संक्रमण बढेपछि युरोपमा कडाइ

फ्रान्स, जर्मनी, इटाली, ग्रिस, डेनमार्क, माल्टा, आइसल्यान्ड, फिनल्यान्डलगायत देशले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी सार्वजनिक स्थानहरुमा प्रतिबन्ध लगाएका छन् 
ददि सापकोटा

पेरिस — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितको संख्यामा व्यापक वृद्धि भएपछि अधिकांश युरोपेली देशले स्वास्थ्य नियम कडा पारेका छन् । फ्रान्स, जर्मनी, इटाली, ग्रिस, डेनमार्क, माल्टालगायत देशले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी सार्वजनिक स्थानहरूमा प्रतिबन्ध लगाएका हुन् । 

संक्रमण बढेपछि युरोपमा कडाइ

फ्रान्समा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी अर्थात् १ लाख ८० हजार जनामा संक्रमण पुष्टि भएको छ । युरोपका अन्य देशहरू जर्मनी, इटाली, ग्रीस, डेनमार्क, माल्टा, आइसल्यान्ड, फिनल्यान्डलगायतले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् । ती देशहरूले अंग्रेजी नयाँ वर्षमा हुने उत्सवहरू रद्द गर्नुका साथै सार्वजनिक स्थानहरूमा प्रतिबन्ध जारी गरेका छन् ।

पछिल्लो समय र इटाली, ग्रीस, पोर्चुगल र इंगल्यान्डमा हालसम्मकै उच्च संक्रमण पुष्टि भएका जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोपमा बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउन सक्ने चेतावनी दिएको छ ।

विभिन्न अध्ययनहरूमा यसअघिको डेल्टा भेरिएन्टभन्दा ओमिक्रोन कमजोर रहेको देखाएका छन् । ओमिक्रानेका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने वैज्ञानिकहरूको दाबी छ । फ्रान्सका स्वास्थ्यमन्त्रीले सोमबार ओमिक्रोन संक्रमणबारे बोल्दै जनवरी सुरुदेखि दैनिक अढाई लाख संक्रमण देखिन सक्ने बताएका थिए ।

फ्रान्सेली प्रधानमन्त्री जँ कास्टेक्सले बढ्दो संक्रमण नियन्त्रण गर्न कर्मचारीहरूलाई सातामा कम्तीमा ३ दिन घरबाट काम लगाउन आदेश दिएका छन् । संक्रमण तीव्र बन्दै गएपछि स्वास्थ्य सेवा विभागले वयस्कहरूलाई प्रारम्भिक खोप लगाएको तीन महिनापछि बुस्टर खोप लगाउन सिफारिस गरेको छ ।

जर्मनीमा संक्रमितको संख्या एकै दिन ४५ प्रतिशतले बढेको भने ओमिक्रोन भेरियन्टका कारण ४ जनाको मृत्यु भएको डीडब्लू न्युजले उल्लेख गरेको छ । जर्मन स्वास्थ्य अधिकारीहरूले मंगलबार जर्मनीमा ३ हजार २ सय १८ जना ओमिक्रोन संक्रमित फेला परेका जनाएका छन् । जर्मनीले यसअघि नै नाइट क्लबहरू बन्द गरिसकेको छ । जर्मन स्वास्थ्यमन्त्री कार्ल लोटरबाखले अंग्रेजी नयाँ वर्षसँगै संक्रमितको संख्या व्यापक बढ्ने चेतावनी दिएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा गरिने आतसबाजी र ठूला जमघटका कार्यक्रममाथि रोक लगाइएको छ ।

इटालीले सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य बनाउनेलगायत प्रतिबन्धहरू कडा गर्ने योजना बनाएको छ । रात्रिकालीन क्लब तथा डिस्कोहरू जनवरी ३१ सम्म बन्द रहने जनाइएको छ । ग्रसले क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्या आयोजना गरिने परम्परागत उत्सवमा प्रतिबन्ध लगाएको छ । खुला स्थानहरूमा मास्क लगाउन अनिवार्य गराएको छ ।

त्यस्तै, डेनमार्कले आफ्नो देशमा प्रवेश गर्ने विदेशीहरूले खोप लगाए पनि त्यसलाई बेवास्ता गर्दै डिसेम्बर २७ देखि कोभिड परीक्षण नेगेटिभ भएको प्रमाण प्रस्तुत गर्नुपर्ने जनाएको छ । माल्टाले डिसेम्बर २७ देखि विवाह र अन्त्येष्टिमा बाहेक भेला हुन रोक लगाएको छ । स्विडेनले मंगलबारदेखि आफ्नो देश प्रवेश गर्नका लागि खोप लगाएको र कोभिड परीक्षण नतिजा नेगेटिभ रहेको रिपोर्ट देखाउनुपर्ने जनाएको छ ।

संक्रमण तीव्र बन्दै गएपछि आइसल्यान्ड र फिनल्यान्डमा पनि सार्वजनिक स्थानहरूमा हुने मानिसहरूको जमघटमाथि कडाइ गरिएको छ । डिसेम्बर मध्यसम्म संक्रमितको संख्या शून्य रहेको आइसल्यान्डमा पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । फिनल्यान्डले खोप नलगाएका विदेशी यात्रुहरूलाई देशभित्र प्रवेश गर्न रोक लगाएको छ । नेदरल्यान्ड्सले भने क्रिसमस तथा नयाँ वर्षको समयमा संक्रमण थप फैलन सक्ने भन्दै लकडाउन जारी गरिसकेको छ । अत्यावश्यकबाहेक पसलहरू, मदिरालय, जिमखाना, सैलुनलगायत सार्वजनिक स्थानहरू जनवरी मध्यसम्मका लागि बन्द गरिएको हो ।

बेल्जियममा पनि प्रधानमन्त्री अलेक्जेन्डर डे क्रोले नाइट क्लब, सांस्कृतिक कार्यक्रम रमनोरञ्जन स्थलहरू बन्दको घोषणा गरेका छन् । तर अदालतले उनको निर्णय उल्टाइदिएर थप प्रतिबन्ध लगाउने क्रोको योजना विफल पारिदिएको युरो न्युजले उल्लेख गरेको छ ।

प्रकाशित : पुस १५, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?