जम्मू-कश्मीरमा पूर्वमुख्यमन्त्रीसहित शीर्ष नेताहरू नजरबन्दमा

काठमाडौँ — जम्मू-कश्मीरका विभिन्न दलका शीर्ष नेताहरूलाई नयाँ वर्षकै दिन 'नजरबन्द'मा राखिएको छ । नेसनल कन्फरेन्सका नेता तथा पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू-कश्मीरमा पूर्वमुख्यमन्त्रीसहित शीर्ष नेताहरू नजरबन्दमा

जम्मू-कश्मीरका राजनीतिक दलको समूह 'गुपकर गठबन्धन' ले शनिबार केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेका थिए । विरोध प्रदर्शन सुरु हुनुअघि नै नेताहरूको घरमा ताला लगाइएको बताइएको छ । त्यस्तै शीर्ष नेताहरूको घरअगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले घरको गेटमा रहेको प्रहरीको गाडीको तस्बिर पोस्ट गर्दै लेखेका छन्, 'सुप्रभात, सन् २०२२ मा तपाईंलाई स्वागत छ । एउटा नयाँ वर्ष, उही पुरानो जम्मू-कश्मीर प्रहरीसँग जसले अवैध रूपमा मानिसहरूलाई घरमै थुनिरहेको छ। अर्को एक प्रशासन जो सामान्य लोकतान्त्रिक गतिविधिबाट यति डराएको छ कि शान्तिपूर्ण प्रदर्शनमा समेत रोक लगाएको छ । प्रदर्शन रोक्नका लागि जम्मू-कश्मीर प्रहरीको ठूला ट्रक ढोकामा राखिएका छन् । केही चिज कहिल्यै बदलिँदैनन् ।'

त्यस्तै अर्को ट्विटमा उनले प्रहरीले आफ्ना बुवा फारुक अब्दुल्ला र बहिनीको घर जोड्ने भित्री ढोका पनि बन्द गरिदिएको बताएका छन् ।

त्यस्तै पीडीपीकी नेता महबूबा मुफ्तीले पनि ट्विट गर्दै सरकार डराएर आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा रोक लगाएको बताएकी छिन् । उनले शान्तिपूर्ण प्रदर्शन आयोजना गर्न खोजेकै कारण आफूहरूलाई १५औं पटक नजरबन्दमा राखिएको बताएकी छिन् ।

जम्मू-कश्मीरका राजनीतिक दल शनिबार केन्द्र सरकारबाट थप गरिएको ७ विधानसभा क्षेत्रको 'अस्वीकार्य विभाजन' को विरोधमा प्रदर्शन गर्ने तयारीमा थिए । सन् २०२० फेब्रुअरी १७ मा केन्द्र सरकारले जम्मू-कश्मीरमा विधानसभा क्षेत्र बढाउने प्रक्रिया सुरु गरेको थियो । सरकारले १०७ बाट बढाएर ११४ सिट पुर्‍याएको छ ।

जसमध्ये २४ सिट पाकिस्तान प्रशासित कश्मीरका लागि आरक्षित छन् । जम्मूमा ६ सिट बढेर ४३ भएको छ भने १ सिट बढाइएको कश्मीरमा ४७ पुगेको छ । जनसंख्याको अनुपातमा सिट नबढाइएको भन्दै क्षेत्रीय दलहरूको असन्तुष्टि बढेको हो ।

प्रकाशित : पुस १७, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?