खोप पासको विरोधमा फ्रान्सका दर्जनौं सांसदलाई ज्यान मार्ने धम्की

ददि सापकोटा

पेरिस — कोरोना खोप पासका बारेमा संसद्‍मा छलफल गर्नुअघि दर्जनौं फ्रान्सेली सांसदहरुलाई ज्यान मार्ने धम्की आएको छ । सांसदहरुलाई ज्यान मार्ने धम्की आए पनि उनीहरुले कोरोना खोप पास गर्नुपर्ने भन्दै संसद्‍मा बहस सुरु गरेका छन् ।

खोप पासको विरोधमा फ्रान्सका दर्जनौं सांसदलाई ज्यान मार्ने धम्की

दर्जनौं फ्रान्सेली सांसदहरूले देशको पछिल्लो कोभिड-१९ प्रतिबन्धहरूमा बहस हुनुअघि आफूहरूलाई ज्यान मार्ने धम्की आएको बताएको भन्दै युरो न्युजले उल्लेख गरेको छ

फ्रान्सका सांसदहरूले नागरिकहरूलाई विभिन्न सार्वजनिक स्थानहरूमा प्रवेश गर्नका लागि खोप पास अनिवार्य गर्ने कि नगर्ने भन्नेमा मतदान गर्ने तयारी गरिरहेका छन् ।

प्रस्तावित नयाँ नियमअन्तर्गत बार, होटेल, रेस्टुरेन्टहरूमा प्रवेश गर्न, ठूला पसलहरुमा किनमेल गर्न वा लामो दूरीको सार्वजनिक यातायात प्रयोग गर्न कोरोनाको नेगेटिभ परीक्षण देखाएर अनुमति पाइने छैन । तिनले अनिवार्य खोप लगाएको प्रमाण देखाउनुपर्ने छ । हालको स्वास्थ्य पासलाई अब ल्याउन लागिएको अनिवार्य खोप लगाउनुपर्ने भन्ने 'भ्याक्सिन पास' द्वारा प्रतिस्थापन गरिने छ । स्वास्थ्यका कारणले वा अन्य बाध्यकारी अवस्थामा बाहेक अन्य नागरिकलाई खोप अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

यो विधेयकका बारेमा केही समयदेखि छलफल भइरहेको छ र मंगलबार संसद्‍मा मतदान हुने फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मंगलबार संसद्‍मा हुने मतदानमा यो विधेयक स्वीकृत हुने अपेक्षा गरिएको छ । कोरोना स्वास्थ्य पासलाई प्रतिस्थापन गरेर 'खोप पास' जारी गर्ने र अन्य स्वास्थ्यसम्बन्धी कडाइका प्रतिबन्धको प्रस्तावले फ्रान्समा खोप विरोधीहरुलाई आक्रोशित बनाएको छ ।

खोप अनिवार्य गराउने प्रस्तावमा छलफल सुरु भए गत्तै सत्तारुढ दल अर्थात् राष्ट्रपतिको पार्टी ल रेपब्लिक्याँ अँ माँश (एलआरईएम) का कतिपय सांसदहरुले आफूमाथि ज्यान मार्ने धम्की आएको रिपोर्ट गरेका छन् । केहिीले हिंसा भड्काउने चेतावनी दिएको टिभी रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

एलआरईएम पार्टीकी ओत साओन क्षेत्रकी सांसद बारबरा बेसोट बालोले कम्तिमा ५२ सांसदहरूले अस्वीकार्य धम्कीहरू पाएको बताएको युरो न्युजले उल्लेख गरेको छ ।

गत हप्ता वाज क्षेत्रका फ्रान्सेली सांसद पासकाल ब्वाको गाडी भ्याक्सिन विरोधी प्रदर्शनकारीहरूले तोडफोड गरेर आगो लगाइदिएका थिए ।

खोप अनिवार्य गर्ने बहस चलिरहेका बेला सांसदहरुमाथि धम्की र ज्यान लिने चेतावनी आएपछि फ्रान्सेली गृहमन्त्री जेरार्ड डार्मानिनले सत्ता पक्षिय पार्टीका नेताहरुको विशेष सुरक्षा गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार सेन्टर राईट आजिर पार्टीका एग्नेस फर्मिन ल बोडोलाई पनि इमेलमार्फत धम्की पठाइएको थियो । अर्की महिला सांसद होराइजन्स पार्टीकी नाइमा माउचौले पनि त्यस्तै धम्की आएको ट्विटरमा उल्लेख गरेकी छन् । सांसदहरुलाईनै खोप अनिवार्य नगर्न भन्दै धम्की आएपछि स्वास्थ्यमन्त्री ओलिभिय भेरनले धम्की दिनेहरुलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

गृहमन्त्री गेराल्ड डार्मानिनले प्रहरीले निर्वाचित सांसदहरूको सुरक्षालाई बलियो बनाउने आश्वासन दिएका छन् । 'हामी झुक्ने छैनौं,' सत्तारुढ पार्टीका सांसद याएल ब्राउन-पिभेटले सोमबार संसदमा भनेका छन्,'फ्रान्सको लोकतन्त्र खतरामा छ ।'

प्रकाशित : पुस २०, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?