लंघन गरेको ठहर
एजेन्सी

नेपिडअ — म्यान्मारमा एउटा अदालतले लोकतन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्षको जेल सजाय सुनाएको छ । सुचीले अवैध रूपमा वाकीटकी आयात गरी राखेको र कोभिड–१९ सम्बन्धी नियमहरू उल्लंघन गरेको ठहर गर्दै सजाय सुनाएको हो । सैन्य सरकारले सुचीविरुद्ध विभिन्न मुद्दा दायर गरेको छ । तीमध्ये एउटाको सोमबार फैसला सुनाइएको हो ।

सुचीलाई थप चार वर्ष जेल

गत डिसेम्बरमा पनि सुचीलाई एउटा मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको सजाय सुनाइएको थियो । सोमबारको फैसलासँगै सुचीले अब ६ वर्षको जेल सजाय काट्नुपर्ने भएको छ ।

गतवर्षको फेब्रुअरीमा म्यान्मारको सेनाले शासनसत्ता नियन्त्रणमा लिएपछि सुचीलाई हिरासतमा राखिएको छ । उनीविरुद्ध करिब एक दर्जन अभियोग लगाएको छ । तर सुचीले आफूमाथिका आरोप राजनीतिप्रेरित रहेका भन्दै अस्वीकार गर्दै आएकी छन् । सबै अभियोगमा दोषी ठहर गरिएको खण्डमा सुचीलाई आजीवन कारावास हुने धेरैको बुझाइ छ ।

सैनिक सरकारले सुचीविरुद्ध अन्यायपूर्वक मुद्दा चलाइएको भन्दै सर्वत्र निन्दा गरिएको छ । सैन्य ‘कु’ का दिन सुचीको घरमा खानतलासी गर्दा सञ्चार उपकरण फेला परेपछि त्यसका आधारमा मुद्दा चलाइएको विश्वास गरिएको छ ।

राजधानी नेपिडअमा गरिएको सुनुवाइमा सञ्चारमाध्यमलाई भने प्रवेश निषेध गरिएको थियो । त्यसका साथै सुचीका वकिलहरूलाई सञ्चारमाध्यम तथा सर्वसाधारणसँग सम्पर्क गर्नमा रोक लगाइएको छ । यसअघि विमति राख्न सर्वसाधारणलाई उक्साएको र कोभिड–१९ सम्बन्धी नियम उल्लंघन गरेको मुद्दामा सुचीलाई गत महिना दोषी ठहर गरिएको थियो । संयुक्त राष्ट्रसंघीय मानवाधिकार निकायकी प्रमुख मिसेल ब्याचलेटले ‘झूटो सुनुवाइ’ भन्दै उक्त फैसलाको आलोचना गरेकी थिइन् ।

मानवाधिकारवादी संस्था संस्था ह्युमन राइट्स वाचले सुचीविरुद्धका मुद्दालाई ‘झूटो आरोपका विषयमा गरिएको अदालती चटकको गोप्य सुनुवाइ’ को संज्ञा दिएको थियो । सुचीलाई जेलमा राखिराख्न जालझेल गरिएको संस्थाले दाबी गरेको छ । ‘सेनाले गैरकानुनी अदालतबाट निकै कमजोर र राजनीतिक रूपमा उत्प्रेरित अभियोगमा दोषी ठहर गर्न खोजेको’ बताउँदै संस्थाले ‘सुचीसहित सडकमा नागरिक अवज्ञा आन्दोलनमा सहभागी सबै जनाको मानवाधिकारलाई कुल्चिन खोजेको जनाएको छ ।

म्यान्मारमा सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) अत्यधिक बहुमतसहित विजयी भएको थियो । तर त्यसको केही महिनापछि सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै शासनसत्ता हातमा लिएको थियो । तर पर्यवेक्षकहरूले चुनाव स्वतन्त्र र निष्पक्ष रूपमा भएको बताएका थिए ।

सैन्य ‘कु’ पछि म्यान्मारमा ठूलाठूला प्रदर्शन भए । सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनकारी, अभियानकर्ता र पत्रकारलाई दमन गर्‍यो । अहिले सुचीसहित १० हजार ६ सय जनाभन्दा बढी मानिस सेनाको हिरासतमा छन् । प्रदर्शनका क्रममा कम्तीमा १ हजार ३ सय ३ जनाको मृत्यु भएको असिस्टन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले जनाएको छ ।

प्रकाशित : पुस २६, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?