१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीनको अफ्रिका दृष्टि : नयाँ वर्षको सुरुआतसँगै परराष्ट्रमन्त्रीको भ्रमण

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले सन् २०२२ को जनवरी ४ देखि ७ सम्म इरिट्रिया, केन्या र कोमोरोस जस्ता अफ्रिकी मुलुकका साथै दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्दैछन्। सन् १९९१ देखि नै हरेक वर्ष चिनियाँ परराष्ट्रमन्त्रीले आफ्नो पहिलो विदेशयात्रा अफ्रिकाबाट सुरू गर्ने गरेका छन्।

चीनको अफ्रिका दृष्टि : नयाँ वर्षको सुरुआतसँगै परराष्ट्रमन्त्रीको भ्रमण

कुनै बेला सुषुप्त कूटनीतिक रवैया देखाउने चीन हाल देखिने र सुनिने खालको आक्रामक कूटनीतिक भूमिकामा उत्रिएको भनेर सर्वत्र टिप्पणी गरिन्छ। चीनको बाह्य समाजसँगको निरन्तरको घुलमिलले विशेषगरी पश्चिमा शक्तिको ध्यानाकर्षण गरेको छ भने विश्वअर्थतन्त्रको दोश्रो स्थानमा रहेको चीनको सक्रियता एक हिसाबले टाउको दुखाइको विषय बनेको छ।

त्यसमाथि अमेरिकी नेतृत्वमा अफ्रिकामा व्याप्त दबदबा बिथोलिने चिन्तामा उसका संगाती मुलुकहरू देखिन्छन्। तर चीनले वैदेशिक मामिला प्रारम्भ गर्नका लागि हरेक वर्ष प्रथम गन्तव्य किन अफ्रिकालाई बनाइरहेको छ भन्ने जिज्ञासा धेरैमा देखिन्छ।

चीन विश्वको सबैभन्दा ठूलो विकासशील मुलुक हो भने विकासका लागि भौंतारिरहेकामध्ये अफ्रिकी भूमि पनि एक हो। चिनियाँ परराष्ट्रमन्त्रीले अफ्रिका भ्रमणलाई वार्षिक मामिलाको प्रथम गन्तव्य बनाउनुले चीन अफ्रिका सम्बन्धमा गहिरो ध्यान दिएको प्रतिबिम्बित हुने परराष्ट्र प्रवक्ता चाउ ली च्येन बताउँछन्। उनले सम्प्रभुता रक्षा, प्रभुत्ववादको प्रतिरोध तथा साझा विकासको सपना साकार तुल्याउन चीन−अफ्रिका भावना मिलेको बताए।

डिसेम्बर अन्तिम साता बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी परराष्ट्र प्रवक्ता चाउले भने, ‘चीन−अफ्रिका दुवै नै विश्वव्यापी न्यायिक प्रणालीको संरक्षण गर्ने क्षेत्र हुन्। विश्वको परिस्थिति जसरी परिवर्तन भएपनि चीन−अफ्रिका मित्रता कायम रहने गरेको छ।’

पहिलो दृष्टि अफ्रिकामा लगाएपछि मात्रै चीनको अन्य दृष्टि अरुतिर पर्ने गरेको छ। जस्तो कि यसपटक अफ्रिका भ्रमणसँगै चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुक माल्दिभ्सको भ्रमण गर्दैछन्। माल्दिभ्ससँग चीनले दौत्य सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव मनाउँदैछ। सामान्यतया शून्य अंकमा भएको वार्षिक गतिविधिलाई चीनले उच्च महत्वका साथ मनाउने गर्दछ। श्रीलंकासँग भने चीनले ६५औं वार्षिकोत्सव मनाउँदैछ।

चिनियाँ परराष्ट्रमन्त्रीले आफ्नो प्रथम नव वर्ष भ्रमणका लागि अफ्रिकालाई रोजेको यो लगातार ३२औं वर्ष हो। अहिले धेरै अफ्रिकी देशहरूमा कोभिड−१९ महामारीको अवस्था भयावह छ।

यस पृष्ठभूमिमा वाङ् यीको अफ्रिका भ्रमणको कूटनीतिक अभ्यासको निहितार्थ कोरोना भ्याक्सिनको विश्वसनीयता बढाउनु हो र अफ्रिकी देशहरूसँग मैत्री सम्बन्ध गहिरो पार्ने चिनियाँ दृढ संकल्पलाई झल्काउनु पनि हो भनेर चिनियाँ विश्लेषकहरू बताउँछन्।

अफ्रिकाकाको पूर्वाधार विकासमा योगदान गरिरहेको चीनले महामारीमा बलियो साथ दिएको छ। त्यसैकारण पनि अफ्रिकाले चीनलाई एक भरपर्दो साझेदारको रुपमा सम्झन थालेको छ।

चीनले बेल्ट एन्ड रोड पहलमा अफ्रिकालाई महत्त्वपूर्ण भागको रुपमा अपनाएपछि पनि अफ्रिका उत्साही देखिएको छ। चीनले अफ्रिकासँगको सहकार्य निरन्तर गर्न चीन-अफ्रिका सहयोग मञ्चलाई गम्भीरतापूर्वक संचालन गर्ने गरेको छ।

राजनीतिक अस्थिरताबाहेक पिछडिएको अफ्रिकी भूमि चिनियाँ उकासिँदो अर्थतन्त्रको व्यवस्थापन गर्ने महत्वपूर्ण गन्तव्य हो। अतः अफ्रिका र चीनको साझा स्वार्थको व्यवस्थापन गर्नु नै चिनियाँ कूटनीतिक प्रस्थानको प्रथम गन्तव्य अफ्रिका बनाइनुको अर्को कारण भएको पुष्टि हुन्छ।

सन् १९९१ को जनवरीमा तत्कालीन चिनियाँ परराष्ट्रमन्त्रीको हैसियतमा छ्यान छी छ्येनले इथियोपिया, युगान्डा, केन्या र तान्जानियाको औपचारिक सद्भावना भ्रमण गरेयता वर्षको सुरुमा चिनियाँ परराष्ट्रमन्त्रीहरूको लगातारको भ्रमणले अफ्रिकी महादेशलाई समेटेको छ।

प्रकाशित : पुस १७, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?